हरि खनालपुरस्कार
‘थाहा पाउनुभयो ? मैले पनि पुरस्कार पाएँ नि ।’ पुरस्कार पाउने भएपछि मेरा खुट्टा पनि हावामा कावा खान लालयित भएका थिए । यो पुरस्कार पाउन मैले धेरै साधना गरेको थिएँ र त्यो साधनामा सबैभन्दा बढी आराधना गरेको थिएँ । मेरी बास्सै कम्ता मेहनत परेको थिएन । पुरस्कार पाउनुको रहस्य भन्न त नहुने हो, तर तपाइँलाई चाहिँ सुटुक्क भनिदिन्छु तर अरूलाई नभनिदिनुहोला है ।
धेरैले मलाई सोध्नथाले ‘अहिलेसम्म कतिको पुरस्कार पायौ ?’ छैन भन्दा सबैले ओठ लेब्रयाउने । जति मेहनत गरेर कथा कविता पठायो, पत्रिकाले नपत्याउने । साहित्य मण्डलीहरूले कहिलै पत्याएनन् । पुरस्कार नपाएसम्म धुरन्धर बन्ने योग्यता नहुने रहेछ । यस्तै कुरा मनमा खेलिरहँदा दिमागमा भगवान गणेशजी फुत्त आउनुभयो । उहाँ र कुमारको सुमेरुयात्राको स्मरण भयो । म पनि आफ्नो एउटा कृति बोकेर एकजना पुरस्कारदाताकहाँ पुगें । उनको शिरदेखि पाउसम्मको प्रशंसा गरें । सुरुमा त उनले ओठ लेब्रयाए । माग्नेका हजार दाऊ, केही दिन्न भुत्रो खाऊ भनेर लोप्पा खुवाए । मैले उनको लोप्पाको पनि प्रशंसा गरें ।
“हैन, यतिका गाली गर्दा पनि पछि लाग्न छोड्नुहुन्न, दिमाग त ठीक छ तपाइँको ?” उनी झोक्किए ।
“भगवानले भक्तलाई कहाँ सजिलै वर दिन्छन् र हजुर ? कति कठोर साधना र संयमको परीक्षा लिन्छन् । त्यतिकी रूपवती पार्वतीले बूढा महादेवलाई स्वामी पाऊँ भन्दा पनि बूढाले नाटक गरेर हतपती स्वीकारेनन् । उल्टै ब्रत बसाएर निराहार बनाए । आप्mनै साथी सुदामालाई दरिद्र जीवनबाट मुक्त गराउन श्रीकृष्णले सुदामाको कम परीक्षा गरे ? राजा हरिश्चन्द्रको परीक्षा कति लिए भगवानले ? ए हजुर म तपाइँसँग किन रिसाउने ? मलाई पुरस्कार दिएर चर्चित बनाउने शक्ति हजुरमा छ भन्ने थाहा हुँदाहुँदै म किन भक्ति नगरूँ ?” मैले हात मोल्दै भनें ।
मेरो कुरा सुनेपछि उनी मुसुमुसु हाँसे । उनले मेरो ढाडमा हात राख्दै भने, साँच्चे मैले दिने पुरस्कारका लागि तिमी नै लायक रहेछौ । तर तिमीलाई यो पुरस्कारले के फाइदा दिन्छ भन त ?” उनले सोधे ।
“ए हजुर !! मलाई कुनै पत्रपत्रिकाले गनेनन् । दर्जनौं लेखिसकें कसैले लेखक मानेनन् । कसैको ग्याङमा र्याङ्क बनाउन सकिएन । मलाई पुरस्कार लिएर नाम चलेको लेखक बन्नु छ ।” मैले प्रष्टयाएँ ।
“तिमीले एउटा सानो कृति लेखेर हजारौं रूपैंयाँ खर्च गरेर बिमोचन गरेनौ ? तिम्रो नाममा प्रशस्ती गाउने लेखकहरूको गोजीमा हात राखेनौ ? कुनै मिडियामा पनि लगानी गरेनौ ? तिमी त ग्वाँच रहेछौ भाइ । ठीक छ तिम्रो कुरा सुनेर मलाई दया लाग्यो । लौ भन तिमीलाई नाम, खाम र दाम मध्ये के चाहिएको हो ?” उनले सोधे ।
“हजुर मलाई नाम चाहिएको हो, नामका लागि खाम पनि त चाहियो नि । अनि खामभित्र दाम पनि त हुन्छ होला नि होइन र ?”
“ठीक छ तिमीले नाम पनि पाउँछौ, खाम पनि पाउँछौ तर यसका लागि सबैभन्दा पहिले आफ्नै खल्ती छामछुम पार भाइ ।” उनले आदेशात्मक स्वरमा भने ।
“कुरो बुझिनँ नि हजुर ?”
“कुरो बुझ्ने भएको भए त पहिलै पुरस्कार पाइहाल्थ्यौ नि !” उनले राताराता आँखाले हेर्दै भने । मेरो घुचुकको वुद्घिको बिर्को पछिमात्रै खुल्यो । पुरस्कारको रहस्य बल्ल थाहा पाएँ । तर आफैंले दाम जोर्नुपर्ने ? अहो ? कसरी ?” म केहीबेर रन्थनाएँ ।
“के छ विचार, रु पचास हजार नगद पुरस्कार सहितको सम्मानको घोषणा गर्ने बेला भयो । यस्ता प्रार्थीहरू छन् मेरा सम्पर्कमा । धेरै दिनदेखि अनुनय गरिरहेका छौ, पहिलो प्राथमिकता तिमीलाई ।” उनले झस्काए ।
“अब परेन फसाद ! छोडौं यत्रो दिनदेखिको साधना । नछोडूँ, त्यतिका धनराशी कहाँबाट खोजूँ ? त्यति रूपैंयाँ भए त एउटा महाकाव्य नै प्रकाशित हुन्थ्यो ।” म एक्लै गुनगुनाएँ ।
“तिम्रो खल्तीको दाम, हाम्रो खाम, चिटिक्क परेको प्रमाणपत्रमा तिम्रो नाम । तर कविज्यू ! खाम घरमा जान्छ दाम चाहिँ धाममा जान्छ नि !” उनले हाँस्दै भने ।
म अझै चकित भएँ उनको कुरा सुनेर । आपूmले हालेको दाम आफ्नो खामसँग पनि जान नपाउने ? कस्तो धाममा जाने होला ? म अनकनाएँ ।
“बुझेनौ कविजी ! हाम्रो पुरस्कार गुठी तिम्रो धाम हो । यस्तै गरी हाम्रो धामले तिमीजस्ताको नाम राख्दछ । मन भए छिटो निर्णय गर ।”
लागु पदार्थको दुव्र्यसनीलाई भन्दा मलाई पुरस्कारको तलतल थियो । सपना र जपना नै पुरस्कार भएपछि कसरी नाइँ भन्ने । घरमुनिको पाटो बन्धकी राखेर रु. पचासहजार दातालाई टक्र्याएँ ।
एक दिन ठूला भँगेरेटाउके अक्षरमा मैले पुरस्कार पाउने कुराको घोषणा भयो । पुरस्कार पाउने भएपछि मोबाइलमा बधाइको ओइरो लाग्यो । पुरस्कार थाप्ने दिन पनि नजिकियो । ठूला मानिसहरू भेला भए । सबैको मुखमीठा गर्ने रकम मेरै थियो । प्रमुख अतिथिले प्रमाणपत्र दिए जुन प्रमाणपत्र म आफैंले तयार पारेको थिएँ । रु पचास हजारसहित भनेर उद्घोषकले उद्घोषण गरे । हातमा खाम पनि आयो । साँच्चै ठूलो साहित्यकार तथा लेखक भएँ म । अरू बेला कसैले नगन्ने मलाई सबैले राम्रो लेखक भनेर प्रशंसाको सुसेली हाले । टेलिभिजन र क्यामरामा तस्बिर खिचिए । सिर्फ अविर र खाली खाम लिएर म पुलकित हुँदै घरतिर लागें । घरमा जहान हन्हन्ती जरो आएर ओछ्यान परेकी रहिछिन् । सिटामोल किन्ने ढेवा छैन, जहानबच्चामा टेवा छैन । केटोकटीहरू खानै नखाइ प्याकल्याक्क पल्टिसकेका रहेछन् । म एकपटक ऐनाको सामुन्नेमा उभिएँ । मैले गलाको माला छिनाएँ, खाली खामलाई कच्याककुचुक् पारें । पुरस्कृत कृतिलाई अगेनामा हालें र आगो सल्काएँ,त्यस साँझको एक छाक खाना त्यसैबाट पकाएँ । तर खै किन किन कलम भाँचेर आगोमा हाल्न भने सकिनँ ।
‘भोकासुर’ सङ्ग्रहबाट
Subscribe
Login
0 Comments
Oldest








































