होम सुवेदीभानुभक्तबारे लेख्न सकिनँ भन्दाभन्दै…
चूडानाथ भट्टराईले नाम दिएको साङ्ख्यिकी अर्थात् कम्प्युटरले मेरा धेरै कुरा खाइदिएको छ । तीन ओटा जति किताबै खाइदियो यसले । लेखहरूको ता हिसाबै भएन । यसले उहिल्यैदेखि खान थालेको हो । अघाउने छाँट छैन । उसको खान्कीले यस बाजि पनि मेरो भुर्नहत्ते नै गरिदियो । मैले उसको थाप्लामा थन्क्याएका सामग्रीहरू भुुसुक्कै खाई सिद्ध्यायो यो यस बाजि पनि । मानौं मेरो कम्युटरलाई सधैं सधैं ब्रेनट्युमरले गाँजिरहेको छ अनि म भने उसको उपचार गरेर कसै गरी उसलाई जीवित गरिहेको छु । त्यसरी उपचार गरेपछि ऊ केही मैनाका लागि बिउँझन्छ, मानौं सद्दे हुन्छ,, उसको सद्दे अवस्थामा उसको दीर्घ रोग छ भन्ने बारेमा म भुसुक्क हुन्छु । अनि कुन बेला हो, फेरि उही रोगले यसलाई सताउँछ, मेरा सिर्जनाहरूलाई भुसुक्कै निल्छ । म रुन मात्र सक्तिनँ, यस बाजि पनि त्यही भयो । उसलाई फेरि डाक्टरकोमा पुर्याउनु पर्छ । ऊ ठम्ठमाउँदो हुन्छ, अनि म पनि उसको त्यो अवस्थाबाट तादात्म्य हुन्छु । तर उसको सधैंको दीर्घ रोग कुनै पनि बेला फेरि उकुच पल्टेर बल्झन्छ भन्ने कुरा म भुसुक्कै बिर्सन्छु र उसलाई कतिपय कुरा थन्क्याउन लगाउँछु । ‘लौ है तेरै जिम्मा भयो’ भनी उसैकोमा थान्को लगाउँछु । तर फेरि पनि उसमा त्यही दीर्घ रोग लाग्छ र मैले उसलाई थन्याउन दिएको मेरो सम्पत्तिमाथि उसले रजाइँ गर्छ, मेरो बौद्धिक सम्पत्तिको बिमाख गर्छ । म फेरि उही रुनु न हाँस्नुमा रुपान्तरित हुन्छु– निरीह, काँतर, क्लान्त र खिन्न ।
मलाई भानुभक्तबारे केही लेख्नु पर्ने आग्रहको सन्देश आएको थियो । त्यसबारे पुस्तकालयमा केही धाएको थिएँ, भानुभक्तले ‘रामायण’ भित्र छन्दको लागि हजारौं स्थानमा व्यञ्जन वर्णलाई खुट्टा काटेका छन् र काट्नै पर्ने शब्दहरूलाई छन्दकै लागि नकाटी प्रयोग गरेका छन् । लगभग तिनको विस्तृत खोजी गरेर केही पाएको थिएँ । यति मात्र कहाँ हो र उनले छन्दको तुकबन्दी र छन्दको घेरा मिलाउनका लागि इ, ई, उ, ऊ जस्ता स्वर वर्णहरूको पनि कुनै कुनै ठाउँमा खुट्टा काटेका रहेछन् यो कुराको समेत सानो महाभारत लेखेको थिएँ । नेपाली भाषभाषीका लागि सानै भए पनि केही उब्जाएको थिएँ, केही आफैंलाई भए पनि कमाएको थिएँ, केही ता पाएको थिएँ । जे पाएको थिएँ त्यो सबै लेखिसकेर उसैलाई थन्क्याउन लाएको थिएँ । उसको हुलाकीलाई ‘पठाइहाल् है’ भन्ने अराउपराउ गरेकै थिइनँ । यसभित्रको बिजुली हुलाकको महसुल (इमेलका लागि) तिर्न नपाएर त्यो हुलाक केही दिनलाई बन्द भएको थियो । त्यही तयार पारेको मेरो साम्ररी यसले खाएको थियो । अब यसो भएपछि के लेखिरहनु ! भैगो छाडिदिऊँ भने जस्तो पनि लाग्यो । तर…
अरु अरुलाई ता ‘लौ है पठाउँला’ भनेर ढाँटढुँट गर्दाे हुँ तर कोमलप्रसाद पोखरलेललाई यो कुरा गर्ने मेरो ह्याउ भएको थिएन । परेको थियो फसाद ! अनि लेखेको थिएँ र पठाउन ठिक पारेर थान्को मात्र लाएको थिएँ । त्यही मौका पारेर रोगमा उकुच पल्टियो, खाइदियो कम्प्युटरले । उसको सधैंको रोग यसै बेला बल्झियो । मेरो सम्पत्ति पनि खायो यसले अनि खायो दिमाग पनि । मेरो सातोपुत्लो उडायो । उसको उपचार गर्ने सधैंको प्रकृया यथावत् चल्यो । अनि ऊ ठम्ठमाउँदो भयो । तर मेरो पहिलेको सारा बौद्धिक सम्पत्ति हराई सकेको थियो, चोरले चोरेर लगेको सम्पत्ति लुकाइसकेको थियो, फेरि पाउने आसै हराइसकेको थियो । रित्तो हातको चोरलाई पाए पनि के नपाए पनि के ? अनि मलाई फेरि उही कुराको सम्झना आयो– कोमलप्रसाद पोखरेल सरलाई ता कसै गरी केही ता दिनै पर्यो, नत्र मार्छन् । होम सुेवेदीले लेख्नबाट पन्सनका लागि एउटा निहुँ बनाए भन्ने पनि सोच्न सक्लान् । तर धरोधर्म कोमल सर, मैले यो कुनै निहुँ पारेको होइन ।
अहिले आफ्ना आफ्ना साइनो पर्नेहरूका बारेमा समेत बडेबडे स्मृतिग्रन्थहरू निकाल्ने कुराले देशमा खैलाबैला नै चलेको छ । आफ्ना पितामाता, दाजु भाउजू, भाइ बुहारी, नातिनातिना, सम्धी सम्धिनाहरू सबैका बारेमा कुनै न कुनै रुपका स्मृतिग्रन्थ लेखेर विमोचन गराउनेहरूको ओइरो लागेको छ । मेरा गाउँका ढकाल बाले ता उनकी साख्खै सालीका बारेमा समेत स्मृतिग्रन्थ निकाल्ने सुर कसेका छन् । उनको स्मृतिग्रन्थ उद्योगलाई लिएर अड्कल काट्ता हुँदि उनकी पत्नी उडाउने जारका बारेमा पनि स्मृतिग्रन्थ लेखाउन बेर लगाउँदैनन् भन्ने अठोट हुन सक्छ । तर कोमलप्रसाद पोखरेलका ता दुई सय वर्ष अघिका भानुभक्त न जिजु परे न च्याब्जु परे, न खुमं्रे मामा परे न च्याब्जु मित बा नै परे । साला जेठान पर्ने ता कुरै थिएन । उनको भानुभक्तका साथमा ता परै जाओस् भानुभक्तका शाखा सन्तानसँग पनि गोरु बेचेको साइनो समेत छैन भन्ने मलाई लाग्छ । त्यसरी साइनो नपरेका व्यक्तिका बारेमा केही लेख्नु र लेखाउनु भनेको ता ओरत्र र परत्रकै पनि बाटो सफा गर्नु हो भन्ने ठाने र मैले पनि बेला भिड्किए पनि केही ता लेख्नै पर्ने ठानेँ ।
फेरि रामायणकै बारेमा यसो सोची हेरें त्यसलाई पनि कसैले छाडेकै रहेनछ । अस्ति नै थाहा पाएकै थिएँ, त्यसका कुना कुनाका कुराहरू लेख्न बाँकी कसैले छाडेको रहेनछ । अब भुत्रो लेख्नु । तैपनि मैले केही लेख्नु छ भानुभक्तकै बारेमा । आफैंसँग रिस पनि उठ्यो र आफैंसँग भुत्भुताएँ । दुई सय वर्ष अघिका भानुभक्तका बारेमा के भुत्रो लेख्नु ! लेख्ता लेख्ता हैरानी भइसक्यो उनका बारेमा । अब पनि कति लेख्नु परेको उनका बारेमा ! उनका र मेरा माझमा केही साइनो भएको भए पो केही लेख्नु ! गोरु बेचेको साइनो पनि छैन । साइनो नपरी लेख्ने बानी नै हराइसकेको यस बेलामा साइनो ता चाहियो नै । यसो सुवेदी वंशावली हेर्दा मेरा सात पुस्तासम्मका कुनै पुराना बुढा पुर्खाले अचार्जकी कन्यासम्म बिहे गरेको देखिएन । अचार्जका कुलको खुन मेरा सात पुस्ता अघिसम्मदेखि नै रहेनछ । लौ मेरो ता नाता परेन परेन यसो पितापुर्खाको नाता परेको भए पनि बाबैका बारेमा यसो केही लेख्तो हुँु । त्यो पनि केही भएन, अब नातै नपरी के लेख्नुु । गोरु बेचेको साइनो परेको भए पनि ता हुने । त्यो पनि छैन । म कहाँको सुवेडी, उनी कहाँका अचार्जे । म कहाँ पाँचथरको सात पुस्ता पछिको उनी कहाँ चुँदी रम्घाका सात पुस्ता पुराना । अनि कसरी लेख्ने ! अचार्ज नभए पनि अचार्जको भान्जो, सालो, ज्वाइँ, मित, सम्धी, आदि केही परेको भए पनि वंशको कुरा कोट्याएर केही कथुर्थें त्यो पनि भएन । भएन बाबा केही लेख्ने ठाउँ नै देखिनँ ।
अचार्ज थरै परेकाहरूले ता अहिले काटीकुटी भानुकै सन्तान हुँ भनेर देशविदेशमा धुम मचाइरहेका छन् । अझ चुँदीकै अचार्जलाई ता आदिकविको नाताकै पगरी भिर्दाको सास्ती छ । नातामा परेकाहरूले पनि अहिले उनको दोस्रो सतवार्षिकी मनाउनका लागि बिर्के टोपी लगाएर भानुभक्तै हुन खोजेको कुरा पनि देखिन थाल्यो । अस्ति मात्र आसामतिर गएका एक टोलीले एक जना अचार्ज थरका मान्छेलाई अघि लगाएर भानुभक्तको साख्खै सन्तान हो भन्ने पारेर कुम्लो कुटुरोको जोहो गरेको कुरा पनि बिर्सन नसकिने कुरा थियो । त्यही टोलीमा परेको भए पनि ता हुने । टोली सदस्य भनेर केही ता लेख्दो हुँ । कसै गर्दा पनि भानुको नाता कुटुम्बमा नपरेपछि अब के गर्ने त उनका बारेमा केही नलेख्ने । लौ त म उनका बारेमा केही लेख्तिनँ नलेखेबापत सहुँला बुझाउँला ।
चन्द्रगढी, झापा
Subscribe
Login
0 Comments
Oldest








































