अनिल कोइरालाकोठा खाली छ ?
जसरी ‘केरा’ के हो ? भन्दा ‘फल’ हो भन्दिए हुन्छ, त्यसरी नै ‘डेरा’ के हो ? भन्दा ‘अस्थाई बासस्थल’ हो भन्दिए हुन्छ । मेरो परममित्र पिलन्धर भन्ने गर्छ–‘डेरा–ना तेरा, ना मेरा ।’ हुन पनि हो, डेरा कसैको स्थायी हुन सक्दैन । आज यहाँ, भोलि कहाँ हो थाहा छैन । एउटै डेरा पनि आज नीलाम्बरको हुन्छ, भोली पीताम्बरको हुन्छ, पर्सि मनमायाको हुन्छ, निकोपर्सि धनमायाको हुन्छ । एउटै डेरालाई कैयौँले भोग चलन गर्छन् । तर अचम्मको कुरो चाहिँ के प¥यो भने, अस्थाई डेरामा अस्थायी जिन्दगी बिताइरहने हामीहरुलाई जागीर भने स्थायी नै चाहिन्छ । स्थायी जागिर नपाउँदासम्म भौँतारिने व्रmममा कहिले यता, कहिले उता, कैयौँ पटक डेरा सरिरहनुपर्छ । तर डेरा सर्न भने गफ गर्न जस्तो सजिलो छैन । नेताजीले नयाँ नेपाल बनाईदिने भन्या जस्तो होइन, सरेरै देखाइदिनसक्नु पर्छ ।
डेरा सर्ने सिलसिलामा म पनि दशौँ पटक नयाँ डेरा खोज्दै थिएँ । आपूmलाई राति ढिलो आएपनि केही नभन्ने जाती घरभेटी, पानी लगातार आउने बानी परेको धारो, कानलाई समेत आनन्द हुनेजस्तो सुनसान, म जस्तोलाई सुहाउने खालको सस्तो, राम्रो र भरपर्दो त्यो पनि सेन्टरमै चाहिने । भन्या–भन्या जस्तो कहाँ पाइने ? डेरा खोज्ने व्रmममा एकदिन एउटा पुरानो–पुरानो टिनको छानो भएको सानो–सानो घरमा पुगेर घण्टी बजाइदिएँ । घण्टीको आवाज सुनेर एकजना छोरीभन्दा आमा तरुनी झ्यालमा देखापरिन् । ‘के हो भाइ ? के चाहियो ?’ छोरी नै माग्न आएजस्तो मानिन् कि क्या हो, ठाडै प्रश्न गरिन् । ‘मलाई डेरा चाहिएको थियो । यहाँ छ कि भनेर आएको ।’ मैले पनि ठुलै स्वरमा चिच्याइदिएँ । ‘बाबु एक्लै कि परिवार ?’ उनले पुनः उत्तरको बदलामा प्रश्न फर्काइन् । ‘अहिलेसम्मलाई एक्लै’ मैले पनि सोझै उत्तर हिर्काएँ । ‘ए ! त्यसोभए त मिल्दैन । डेरा त थियो तर परिवार ले’राउनेलाई मात्र दिने ।’ उनले छर्लङ्ग पारिन् । ‘किन र आमा ?’ दङ्ग पर्दै मैले सोधेँ । ‘छोरी छ घरमा त्यसैले ।’ उनले कुरो टुङ्ग्याइन् । हरे शिव ! मैले उनकी छोरीलाई के नै पो गर्ने थिएँ र ? तैपनि म तीन दशक काटेको गाउँले ठिटोलाई ती शहरिया ठिटीले के आँखा लगाउलिन् । त्यसमा पनि उनले म माथि आँखा फुटाउनुपर्ने के आवश्यकता ? स्कुलैदेखि कतिजनालाई हेरिसकिन् कतिजनालाई फेरिसकिन् । विचरी आमालाई के थाहा ?
पुरानो डेरामा पानी नआउने भएकोले नुहाई–धुवाई गर्न नपाएको थुप्रै भैसकेको थियो । त्यसैले फोहोरी–फोहोरी, गाउँले–गाउँले, भाडा पनि तिर्न नसक्ला जस्तो देखेर पो हो कि न ! पुनः एकसाता जति डेराकै लागि फेरो लगाएँ । कहीँ के मिल्दैन, कहीँ के मिल्दैन ! अझ धेरै ठाउँमा त केटाहरुलाई नदिने रे । हैरान भएँ । झोँकै चलेर आयो । एकदिन त होटलमै बस्दिएँ । नुहाई–धुवाई गरेँ र ट्याक्सी लिएर अस्तिकै ‘छोरीभन्दा आमा तरुनी’ कहाँ पुगेँ । गेटमा पुगेर ड्राइभरलाई हर्न बजाउन लगाएँ । ट्याक्सीको हर्न सुन्ने बित्तिकै आमा–छोरी दुवै गेटैमा आइपुगे । ‘अफिसमा कुरो चलेको थियो, यहाँ राम्रो कोठा खाली छ रे, यसो बुझिहालौँ कि भनेर आएको । मलाई त अलि रामै्र चाहिएको थियो, कोठा कस्तो होला ?’–मैले पेलिहालेँ । मैले कुरो खोल्ने बित्तिकै आमा–छोरी एकैचोटि बोलिहाले–‘ओ हो सर ! कोठा त एकदमै राम्रो छ । परिवारवाला आएका थिए हामीले दिएनौँ । तपाइँजस्तै एक्लै बस्ने राम्रो मान्छेलाई दिने भनेरै राखेको । आउनुस् न सर !’ दङ्ग पर्दै उनीहरुको पछिपछि लागेँ । कोठा हेरियो, कुरो छिनियो । भित्तोमात्रै भएको रित्तो कोठाको अठारसय, महिनाको एकपल्ट मात्रै आएपनि पानीको एकसय, पन्ध्रदिन लोडसेडिङ भएपनि बत्तीको एकसय, जम्माजम्मी दुईहजार । सहमतिमा पुगियो, रातो टिको लगाइयो ।
अर्कोदिन साइत पनि नहेरिकनै झ्यापझुप सरिहालेँ । उफ ! कति गााह्रो डेरा सर्न । रिस उठेको मान्छेलाई श्राप दिनुप¥यो भने ‘डेरा सर्नु परोस्’ भन्दिए हुन्छ । डेरा त सरियो तर अब फेरि रमाइलो सुरु भैहाल्यो । पानी आउँदो रहेछ पाँचदिन बिराएर राति एक बजे । पानी आउने दिन त रातभरि हरिकीर्तन । त्यसमाथि पनि कैलेकाहीँ त मोबाइलमा मिसकल आएजस्तो हावामात्रै आउने । आपूmलाई फेरि बिहान मस्तसँग घुर्नुपर्ने, घरभेटी आमाको के–के जाती, कपालभाती भन्दै नानाभाँती चल्दोरहेछ फेरि । टोलैलाई पुग्नेगरि स्वाँ–स्वाँ र फ्वाँ–फ्वाँ, घ्यार–घ्यार र घुर–घुर । ओ हो ! म जस्तो राति कामबाट फर्कनेले बिहान अबेरसम्म आनन्दले घुर्न पनि नपाउने ? चुप लागेर गर्नुस् भन्न पनि नमिल्ने, हल्लाखोरै गर्नुपर्ने कार्यव्रmम रहेछ । अझ भएन भनेर मेरै कोठाको ठ्याक्कै पल्लोपट्टि काठ चिर्ने मिल रहेछ । चौबिसै घण्टा चररर… घररर…। त्यतिले पुगे त हुन्थ्यो, डेरा सरेको दुईतीन दिन पछि त देब्रेपट्टि फुलचन्द प्रसादले पोल्ट्रीफार्म नै खोल्दियो । जसले जहाँ जे खोल्दिए पनि हुन्छ, नीति नियम भए पो ! हे भगवान ! अब त ढलमतीको वास्नामा फुलचन्द प्रसादका प्यारा कुखुराहरुको वास्ना समेत घोलिएर आउने भो कोठैभित्र । अब त के बसिसक्नु होला र ! डेरा सरेको एघार दिन पनि भएको छैन, फेरि नयाँ डेरा खोज्नुपर्ने भैसक्यो । ‘बित्ने भो जिन्दगी डेरै सरेर’ पिलन्धरले त्यसै लेख्छ गीत ! ए, तपाइँले चिनेको तिर कतै कोठा खाली छ ? थाहा पाउनुभयो भने मलाई खबर गर्नु ल ! मोबाइल त होला नि हातमा ? तर म कुुरो बुझ्छु; सबैको हालत उही हो । फोनै गर्नुपर्छ भन्ने छैन, ‘मिसकल’ मात्रै दिए हुन्छ ।
‘फुलौरा’ हास्यव्यङ्ग्य सङ्ग्रहबाट
Subscribe
Login
0 Comments
Oldest






































