युवराज मैनालीहात्तीपाइले औषधि
मर्यो रे औषधि खाएर मान्छे ।
धत् विष खाए पो मरिन्छ । औषधि खाएर मान्छे त बाँच्ने पो हो बजिया ।
लौ कस्तो नपत्याउनुभएको हो ? यी यहाँ छाप्या छ । हात्तीपाइले औषधि खाएर फलाना ढिस्काना ठाउँका मान्छे मरेको छ । प्राप्त समाचार अनुसार हात्ती पाइले चक्की खाएको केही घण्टामै फलानाको मृत्यु भएको छ । यसबारे मन्त्रालयको ध्यान आकृष्ट गर्दा सत्यतथ्य के हो ? फेला पार्न सरकारले आयोग गठन गरेको छ ।
हेरुँ, हेरुँ, ए ! हो पो रहेछ । ए ! कान्छा यता पनि हेर त, स्वास्थ्यकार्यकर्ताले देखाउनका लागि आफै औषधि खाएर देखाउँदा आफै सिकिस्त … क्या । काकतालीको कुरा पो प¥यो ए कान्छा । औषधिमै बिस मिलाएर पठायो कि क्या हो गाँठे ।
यो हल्लैहल्लाको देशमा एउटा हल्ला यो पनि कतिले खाए पचाए, कतिले पचाउन नसकेर कालको मुखमा परेर देखाए । जेसुकै कुरो जुनसुकै चुरो भनेको फाप्ने नफाप्ने हुँदो रहेछ । यसैलाई काकताली मान्नुपर्दछ । मान्छेहरू यो बलियो, त्यो बलियो भनेर बखान गर्छन् तर हेर, काकताली भन्ने कस्तो बलियो रहेछ । जब काकतालीको कर्ताल बज्छ, बढेसे बढे दमाहा पनि फिका बन्न पुग्दछ । यसले पायो भने मुटु नै फुटाल्ने मात्र होइन, चकनाचुरै पारिदिन्छ । कस्तो यो काकतालीको दर्बिलोपना । कुन देउताको बरदान पाएर यतिको बलबान मात्र होइन, सूक्ष्म रुप धारण गर्ने क्षमता आयो यसमा । कुनै पनि बेला कतै पनि सुरुक्क आयो, आफ्नो गर्नुपर्ने काम गर्यो अनि उत्निखेरै उठेर हिँडिदियो । अनि त्यो खाली ठाउँमा जो जो उभिएको हुन्छ, जसको फेटा, उसैलाई बाँधिदियो । फेरि ढुकेर बस्यो, डम्म फुलेर फेटा गुथेकोलाई रुखको माथिल्लो हाँगासम्म पु¥यायो अनि झ¥यामझुरुम । त्यहाँबाट या त उठ्नै नसक्ने गरी लडेको लड्यै या त घाइते चाहिँ कर्यापकुरुप । यस्तो अवस्थामा काकताली खित्का छोडेर हाँस्दै भन्ने गर्दछे रे लडाएँ, लडाएँ मैले पछारेँ, घुमाएर उचालेँ, फेरि थचारेँ । अनि यसो भन्दै गर्दा चाहिँ उसको सौतेनी भाइ समयलाई खपिनसक्नु हुन्छ रे अनि कताबाट हो कताबाट आएर चितुवाझैँ फाल हालेर आउँदा काकतालीकै सातो सम्म जाने गर्दछ रे । त्यसमाथि कड्केर भन्छ रे, ए मोरी काली, नखरमाउली काकताली, फुटाइदिउँ तिम्रो ओठको लाली, बढे भएर गर्छ कुरा जाली, तँ त त्यो खरायो जस्तै पो छस् । गर्मीको बेला सिँयालमा उँघेर बस्दा रुखबाट एउटा फल झर्दा आकाश खस्यो भन्दै भाग्ने अनि अरु सबैलाई आफ्नो पछि दौडाउने । अब कोही फस्नेवाला छैन ।
तर पनि काकतालीको खेल उहिलेदेखि अहिलेसम्म जारी नै छ, संसारभरको कुरै ल्याउनु पर्दैन । कुरोको चुरो बुझ्नु पर्दा यहीँ नेपाल मण्डलको सेरोफेरो लगाए पुग्छ । कताबाट या त परीक्षणको निम्ति, या त म्याद गुज्रेको हात्तीपाइले औषधि यहाँ अवतरण भयो । त्यसैले मरेका हुन् यहाँका मान्छे, तीब्र ज्वरो आउँदा सिटामोल, सहरियालाई नहुने, साधारण से साधारण औषधि दूरदराजका गाउँलेका लागि रामबाणको काम गर्दछ । अझ भनौँ पहिले डिडिटी अवतरण हुँदा लामखुट्टेको प्रलय हुन्थ्यो । अहिले त्यही डिडिटी मान्छेको निम्ति प्रलय भएको छ कारण त्यसलाई पचाउन सक्ने क्षमता धारण गरिसके लामखुट्टेले ।
अब अरुथोक भनूँ, सर्वधारणलाई त लाग्ने गर्छ रोग हात्तीपाइलेको बाहिरैबाहिर तर यहाँका नेताहरूलाई उम्रने गर्दछ भित्रभित्रै । यसैले उनीहरूको पाइला आफै चल्दैन, अरुले चलाइदिनु पर्छ । यिनीहरूको मस्तिष्क खुल्दैनन्, अरुले खुलाइदिनुपर्छ । यिनीहरूको मुखले बोल्छ रिमोटबाट । रिमोट थाम्नेले जे जे बोल्न लगाउँछ, त्यैत्यै बोल्दछ अनि यावत काम उतैको इच्छाअनुसार हुन्छ । काकतालीको करामत न हो आखिर हात्तीपाइले रोगको सङ्क्रामक किटाणु प्रवेश नगराई यिनीहरूको दाबेदारी टिकटसिकट सपथवपथै हुन्न ।
यसैले नै यहाँ जेजति हुनु पर्ने थियो, नभएको कारणहरू मध्ये एक हो, संविधानसभाको नामाकरणको अर्धशतकमा संविधानसभाको व्रतबन्ध र बिहे एकैचोटि भयो तर व्रतबन्ध गर्दा भीक्षा माग्ने काम चाहिँ भयो, मन्त्र अपुरो रह्यो । मन्त्र नपुगेको बटुकको हाल बेहोर्न कसले प¥यो ? देशले, सोझा, सीधा नेपाली जनताले । यसैले अब त एकएक फाइलै हात्तीपाइले रोग निरोधक ट्याब्लेट यिनीहरूलाई नै खुवाई स्वस्थ तुल्याएमा मात्र … नत्र … अलपत्र ।
Subscribe
Login
0 Comments
Oldest








































