शेषराज भट्टराईनिर्देशनालयलाई निर्देशन
हरेक क्षेत्रहरू आफूभन्दा श्रेष्ठ, जेष्ठ निकायबाट निर्देशित हुन्छन् । अर्थात् बुद्धि विवेकले भरपूर, ओतप्रोत र टिपिटल्ल भएकाहरूले निम्सरो, जडौरी, विवेकधारी मानवलाई सही पथमा लर्काउन, वा फर्काउन यसो गर, त्यसो गर, भनेर निर्देशन दिने क्रिया वा निकायलाई निर्देशनालय भन्ने चलन शेषुको पालाको होइन यशुकै पालाको हो । यसो गर, त्यसो गर भन्ने विवेकीले यसो नगर त्यसो नगर पनि भन्ने गर्छन् भन्ने कुरा विवेकी वर्गले बिर्सनु हुँदैन । यस उप बुज्रुकले के मन्थन, गन्थन गरेर हामी जस्ता महानिर्देशकलाई के निर्देशन दिन लाग्यो, गोरु छोडेर बोकाले दाइँ गर्न लाग्यो, वाहीयात ‘माझीलाई माछाको चटनी’ भन्नु होला । कुरा स्वभाविकै पनि हो । म जस्ता कोठे साहित्यकारले ओठे निर्देशन दिँदैमा कसले टेर्ने, कसले हेर्ने, तै पनि विचार गर्नुहोस् अर्ति भनेको तीतो हुन्छ फेरि जसको पनि सुन्नै पर्ने मान्नै पर्ने । यसै हैसियतले निर्देशनालयलाई निर्देशन दिने लघु प्रयास निरर्थक नहोला पनि ।
नेपाल कृषि निर्देशनालयले कृषकलाई निर्देशन दिँदै भन्छ “समय अनुसारको, गच्छे अनुसारको, वा लक्ष्य अनुसारको खेती गर्नु, पेट भर्नु, उब्रिए बेच्नु, नउम्रिए हामीलाई भेट्नु, राम्ररी खेती गर्नु तर हामीलाई आँखा नतर्नु, नत्र हुन्छ मर्नु, हामीले अरू के गर्नु ? डल्ला फोर्न, ढुङ्गा फ्याँक्न, बालीनाली खाने किरा फट्याङ्ग्रा, गाई वस्तु, भेडा बाख्रा मार्न के निर्देशन दिनु पर्छ र ! मान्छेले मान्छे मार्न निर्देशन पर्खिन छोडिसकेको यस स्थितिमा निर्देशन पावरलेस भएर निर्देशनले कामै गर्न छोडिसक्यो । नभए उब्जनीमा विषादी छर्दै भै हाल्यो । तै पनि सोझा कृषकहरू “जसो जसो पुरेत बाजे उसै उसै स्वाहा” गर्दै, बिऊ छर्दै पेट भर्दै गर्छन् । कृषक पनि महाखुर्ची छन् । मल, बिउ, घाम, पानी केहीलाई पनि जस दिँदैनन् । निर्देशक त झन् नजिकको तीर्थ हेला हुने नै भयो । फेरि समय पनि हाकिमभन्दा पिउन ठूलो हुनेछ । कानो विउ पर्यो उम्रिएन भने पनि कृषक मारमा कृषि निर्देशक धारमा हुन्छ । जता पायक पर्छ, कमिसनको खोलो बग्छ त्यतै गएर न्वाई, ध्वाई, अचाइ, पचाइ गर्छन् । गैर कृषक दाइँ गरेको हेरेको हेरेकै । सरकार देको देकै खानेले खाको खाकै लानेले लगेको लगेकै । निर्देशक ठूलो मान्छे कुर्सी छोडेर हेर्न, निरीक्षण गर्न मिल्दैन । “तैं रानी मै रानी कस्ले भर्ने कुवाको पानी” हेर त जानी जानी दुनियाँलाई हैरानी । कस्तो नराम्रो बानी । विषादी छरेको खुराक खाने कि नखाने ?
शिक्षा निर्देशनालय जस्ले ज्ञानका विषयमा ध्यान दिन्छ । के पढ्ने, कसरी पढ्ने, के गरी पढाउने, विद्यार्थी वर्गलाई पढाइ पढाई छुरा बनाउने कुरामा रातो दिन घोत्ली राख्नु आफ्नो भविष्य र हविष्य उज्ज्वल देख्छ । शिक्षा निर्देशनालयले नागरिकलाई ज्ञानी, ध्यानी बनाउन अहोरात्र खट्ने र डट्ने निकायले हरबखत राम्रै, गतिलै काम गर्ला भन्ने विश्वास सबैमा परिराखेकै छ । एस.एल.सी. को रिजल्ट भरखरै भयो । सयमा चालिस जतिले पास गरेर निर्देशकको नाक राखिदिएछन् । सरकारी विद्यालयमा चार कक्षाबाट अङ्ग्रेजी पढाउँछन् । विद्यार्थी सडाउँछन् । शिक्षकले के पढाउँछन् “सरकारी काम कहिले जाला घाम” । महिना मरेपछि खान पाइहालिन्छ माम । कहिले बन्द कहिले जाम हरे राम ! तै पनि के गरेर पास गरे त्यत्रो विधि विद्यार्थीले ।
अङ्ग्रेजी नपढे पनि हुन्छ जस्तो गरेर चार कक्षादेखि एबिसिडि पढ्ने अनुमति दिएको शिक्षा निर्देशनालयले पाँच कक्षामा द क्लेभर गट, लुक एट दिस पिक्चर जस्ता अङ्ग्रेजी एस्सेहरू घोक्ता घोक्तै बेस्सेहरू तिर लहसिने उमेर भैसकेको हुन्छ । आफू यसैका मारमा परेर दोधारमा बाँची रहेको छु । अति गर्नु अत्याचार नगर्नु, अन्याय र अत्याचारले सीमा नाघेर जादुको तालमा भाषा सिक्ने युवाबाट निर्देशकले के आशा राख्ने । हाउ आर यू को जवाफ फर्काउन नजान्दै नि.मा.वि. अर्थात् सात कक्षालाई लात मारेर आठको पाठ घोक्न थालियो । चोरी चाकरी नगरी चतुर्याई हुन्न दङ्गा फसाद नगरे इज्जतै रहन्न भन्ने भैरव अर्यालको मन्त्रले पनि सधैँ साथ नदिँदो रहेछ । स्नातक भन्दा माथि जाने सोचाइ थियो तर अङ्ग्रेजीबाट मात्र प्रश्न सोधेर शिक्षा निर्देशकले धोका दियो । सरकारी कलेज प्राध्यापक, प्रोफेसर, सरहरूले अङ्ग्रेजीमा पढाउन नजान्ने लौ त ठिकै भयो भनेर आफूले पनि भरमार नेपालीमै पढियो, आज अङ्ग्रेजीकै कारण लडियो । त्यसबेला अङ्ग्रेजी पाठशाला पातला भए पनि पढ्ने क्षमता र दौलतले ठगिएको हुनाले उच्च शिक्षाको गाइ खाने विधाले मलाई वित्याँसै पार्यो । ठहरै मार्यो । अङ्ग्रेजी नजान्नाले अरू सबै विषय जानेको नजानेकै भए । म अर्ध शिक्षित अधकल्चो भएर बाँच्न, नाच्न विवश छु । त्यसैले मेरा लागि मात्र भए पनि अल्झो विषय नराखी खुल्ला विश्व विद्यालय जन्माउनु पर्यो । निःशुल्कीय सःशुल्कीय वा पूर्ण शुल्कीय जे जस्तो भए पनि उपकार हुन्छ भने पहिलो विद्यार्थी म र दोस्रोमा मेरी श्रीमती हुनेछिन् । त्यसपछि म जस्ता अधकल्चा र कटमेराको पनि पाक्ने परिपक्को हुने शुभ दिनको सुरुआत अवश्य हुनेछ ।
समय आधुनिक छ । जस्तै अनपढले पनि टेन्सन र पेन्सनका गफ गर्छन् । मोबाइल फोन बोक्ने, एसएमएस, मेल, इमेल, म्यासेज, फेसबुक, च्याट गर्ने, ल्यापटप, ट्याब्लेट, आदि के–के हो के–के आधुनिक बुद्धि र साधन स्रोतले सम्पन्न विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि पनि अब निर्देशकले भद्रा हेरेर बस्नु हुँदैन । प्रश्न उत्तरमा अदल बदल गर्नुपर्छ । आधुनिक प्रश्न यस्तो होस् फेसबुक खोल्ने र बोल्ने तरिकाको बारेमा सकेको वर्णन गर । अथवा आफू गुरु बनेर गुरुआमा, तरुनी वा ज्ञात अज्ञात कस्ता कस्तालाई एसएमएस गर्ने वा म्यासेज पठाउने खुलेर लेख भनेर प्रश्न सोध्नुपर्छ । अबको प्राविधिक व्यवहारिक शिक्षाको भरपर्दाे र अनुकरणीय अङ्गको काम यसले पनि गर्न सक्छ ।
यातायात निर्देशनालय जसले उड्ने, गड्ने, तौरतरिकाबारे नीति नियमका साथै निर्देशन दिन्छ । विभिन्न थरिका बाहनहरू चलाउने खुबीको मापन गर्दै लाइसेन्स नामक चालक अनुमतिपत्रले विभूषित गर्ने गर्छ । मानव स्वभाव अनुसार हरेक क्षेत्रमा अति सिपालु, राम्रो सिपालु, मध्यम सिपालु र कामचलाउ सिपालु मान्छेहरू हुन्छन् । प्रत्येक मानवको खुबी अनुसारको लाइसेन्स निर्देशनालयले दिन मिल्छ तर दिँदैनन् । यहाँनेर दालमा कालो छ । कुरा के भने सक्नेले लिने, नसक्नेले आवश्यक खर्चको जोहो गर्ने अनि अर्काे प्वालबाट लाइसेन्स लिने दुई जिब्रे परिपाटीले भ्रष्टाचारीको तथ्याङ्क नै गोलमाल छ । अनि हामीले बुझ्नै पर्ने हुन्छ । जहाँ गोलमाल छ त्यहाँ मालामाल छ ।
वैदेशिक निर्देशनालय अन्तर्गतका म्यान पावर एजेन्सीहरूको तालमा पनि दालमा कालै देखिन्छ । हरेक क्षेत्र र तत्क्षेत्रका निर्देशनालयहरू प्रष्ट भन्दा पनि अष्ट नीतिले अपाहिज भएका छन् । नानाभाँतिका निर्देशनालयले सूक्ष्म रूपमा तल्लो तहसम्म अन्वेषण नगर्दाको फाइदा प्राविधिक पक्ष वा सम्बन्धित निकायले लिइ राखेका हुन्छन् । प्रत्येक चालकलाई गाडी लगेर खाल्डामा हाल्नु भनिदैन तर जे हो त्यो रुख अनुसारको छायाँ देखिहालिन्छ । कालको मुखमा हाल भनिँदैन तर हुनु हुनामी टर्दैन । खस्न, फस्न, डस्न, चुस्न, लुट्न, थुत्न, धुत्न निर्देशकको विवेकको आवश्यकता नै पर्दैन । हरेक निकाय निर्देशक विहिन लाग्छ । मुन्नी वद्नाम हुई तेरे लिए । अमानुसहरू एकले अर्काको मुखमण्डलमा हिलो छ्याप्न उद्यत हुन्छन् । मानवतालाई तिलाञ्जली दिन्छन् र फर्जी बाहनामा निम्सरा वर्गको आर्थिक मामलामा ताण्डव नृत्य प्रस्तुत गर्दै राष्ट्र सेवक, कर्तव्यनिष्ठ कर्मचारीको उच्चासनमा आसिन हुन लालायित हुन्छन् । रहर गर्छन्, रयाल काढ्छन् । निर्देशनालयले आफू मातहतका स्रव्य, दृश्य अवलोकन गर्छन् सब ठिकठाक मान्छन् । बहादुरको आन्द्राको दाँत कस्ले देख्छ । यस स्थितिमा निर्देशनालय, निर्देशक र त्यस मातहतका जगत हिताय कृष्णाय निर्देशनालय नमो नमः । दुधको साक्षी बिरालो बाहेक अरू के अपेक्षा गर्ने ?
फूलबारी– ११, पोखरा
Subscribe
Login
0 Comments
Oldest








































