साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सती जाने पति

Nepal Telecom ad

श्रीमती सती गएको कुरा जगजाहेरै छ तथापि पति सती जादाको दुर्गती अनौठै मान्नु पर्छ । झट्ट हेर्दा पति सती नगए पनि आन्तरिक व्यवहारमा पति सती गइसके । पति नै सती जाने जमानाको प्रादुर्भाव आधुनिक कालबाट भएको देखिन्छ । मरेकै मान्छेको चितामा गएर ज्वालाले जलेर खरानी हुने हरामी पाखण्डी सती प्रथा भने आमूल उन्मूलन भयो । प्रजातन्त्रपश्चात् श्रीमती भएका सभापति, लखपति, करोडपति, अरबपति होस् या खरबपति, भए जति सबै सती गएको देखेर प्रायः उदासमात्र हैन निराश र न्यास्रा देखिन्छन् । वास्तवमा मान्छे सती किन जान्छन् त भनेर विचार गर्दा आफ्नो स्वार्थसिद्व गर्न जाँदा रहेछन् । आफ्नो स्वार्थ सिद्ध हुन्छ भने नैतिकतालाई तिलाञ्जली दिनै पर्ने रहेछ भन्ने कुरा सती जाने पतिबाट छर्लङ्ग भएको छ ।

उहिल्यै पति मरेपछि श्रीमती डाँडाको घाम, जून होस् या जवानीले आक्रान्त, कंगाल हुन् या खुनखार खानदानकी किन नहोस् मृत पतिका साथ सहज रूपले सती जान्थे । कस्तो राम्रो चलन ‘सँगै मर्ने सँगै बाँच्ने’ भनेको त त्यस्तो पो । आजभोलि सँगै बाँच्ने कसम खान्छन् र झुक्याएर एउटा मर्छन् बाँच्नेले खुच्चिङ गर्छन् । यस्तो स्वार्थ ग्रस्त जिन्दगी जिउँदा मात्र हैन, पिउँदा–सिउँदा जीवितै भए पनि बाँच्न कसलाई मन लाग्छ र ? तै पनि हाम्रो समाजमा लाज गालले पनि कतिपय तन्दुरुस्तीकासाथ बाँची राखेका छन् । गरीब राष्ट्रमा बाँच्ने रहर हैन, बाध्यता रहेछ जुन श्रीमती र सती जाने पतिले भोगिरहेछन्, चाहे त्यो राजनीतिको कारण होस् वा खाद्यनीतिको ।

यो संसारै श्रीमती र साथमा सती जाने पतिकोे रहेछ । यिनको जिन्दगीभरिको पौरख भनेको आफ्नो युगलपन र छोराछोरी हुन् । जुन उमेर अवस्थाले साथ दिएको खण्डमा दिन दहाडै बावुआमालाई छोडेर हिँड्छन्, घुक्र्याउछन् । जसको विकसित रूप नै श्रीमती र पति । ऊ वेलामा श्रीमती खसोखास व्यवहारका हुनाले जसको पति खस्छ, उसकै श्रीमती चितामा बस्छ भन्थे तर आज जमाना कलविष तीतोमात्र किन बिब्ल्याँटै छ । घुम्दो पृथ्वीमा सती जाने श्रीमतीलाई पतिको कुन चुरीफुरी रुचेन कुन्नि सती जानै छोडिदिए । अर्थात् कानूनले लपेटिएको बाहनामा छोराछोरी हुर्काउँदै वा दोस्रो दाम्पत्यको जगेर्नार्थ कल्कलाउँदो वयलाई बहलाउँदै, साख्खै सदुवा कहलाउँदै जीवन धान्न ख्याल मजा त आउँदैन । यसरी जीवन बाँच्न र देहलाई साँच्न सबैलाई सिकाउनु पर्छ । यसो गर्नाले सत्मार्ग समाउन सजिलो पर्छ अन्यथा स्वर्गको निकासामा प्रश्न चिन्ह लाग्छ ।

जमाना अति आधुनिकताले आक्रान्त छ । मरेका पति वा पत्नीमाथि छाँद हालेर डाँको छोडेर रुने फुर्सद कसैलाई छैन । कति काम बितिराखेको हुन्छ कसरी रुने ? रुँदै हिँड्न सुहाउँदैन रोए पछि बसेरै रुनु प¥यो । त्यसै देखावटी रुन्चे अनुहार लाउँछन् । आँसु झरिहाल्यो भने पनि पुछपाछ पार्छन् र पुनः नयाँ संसारको संरचनामा लीन हुन्छन् । यस कम्प्युटरको जमानामा मानव व्यवहार पो किन ढिलो हुन्थ्यो र ? सबै चलाख सबै बाठा भएपछि आइमाईबाट आफ्नै पतिलाई टेरीपुच्छर लाउन आनेकाने गरेको लखकाटी पति परमेश्वरले नै श्रीमतीसँग सगौरव सती जाने अठोट गरेको बुझिन्छ । यसरी जल्दीबल्दी श्रीमतीका साथ पति नै सती गएपछि बिग्रिएका व्यवहारहरू सुध्रिदै जाँदोरहेछ क्यार ! अधिकांश पतिहरू श्रीमतीसँग सती जान निकै उत्सुक, आतुर र आवश्यक ठान्छन् ।

अर्धाङ्गिनीसँग सती जाँदै जान्न भन्ने पतिको एकरति विश्वास गर्नुहुँदैन । जसरी राजनेताहरू आफ्ना सल्लाहकारसँग हुबहु सती जान्छन् । त्यसै गरी पतिपरायण सल्लाहाकार श्रीमतीसँग सती जानु सहज र सजिलो हँुदैन तथापि भन्न सकिन्छ
दाँत हाँसे पनि आँत नहाँस्दा कसरी बाँच्ने
दोखुट्टा एक लघु एक दीर्घ कसरी नाच्ने ?
सके मिल्नु मिलेरै चिल्नु
सके बाँड्नु मिलेरै निल्नु

हृदयले चुमेको, एकापसमा झुमेको, सँगै सधैँ घुमेको दम्पती चुलामा आवश्यक दम दिन नसक्दा अकालमा अप्रत्यासित सेरिनु परेका घटना र डोरीमा बेरिनु परेका दुःखद क्षणहरू सती जाने पतिले हम्मेसी भुल्नु हँुदैन । किनकि यस्ता क्रीडाले सती जाने उत्कट इच्छामा बिर्को लाग्न सक्छ । नलाग्न सक्छ । नलाग्नु बिर्को लागिसकेपछि खोल्न वा एकअर्कामा बोल्न बोर मात्र हैन अनौठो र अघोर आपत्तिको रूपमा लिइन्छ । जसलाई हर्दम मनन गर्नसके साढे सातका सङ्कटाहरू आँसु बनेर झर्न र टर्न सक्छन् ।

जमाना फाइदा र बेफाइदाको चक्रब्यूहमा जकडिएको अवस्थामा सती जाने पति के कति सङ्कल्प लिएर अघि बढेका हुन्छन् जान्नु आवश्यक हुन्छ । राजनेताहरू कुर्सी नभए मुडा (बाँसको कप्टेराबाट बनाएको बस्ने चीज) हत्याउने दृढ विश्वासका साथ जनतासँगै सोझै सती जान्छन् । सती जानु नराम्रो हैन, तर सुहाउनुचाहिं अवश्य पर्छ । मन्त्री, प्रधानमन्त्रीहरू आफ्नो पद अटल, असल, अचल र अम्मर राख्न सल्लाहकारको सुसेलीमा नाच्छन् । यिनले जा भने जाने, आ भने आउने,खा भने खाने, ला भने लाउने, हा भने हाल्ने, झि भने झिक्ने अटुट आदत भएर नै सती जान उद्दत हुन्छन् । वास्तवमा फाइदा पनि अगणित हुन्छ । जो माथि हुन्छ त्यो फाइदामा फसेको हुन्छ भने जो तल हुन्छ उसलाई घाटाले डसेको हुन्छ । जुन नेपाली जनता जस्ता अबोध, अकर्मन्य र अभिशप्त जीवन जिउन बाध्य हुन्छन् ।

मानव भाले होस् या पोथी दुवै वा सबै फाइदा होला जस्तो भयो भने पोथी करकराउने र पोथीलाई फाइदा होला जस्तो भयो भने भालेले भुतभुते खेल्नु अनौठो मानिँदैन । यो तस्करले चलाएको संस्कार हो । संस्कार सबैको हुन्छ, कुरा राम्रो र नराम्रोको मात्रै । भूगोल रणभूमिमय छ । यस रणभूमिमा सहिद हुन सबै रुचाउँछन् तर निर्दो, सोजो, निरिह, निसाफ नजान्ने, अर्थाभावले आजित, असक्ततालाई सहिद हुन गाह्रो छ । सहिदको सीमामा पार्टीको दाहिने हात र नेताको नजिककालाई मात्रै चयन गरिएको पाइन्छ । बलीको बोको बनाउन सुहाउने नै सरल स्वभाव भएकालाई हो । जे होस् सती जानु विलासिता होइन बाध्यता हो रहर होइन कहर हो । बाध्यताले विलासिताको जंजिर छिनाइ दिन्छ । त्यसैको परिधिमा नाचेको छ नेपालको सार्वजनिक सुरक्षा नियमावली ।

संसारमा श्रीमती जस्तो बाठो पति हुने भए ‘नारीले चाहे एक दिन, पुरुषले चाहे वर्षदिन’ भन्ने उखानको जन्म हुन्थेन होला । पुरुषार्थले भरपुर सती जाने पति नारीको रूप शृङ्गार र नाडीमा काँचका कन्चन चुरा छम् छम् बज्न थालेपछि जीवै छोडेर सती जान खोज्छन् । कोही पति श्रीमती नयाँ छँदा सती जान्छन् भने कोही पति जीवनको उत्तरार्धमा सती जाने गर्छन् । ढिलो चाँडो एकचोटि सती जान रुचाउने पतिको ओखतीचाहिं तिनै श्रीमती हुन् भन्ने कुरामा दुई मत छैन । कारण कालान्तरमा श्रीमतीले सती जाने पतिलाई कुखुरे व्यायाम, कर्णकसरत, (कान समातेर…) लगायत पारिवारिक जुवामा नारिँदै, एकार्कामा टाढिँदै, खसी पारिँदै, झाँको झारिँदै, फाँको मारिँदै, नानी, बावुहरूको दानापानी, थाङ्नो÷भोगटा, टाल्दा टाल्दै मुखमा बुजो हाल्दा हाल्दै सती उर्फ दम्पतीको आरोह अवरोहका दुर्गम बगरहरू छिचोली नसक्नु खण्डहर हुन्छ । तैपनि अजर अमर हँु झै पति परायण पत्नी रिङ्कल रौंरहित गालाको छालाखातिर आमरणअन्सन बस्ने पतिको पत्यार लाग्ने पहल तथा श्रीमतीका साथ सती जाने अटुट आस्था अनि अथक उत्साह देख्दा लाग्छ पतिका लागि श्रीमती खुट्टे हान्ने पनि साँच्चै सुवानी नै हुँदा रहेछन् । के गर्नु ज्यान सबैंको प्यारै हँुदोरहेछ त्यसमाथि पनि नेपालको परिवेशमा प्रजातान्त्रिक परिपाटीको कारण ज्यान जोगाउनु नै ठूलो कुरा नभएको कहाँ हो र ?

सती जाने पतिले भएभरका मध्ये कटक्क मन खाएर टपक्क टिपेर भित्र्याएकी श्रीमतीको सुसार जर्सी गाईलाई झै गर्नुपर्छ । शुभ शाममा मसाज मालिस गोडा, हात र कपालमा रंगिन पालिस, बत्ती गए गर्मी भए हम्किने, रिसले चुर भए पनि नबम्किने, भक्त वत्सल भएपछि नित्य अनुष्ठानबाट नै सती जान सजिलो पर्छ । अन्यथा काँ पतिलाई सती जान दिने नि ! छिः ! छिः !! दुर दुरमै दिन बित्छ । छि ! छि !! दुर दुरमै कालले कोलमा हालिसक्छ ।

सती जाने पति ब्रह्मचारी वा कर्मचारी वा कंगाल र श्रीमतीचाहिं दौलतमा टंगाल बौदिकतामा उँचो भएपछि पतिले कुचो लिएर बडार कुँडार नगरे श्रीमतीको छुचो रूपले गाँज्न वा नोकर सरह दाँज्न सक्छ । बिहान आँखा उघ्रिएपछि बेलुका ननिदाएसम्म पतिको आङ वा टाङमा पसिना नदेख्ने हो भने श्रीमतीको देह भत्भती पोल्छ । यसरी पोलेको लक्षण देखिन थाले पछि सती जाने पति घाँडो भएको बुझ्नुपर्छ । घाँडो जिन्दगी जिउनुभन्दा दाम्पत्यको भोगाइमा फाटेको मन टाल्नु सिउनु नै उत्तम होला कि कसो ?

फूलबारी, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x