साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डनीय समाजवाद

Nepal Telecom ad

राजधानीको सन्ध्याकालीन फुटपाथ व्यवसायलाई उछिन्ने गरी राजनीतिको पसल खुले पनि लोकतान्त्रिक मूल्यमान्यता सहितको समाजवाद उन्मुख कायक्रम वर्तमान नेपालको आवश्यकता हो भन्ने कुरामा हाम्रा दलहरूबीच अभूतपूर्व मतैक्यता छ । तर, कुरा मिल्दैमा काम मिलिहाल्ने र कुरा नमिल्दैमा काम नबिग्रने भने होइन रहेछ । प्रजातान्त्रिक समाजवादप्रति अघोरै विश्वस्त विद्यार्थी सङ्गठनका एक नेताले बीपी जन्मशतवार्षिकी मनाउने तयारीस्वरुप बीपी पुस्तकालयभित्र विपक्षी सङ्गठनका एक विद्यार्थी नेतालाई खुकुरी प्रहार गरे ।

समय र स्थान चयनमा भएभरको बुद्धि खर्च गरिएको यो घटनामा प्रहार खेप्ने विद्यार्थी नेताको सङ्गठनले निमुखा जस्तो कानुनको शरणमा जानु बहुदलीय जनवादी शानको खिलाफ हुन जान्थ्यो । त्यसैले, सहयोद्धामाथि आक्रमणको प्रतिक्रिया स्वरुप पुस्तकालयमा आगो सल्काएर नौलो मानक स्थापित गरेका छन् ।

यस्तो ‘मानक’ अस्वीकार्य हुने छाँट देखिएपछि भने विद्यार्थी नेताहरू ‘नौलो बुद्धि’ प्रदर्शनको स्वामित्व ग्रहणमा हिचकिचाएका छन् । कसैले नसल्काई पुस्तकालय कसरी खरानी हुनपुग्यो त भन्ने यक्ष प्रश्नमा उनीहरूको दक्ष तर्क छ– ‘राम्रा–राम्रा छात्राहरूमाथि प्रेमाधिकार खोज्ने हरकतहरूको मति देखेर अतिशय लज्जित पुस्तकालय स्वयंले आत्मदाह गरेको पनि त हुन सक्छ नि !’

यी हाम्रा होनहारहरूको तर्क जतिसुकै दक्ष भए पनि तिनको कर्म देखेर समाज भने तीन होइन ६ छक्कमा छ । ‘पुस्तक जलाउने पनि कहीँ विद्यार्थी हुन्छन् ?’ सबैको मुखमा यही प्रश्न छ । यद्यपि, ‘एक विद्या, चौध चतु¥याइँ’ नीतिमा विश्वास गर्ने पनि यही समाज हो । यो कोणबाट हेर्दा खुकुरी हान्ने र पुस्तकालय बाल्नेहरू विद्यार्थी, अझ त्यसमाथि नेता भएको कुरा बिर्सेर ल्याउन मिल्दैन भन्नुस् !

उनीहरूले दूरमा कुनै सितारा नदेखी पुस्तकालयलाई दावानल बनाएनन् होला भनेर नसोच्नु हुस्सुपन पनि हुन सक्छ । इन्टरनेट र आइफोनको उत्तरआधुनिक जमानामा युवा विद्यार्थीलाई फेसबुक, ट्वीटर, इन्स्टाग्राम आदिमा रम्न नदिई थोत्रा पुस्तकमा पुरातन अवस्थामै अल्झाइराख्ने बुर्जुवा प्रपञ्च विरुद्ध त्यो एउटो सुविचारित विद्रोह हुनसक्ने कुरालाई कसरी नजरअन्दाज गर्न मिल्ला र !

समाजमा विद्यमान असमानता र क्लेशको मूलजरो शिक्षा नै हो भन्ने महत्वपूर्ण तथ्यलाई विचारीहरूले बिर्सन मिल्दैन । पढेर चतुरे भई जब मान्छे पण्डित, डाक्टर, इन्जिनियर, मास्टर, फरेस्टर, विल्डर, कलेक्टर, मिनिस्टर आदि बन्न थाले, समाज बहुवर्गीय हुनपुग्यो । ‘जति भाँडो उति चुबुर्को’ भन्ने आहानलाई चरितार्थ गर्दै बहुवर्गको स्वार्थ परस्परमा ठक्कर खाँदा समाज असन्तोषले भरियो । अक्कली विद्यार्थी नेताहरूले ‘न रहे बाँस, न बजे बाँसुरी’ भन्दै पुस्तकालय सल्काएर सक्कली सृजनशीलता प्रस्तुत गरेका हुन सक्छन् !

आदिम समाज साम्यवादी थियो । क्रमिक विकासको सिद्धान्त मान्ने हो भने सामन्ती युगमा प्रवेशको दौरान आदिम समाजवाद बीचमा कतै छुटेको हुनुपर्छ । नयाँ नेपालमा क्रमभङ्गता र छलाङ्गवादीहरूको नडिया दशा हेर्दा पाषाणयुगीन बबुराहरूले सानो गल्छेंडो पनि फड्किए होलान् भन्ने लाग्दैन ! माउ पार्टीहरूको लैबरी पाराले समाजवाद सुँघ्न पनि नपाइएला भन्ने आशङ्कामा औंताएर विद्यार्थीले सहजै पुग्न सकिने आदिम समाजवादतर्फको विलोम यात्रा शुरू गरेका पनि हुन सक्छन् । गन्तव्य बदलिए’सी साधन बदलिन्छ नै । विद्यार्थीले प्रजातान्त्रिक समाजवाद र बहुदलीय जनवादको बयलगाडा छाडेर बहुडनीय समाजवादरूपी सुपरकार चढेको भन्नुस् !

अब हाम्रा विद्यार्थी सङ्गठनले बन्दूक, बम, तोप लगायतका शस्त्रले सज्जित भएर पढ्न जाने चाँजो मिलाउलान् । त्यति गरे भने उनीहरू बन्दूकले मास्टर थर्काउन अनि बमले विद्यालय र तोपले विश्वविद्यालय उडाउन सफल हुनेछन् । पुस्तकालय दहनबाट शुरू गरिएको यो अनुष्ठानले शीघ्र गन्तव्य भेटोस्, बहुडनीय समाजवादीहरूको विलोम यात्राले सफलताको पताका फहराओस् !

‘हिमाल’ साप्ताहिक खबरपत्रिका, १५ साउन २०७१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x