सोमराज ‘अभय’बक–वेदान्त
ध्यानी, मौनी बनी बस्नु– कसको के ठगू भनी
पोखरी तटमा माछा ढुक्ने बकसरी बनी,
बकवेदान्तमा व्यक्तिस्वार्थ नै मूलमन्त्र हो
स्वार्थका निम्तिमा मर्ने ‘बहादुर’ मनुष्य हो !
इतिहासज्ञ जान्दैन नेपाल बन्यो ?
तर जान्दछ इंग्लैन्ड देश त्यो कसरी बन्यो !
सीता, राजेश्वरी, चारुमती र भृकुटीहरू
छोरी नेपालका हुन् र ? शङ्का पो गर्दछन् बरू ।
सल्लाह लिनु सालाको, भात खानु भिनाजुको
दिदीको चैँ गिदी खानु, अंश नै खानु वंशको !
जाँड खाने जँड्याहाको गँडाहा मीत उत्तम
राम वा रममा केही भेद छैन भनी गम !
विश्वास गर्नु वेश्याको, अर्ती नै लिनु घर्तीको
मुसो जस्तो छुचो बन्नू अन्न खाई किसानको !
ठूलासँग बनी भोटे कुत्ता भुक्नु र झसम्टनु
बासीभात दिए टाङमुनि पुच्छर लाउनु ।
सबैभन्दा धनी बन्नू, धन नै हो महान् गुण
धनभन्दा ठूलो छैन, देवता पनि विश्वमा !
पापी भन्ने दरिद्री हुन्, नगर्नु तिनका कुरा !
सेवा, धनी मानिसको उँभो लाउँछ गर्नु र !
कालो बजारीमा मिल्नू, दरभाउ घटाउनू,
विजयादशमी आयो मौका छोपी धनी हुनु !
नभई नहुने चीज महँगो पारी बेचनु
जस्रा एक किलो किन्नेसँग नौ सय नै लिनु ।
सस्तो बजार खोलेर नाफा धेरै कमाउनु
दुनियाँभरमा गर्नु प्रचार अनि गम्कनु
युवा र युवती हिंड्नू जोल्ठिएर बजारमा
उसले उसको खानू जूठो। चुम्बन प्यारमा !
कालो गगल्स लाएर डुल्नु मार्केट रातमा
बकवेदान्तमा यस्तै लेखेको छ सनातन !
विराटनगर
Subscribe
Login
0 Comments
Oldest







































