साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिनीबिनाको चिया

Nepal Telecom ad

उनको न्वारानको नाम हो हुतिराम । घर प¥यो पारी टाँडेगाउँ । कतिले उनलाई हुतिटाँडे र कतिले उनलाई कुतिटाँडे पनि भन्छन् । जे होस् उनी हुतिराम नै हुन् । मोफसलका मान्छे, बालीनालीको फसलबाहेक आयआर्जनको पसल नदेख्या । हुतिराम भावुक प्रकृतिका मान्छे । पढाइलेखाइ सामान्य भए पनि कहिलेकाँही राम्रै रचना गर्थे । प्रकाशनको पत्तो नपाएर उनका कति रचनामा साङ्लाले पाइखाना बनाए त कतिमा मुसाले प्रसूतीगृहको सेवा भोग गरे । केही रचना सहरियाहरूले सोहोरसाहार पारेर सहरतिरै लगेर आफ्नै नाममा छपाए । गर्नेभन्दा गराउने ठूलो भन्दै हुतिराम आफ्ना रचना अर्कैका नाममा छापिएको देखेर दङ्ग परे ।

‘साहित्यको उर्वर भूमि हो’ भन्दै अस्ति सहरियाहरू आएर टाँडेटोलमा कविगोष्ठी गरे । उत्कृष्ट हुनेलाई पुरस्कारसहित सम्मान गर्ने घोषणा गरे । सयौँ सिकारुदेखि तिखारु कविहरूले कविता सुनाए । हुतिरामको पनि पालो आयो । इष्टकोटका पाकेटबाट कविता निकालेपछि भर्खरै देउता आउन लाग्या झाँक्रीझँै उनी लुग्लुगाए । सुरुवाल थोरबहुत सिञ्चित भए पनि हुतिरामले हार नखाई कविता पूरै सुनाए । उता छनोट समितिमा छवे सर पर्नाले हिम्मतसाथ हुतिरामकै नाउँ छानेछन् ।

दुई सातापछि तारे काकाकाँ सहरबाट तारखबर आएछ । खबरको खुसी खप्न नसकी हुतिराम हर्षले नाच्नै लाग्याथे, तर छँटाएछ भन्लान् भन्ने डरले मन थामे । दौडँदै आफ्नै जाहानलाई पुरस्कार थाप्न जाने कुरा सुनाए । बिचरी ! खिनमायाँको मुख हर्कले आँको आँ भयो । उनले आफ्नै लोग्नेलाई अनौठो मान्दै ट्वाँ परेर हेरिरहिन् । उनका आँखा रसाए । छेउ पर्नै लजाउने उनी छिनमै हुतिरामका कुममा टाउको राखेर हुँकहुँकाइन् । हुतिरामले जोसिँदै भने– ए रातै मोफसलमा पनि अब पुरस्कारको फसल पाक्यो । खिनमायाँको टाउको सुम्सुम्याउँदै— ट्याम्के कि आमा ! अब हाम्रा दुःखका दिन गए । तैँले अब यो कुममा फाट्या चोली टालीटाली लाउनु पर्दैन । हामी जोईपोइ नै जाने पुरस्कार लिन स’राँ पनि भने । पुरस्कार पाउने दिन जति नजिकिँदै गयो उति नै खिनमायाँको चुरीफुरी सोह्रश्राद्धका पुरेतझँै भयो । हुतिराम निक्कै गम्केर हिँड्न थाले । पहिला तर्केर हिँड्ने खैराँते साहुले पनि ऋण एक वचनमा खुरुक्क पत्याए । एकअर्काको बोलीचाली र व्यवहारमा व्यापक परिवर्तन आयो ।

पुरस्कार थाप्न उनीहरू दुवै जना सहर गए । सानदार हलमा अरूहरूसँगै सामेल भए खिनमायाँ र हुतिराम । हलभरि टन्न मान्छे झिलीमिली बत्ती, गीतगजलको मधुर आवाज, आयोजकको चहलपहल । फूलमाला र दोसल्लाले छोपिनै लाग्या थिए हुतिराम । उद्घोषकले ताम्रपत्र वाचन गरे, प्रमुख अतिथिले हस्तान्तरण गरे । तालीको गड्गडाहट चल्यो । खिनमायाले पनि जोडले थपडी बजाइन् । रासीको पुटुस्स परेको थैली थाप्दा उनीभन्दा उनकी श्रीमती खुसी देखिन्थिन् । कार्यव्रmम सफलतासाथ समाप्त भयो । बाहिर निस्कँदा खिनाले खुसुक्क भनिन्– बुढा, पैसाचाहिँ अहिलै हेरौँ न ? हुतिरामले खिनालाई घरमै पुगेर दङ्ग पार्ने विचारले थुम्थुम्याए । घर पुगी खोपाको कुप्पीपट्टि फर्किएर खिनालाई सुर्इंकै नदिई सुटुक्क हुतिरामले थैली खोले, थैलीभित्र खाम, खामभित्र खाम, खामभित्र खाम… हुतिरामको हृदयको गति जाम हुनै लाग्याथ्यो, खिनाले खुसी हुँदै भनिन् बुढा ? यो ताम्रापत्रचाहिँ कहाँ झुन्ड्याउनु हँ ? झ्वाँकिएर त्यो तेरा नाकमा झुन्ड्या, भनाँैझै हुतिरामलाई भाथ्यो, तर मुसाको रिस भ्यागुतालाई के पोख्नु भनेर उनले भनिदिए– ऊ त्यही हल्लुँडो झुन्ड्याउने सिँगौरामा झुन्ड्या ।

हुतिराम मेरा मन मिल्ने मित्र, आँखाभरि हर्शका आँशु बर्साउँदै विवरण बताएँ । म परेँ कवि मनको कमलो मान्छे, कताकताबाट कविता फुर्यो—
आएश्री कविजी पुरस्कृत भई, खामै मजाको थियो
यसका साथ प्रमाणपत्र बढिया रङ्गीन छापा थियो ।
दोसल्ला पनि किन्तु जब यो, खामै खुलाई लिया
रित्तो खाम रहेछ, मानु मुखमा चिनी बिनाको चिया ।

तेह्रथुम, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
0
Would love your thoughts, please comment.x
()
x