साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई थान अरिमट्ठे तिघ्राहरू

Nepal Telecom ad

धरतीका सम्पूर्ण मान्छेहरूले भने– “हामीसँग आगो छैन अब के गर्ने ?” आगो जीवनको आधार हो । गाउँ, सहर र बस्तीहरू निन्याउरा र अँध्यारा भए । मानिसहरू काँचो पिँडालुको कोक्याइ मार्न काँचो कोदाको फाँको हाल्न थाले । बच्चादेखि बूढाबूढीसम्म रुन र कराउन थाले । आगाको अभावमा अँध्याराले ग्वाम्लाङ्ग गाँजेपछि हत्या, बलात्कार, डकैती, चोरी र बर्मलुटका अनगिन्ती घटनाहरू घटे । यो अवस्था खप्न नसकी एक दिन सम्पूर्ण सहर र बस्तीका मान्छेहरू एक ठाउँ उभिएर जुक्तिबुद्धि खियाउन थाले । भीडबाट एउटा नायक निस्कियो । उसले आफ्नो परिचय दिँदै भन्यो– “म कञ्चनजङ्घा हिमालको फेदी याम्फुदिन बस्ने प्रमिथस हुँ ।” उसले हात उठायो र सबैलाई आश्वस्त पार्दै भन्यो– “तपाइँंहरू निश्चिन्त हुनुहोस् । म स्वर्गबाट आगो ल्याइछाड्छु । बीचमा कसैले प्वाक्क बोल्यो– “के यो सम्भव छ ?” प्रमिथसले घाँटीसम्म झरेको कालो कपाल झट्कार्दै भन्यो– “म अविदितको यात्री हुँ, असम्भव भन्ने कुराको बैरी ।”

नभन्दै संसारबाट हराएको केही वसन्तपछि आगाको सानो फिलिङ्गो अँजुलीमा झिलिल्ल पार्दै प्रमिथस पृथ्वीमा आयो, दोर्जे हिमालजस्तो नझुक्ने शिर लिएर बरा ! उसले त्यो आगाको फिलुङ्गो स्वर्गबाट चोरेर ल्याएछ– जीवनलाई जोखिममा साँटेर ।

त्यसपछि मानिसको अनुहारमा शीतको निखार पाएको घिऊकेवराको फूल फुल्यो । सबैले एक स्वरले भने – “हाम्रो सपना पूरा हुने भो ।” हर्कले बुर्कुसी मार्दै जनसागर कुँडुलो परेर प्रमिथसको फिलिङ्गो फुः फुः गर्दै फुक्न थाल्यो । फिलिङ्गो के पुत्पुताउन लागेको थियो । एउटा कोही लाठेले हत्तपत्त हनुमान जाँघे कट्टुु खोल्यो र छ्वाल्ल सु ग¥यो । यसलाई सु निगाह बक्स भो भने पनि फरक पर्दैन । आगाको फिलिङ्गो भासभुस निभेपछि किच्च हाँसेर हनुमानजाँघे कट्टुको फास्नर क्यार्र तान्दै उसले भन्यो– “स्वर्गबाट चोरेर ल्याएको आगाको फिलिङ्गोमा सु निगाह बक्स गर्ने म पहिला महानायक हुँ ।”

अर्कोपल्ट लोमान्थाङतिरको प्रमिथसले स्वर्गबाट फेरि आगो चोरेर ल्यायो । आगाको झिलिक्क उज्यालो देख्नासाथ एक्कासि कतैबाट दुई थान बटारिएका तिघ्रा टुप्लुक्क देखा परे । फेरि जाँघेको फस्नर ख्वार्र खुल्यो सु अर्थात् लघुशङ्का बिसर्जनको महान् कार्य सुसम्पन्न भयो । यसरी बहादुर प्रमिथसले पटक–पटक स्वर्गबाट आगो चोरेर हाम्रो धरतीमा ल्याए, हरितन्नम रैती दुनियाँले बालेर आफ्ना सपना पूरा गर्न खोजे । तर, जब फिलिङ्गो झुलुल्ल बल्न खोज्छ, एक्कासि कहीँबाट दुई थान तिघ्रा आउँछन् र छ्वाल्ल लघुशङ्का सम्पन्न हुन्छ । कसै कसैले यस्तो निगाह बक्स भएकोमा चरणकमलमा भक्ति र कृतज्ञता पनि टक्याउँछन् ।

यसपल्ट पनि लालीगुराँस ढकमक्क फुल्यो वनैभरि, मनैभरि । स्वर्गको आगो चोर्न अविदितको यात्रामा हिँडिरहेछ । मेरो देशका सबभन्दा सुन्दर र सबभन्दा बहादुर मान्छेहरू अँजुलीमा एक पित्को आगाको झिल्को बोकेर ती अवश्य भोल्टेयरको पाइला टेक्दै यस धरतीमा आउनेछन् । यसपल्ट दुई थान डाइनोसर तिघ्राहरूलाई फास्नर खोल्न नपाउँदै डाँडो कटाउनुपर्छ । हामीलाई लघुशङ्का निगाह बक्सप्रति कृतज्ञ हुनु पनि छैन । यसपल्ट पनि त्यसले आगाको फिलिङ्गामा सु गर्न भ्यायो भने हाम्रो शान्ति र प्रगतिमा लोदर लाग्छ । त्यसकारण एक स्वरले खबरदारीको नारा लगाऔँ । प्रमिथसको आगाको फिलिङ्गोमा सु गर्ने चोर, खबरदार देश नछोड् !

प्रहरी तालिम केन्द्र, महाराजगञ्ज
३/१/०६३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x