महेश थापाडनीय समाजवाद
राजधानीको सन्ध्याकालीन फुटपाथ व्यवसायलाई उछिन्ने गरी राजनीतिको पसल खुले पनि लोकतान्त्रिक मूल्यमान्यता सहितको समाजवाद उन्मुख कायक्रम वर्तमान नेपालको आवश्यकता हो भन्ने कुरामा हाम्रा दलहरूबीच अभूतपूर्व मतैक्यता छ । तर, कुरा मिल्दैमा काम मिलिहाल्ने र कुरा नमिल्दैमा काम नबिग्रने भने होइन रहेछ । प्रजातान्त्रिक समाजवादप्रति अघोरै विश्वस्त विद्यार्थी सङ्गठनका एक नेताले बीपी जन्मशतवार्षिकी मनाउने तयारीस्वरुप बीपी पुस्तकालयभित्र विपक्षी सङ्गठनका एक विद्यार्थी नेतालाई खुकुरी प्रहार गरे ।
समय र स्थान चयनमा भएभरको बुद्धि खर्च गरिएको यो घटनामा प्रहार खेप्ने विद्यार्थी नेताको सङ्गठनले निमुखा जस्तो कानुनको शरणमा जानु बहुदलीय जनवादी शानको खिलाफ हुन जान्थ्यो । त्यसैले, सहयोद्धामाथि आक्रमणको प्रतिक्रिया स्वरुप पुस्तकालयमा आगो सल्काएर नौलो मानक स्थापित गरेका छन् ।
यस्तो ‘मानक’ अस्वीकार्य हुने छाँट देखिएपछि भने विद्यार्थी नेताहरू ‘नौलो बुद्धि’ प्रदर्शनको स्वामित्व ग्रहणमा हिचकिचाएका छन् । कसैले नसल्काई पुस्तकालय कसरी खरानी हुनपुग्यो त भन्ने यक्ष प्रश्नमा उनीहरूको दक्ष तर्क छ– ‘राम्रा–राम्रा छात्राहरूमाथि प्रेमाधिकार खोज्ने हरकतहरूको मति देखेर अतिशय लज्जित पुस्तकालय स्वयंले आत्मदाह गरेको पनि त हुन सक्छ नि !’
यी हाम्रा होनहारहरूको तर्क जतिसुकै दक्ष भए पनि तिनको कर्म देखेर समाज भने तीन होइन ६ छक्कमा छ । ‘पुस्तक जलाउने पनि कहीँ विद्यार्थी हुन्छन् ?’ सबैको मुखमा यही प्रश्न छ । यद्यपि, ‘एक विद्या, चौध चतु¥याइँ’ नीतिमा विश्वास गर्ने पनि यही समाज हो । यो कोणबाट हेर्दा खुकुरी हान्ने र पुस्तकालय बाल्नेहरू विद्यार्थी, अझ त्यसमाथि नेता भएको कुरा बिर्सेर ल्याउन मिल्दैन भन्नुस् !
उनीहरूले दूरमा कुनै सितारा नदेखी पुस्तकालयलाई दावानल बनाएनन् होला भनेर नसोच्नु हुस्सुपन पनि हुन सक्छ । इन्टरनेट र आइफोनको उत्तरआधुनिक जमानामा युवा विद्यार्थीलाई फेसबुक, ट्वीटर, इन्स्टाग्राम आदिमा रम्न नदिई थोत्रा पुस्तकमा पुरातन अवस्थामै अल्झाइराख्ने बुर्जुवा प्रपञ्च विरुद्ध त्यो एउटो सुविचारित विद्रोह हुनसक्ने कुरालाई कसरी नजरअन्दाज गर्न मिल्ला र !
समाजमा विद्यमान असमानता र क्लेशको मूलजरो शिक्षा नै हो भन्ने महत्वपूर्ण तथ्यलाई विचारीहरूले बिर्सन मिल्दैन । पढेर चतुरे भई जब मान्छे पण्डित, डाक्टर, इन्जिनियर, मास्टर, फरेस्टर, विल्डर, कलेक्टर, मिनिस्टर आदि बन्न थाले, समाज बहुवर्गीय हुनपुग्यो । ‘जति भाँडो उति चुबुर्को’ भन्ने आहानलाई चरितार्थ गर्दै बहुवर्गको स्वार्थ परस्परमा ठक्कर खाँदा समाज असन्तोषले भरियो । अक्कली विद्यार्थी नेताहरूले ‘न रहे बाँस, न बजे बाँसुरी’ भन्दै पुस्तकालय सल्काएर सक्कली सृजनशीलता प्रस्तुत गरेका हुन सक्छन् !
आदिम समाज साम्यवादी थियो । क्रमिक विकासको सिद्धान्त मान्ने हो भने सामन्ती युगमा प्रवेशको दौरान आदिम समाजवाद बीचमा कतै छुटेको हुनुपर्छ । नयाँ नेपालमा क्रमभङ्गता र छलाङ्गवादीहरूको नडिया दशा हेर्दा पाषाणयुगीन बबुराहरूले सानो गल्छेंडो पनि फड्किए होलान् भन्ने लाग्दैन ! माउ पार्टीहरूको लैबरी पाराले समाजवाद सुँघ्न पनि नपाइएला भन्ने आशङ्कामा औंताएर विद्यार्थीले सहजै पुग्न सकिने आदिम समाजवादतर्फको विलोम यात्रा शुरू गरेका पनि हुन सक्छन् । गन्तव्य बदलिए’सी साधन बदलिन्छ नै । विद्यार्थीले प्रजातान्त्रिक समाजवाद र बहुदलीय जनवादको बयलगाडा छाडेर बहुडनीय समाजवादरूपी सुपरकार चढेको भन्नुस् !
अब हाम्रा विद्यार्थी सङ्गठनले बन्दूक, बम, तोप लगायतका शस्त्रले सज्जित भएर पढ्न जाने चाँजो मिलाउलान् । त्यति गरे भने उनीहरू बन्दूकले मास्टर थर्काउन अनि बमले विद्यालय र तोपले विश्वविद्यालय उडाउन सफल हुनेछन् । पुस्तकालय दहनबाट शुरू गरिएको यो अनुष्ठानले शीघ्र गन्तव्य भेटोस्, बहुडनीय समाजवादीहरूको विलोम यात्राले सफलताको पताका फहराओस् !
‘हिमाल’ साप्ताहिक खबरपत्रिका, १५ साउन २०७१
Subscribe
Login
0 Comments
Oldest







































