महेश थापामौलिकतन्त्रको विकास मन्त्र
नेपालीले कुन तन्त्र अन्तर्गत ज्यान धानिरहेका छौं ? भनी प्रश्न गर्दा आफ्नो देशले जपिआएको मन्त्रको समेत हेक्का नभएको कस्तो बज्रस्वाँठ भन्दै आँखा तर्नुहोला ! र, भन्नुहोला– राजनीतिक व्यवस्थामा हामीले लोकतन्त्र अपनाएको संविधानमै किटान भएको छ । सुदूरबाट हेर्दा तपाईंको कुरा ठीकै पनि हो, तर भोक्ताहरूको निकटवर्ती नजरमा त्यो गलत सावित हुन धेरैबेर लाग्दैन । गाँठी कुरो के भने तपाईंले अनुमान गरेभन्दा यो निकै पेचिलो विषय हो ।
मानव समाजले विभिन्न कालखण्डमा कविलातन्त्र, राजतन्त्र, प्रजातन्त्र, जनतन्त्र, बजारतन्त्र, लोकतन्त्र आदि विभिन्न तन्त्रहरू अपनाउँदै आइरहेको छ । यी तन्त्रहरूमा प्राण भर्न माक्र्स, माओ, ताओ, फुकुयामा आदिले जोडदार ढङ्गले मन्त्रहरू फुके । हामीकहाँ भने अहोरात्र अनुष्ठान, यज्ञादि गरी यी मन्त्रहरूको फ्युजन गर्न खोज्दा कन्फ्युजन भएर न पूँजीवाद, न समाजवाद बरू जसरी हुन्छ कमाओवाद, खाओवाद र उडाओवादमा रूपान्तरित हुनपुग्यो ।
समाजमा ‘जसका लाठी, उसका भैंस’ मा अटल आस्था राख्ने मुङ्ग्रेहरूको बोलवाला छ । मुङ्ग्रेहरू मुर्मुरिनासाथ रातारात विधि–विधानको मुण्डन गर्न तत्पर ढुकुरे लोकतन्त्रवादीहरूले धानिरहेको देशलाई लोकतान्त्रिक भन्दा लोकतन्त्रले शरम मान्ला कि नमान्ला ? कसैले तापक्रमसँगै बदलिने नेताहरू रहेको देश छेपारोतन्त्रीय पो हुन्छ भन्यो भने के जवाफ दिनुहुन्छ ? ठोक्नेहरूले ठोकेपछि ठोक्याठोक्यै हुने देश लोकतान्त्रिक हुन्छ कि ठोकतान्त्रिक ? लुटेराहरूको सिक्का जमेको देश लोकतान्त्रिक हुन्छ कि लुटतान्त्रिक ? बिना घूस सिन्को नसर्ने अड्डाहरू भएको देश लोकतान्त्रिक हुन्छ कि घूसतान्त्रिक ? मजाक–मजाकमै चलिरहेको शासनव्यवस्था हेरेर कसैले यो त जोकतन्त्र पो हो भन्यो भने के भन्नुहुन्छ ?
बिना तन्त्र देश चल्दैन । तर, भाँती–भाँतीका पसलबाट मन्त्र फुक्नेहरूको ताँती हुँदा पनि हामीले कुनै एउटा लछारपाटो लगाउन सक्ने तन्त्रको जोरजाम गर्न नसकेकै हो भन्नुस् । देश रोकिएकै त छैन, तर हामीकहाँ चलिरहेको व्यवस्थालाई कुन तन्त्र भन्ने भेउ पाउन नसकेर विश्वका घागडान राजनीतिक पंडितहरूले समेत तोरीको फूल देखिरहेको समाचार आएको आयै छन् । धन्न हामीसँग एउटा मौलिकतन्त्र छ, जसलाई हामी अन्तरिम रूपमा नेतातन्त्र भन्न सक्छौं । संविधानमा जेसुकै लेखिएको भए पनि नेताज्यूहरूको अनुकूलतासँग बाझिने धाराहरू बाझिएको हदसम्म अमान्य हुनेछ भन्ने अदृश्य धारामा टेकेर चलिरहेको यो मौलिक तन्त्रलाई नेतातन्त्र भन्दा कसैलाई लुतोचिलाइ नहोस् ।
तन्त्रै यस्तो भएपछि जता फर्के’नि भिन्न रूप, रङ्ग र भङ्गिमाले भरिपूर्ण नेतागण फेला पर्ने नै भए । टोले नेता, बडबोले नेता, लिखुरे नेता, च्याखुरे नेता, भुरे नेता, खुजुरे नेता, पत्रकार नेता, व्यापारी नेता, कर्मचारी नेता, वकील नेता हुँदै यतिवेला हामी न्यायाधीश नेता बारे चर्चा गर्न योग्य भएका छौं । यति फराकिलो फेद भएको हाम्रो मौलिकतन्त्रको टुप्पो फितलो हुने कुरै भएन । परिणाम, आर्थिक वृद्धिको सट्टा प्रधानमन्त्री–मन्त्री वृद्धिको दर तीब्र हुन पुग्यो । नभन्दै, बर्माकी नेतृ आङ सान सुची काठमाडौंमा नेपाली पूर्वप्रधानमन्त्रीहरूको बटालियन नै भेटेर अक्क न बक्क भइन् ।
सिंहदरबारमा फोटो झुन्ड्याउनेहरूको भीड भनेर हामीले हेलाँ गरे पनि प्रजातन्त्रवादी नेतृ सुचीलाई अधिनायकवादी शासन व्यवस्था भएको मुलुकमा मात्र शिला खोज्दा’नि पूर्वप्रधानमन्त्रीहरू फेला पार्न मुश्किल पर्ने कुरा थाहा नभएको होइन । नेपालका प्रधानमन्त्री, मन्त्री उत्पादन दर देख्दा बर्मेली नेतृ हतप्रभ भएको दृश्यले धेरै नेपालीलाई ‘माल पाए पनि चाल नपाएको’ अनुभूति भएको हुनुपर्छ । उनले ‘भूतपूर्व प्रधानमन्त्री दर्शन’ प्याकेज घोषणा गरेर नेपालले मनग्ये पर्यटक भित्र्याई टन्न कमाउने सुझाव नदिए पनि हामी आफैं त्यसो गर्न सक्छौं । यो मौलिक नेतातन्त्रमा नेपाली काइदाको विकासे मन्त्र घुसाएर फाइदा लुट्न विलम्ब नगरौं !
‘हिमाल’ १० असार २०७१ बाट
Subscribe
Login
0 Comments
Oldest







































