विश्व शाक्यगाईजात्राय शुभमस्तु
अहिले गाईजात्राको चटारो छ । जतासुकै गाईजात्रा मनाइँदै छ । नेपालीहरू तन फुकाएर गाईजात्रा मनाउँछन् । मन फुकाएर गाईजात्रा मनाउँछन् । मानौँ गाईजात्रा नेपालीहरूको राष्ट्रिय पर्व हो । नेपालीहरूको गौरवमय परम्परा र संस्कृति हो ।
एकपटक पङ्क्तिकारको काव्यकृति ‘यमराजको निम्तो’ को परिचर्चा कार्यक्रममा पोखराका एक कविवरले भनेका थिए– विश्व शाक्यका काव्यकृति गाईजात्राबाट प्रभावित गाईजात्रे छन् भनेर । त्यसबेला पङ्क्तिकारले स्वीकारोक्ति दिएको थियो । नदिऊँ पनि किन ? साहित्य, संस्कृति र कला भनेका त्यो देश, समाज र वस्तीको प्रतिविम्ब हो । कला, साहित्य र संस्कृति भनेको समाजकै देन हो । सामाजिक रहनसहनलाई अछुतो राखेर त्यस देश वा समाजको साहित्य, कला, संस्कृतिको निर्माण हुनै सक्दैन । यस अर्थमा कविवरले भनेका उपर्युक्त भनाइ साश्वत थिए । सर्वमान्य थिए । सर्वस्वीकार्य थिए ।
हाम्रो देशमा वर्षको एकदुई दिन मात्र होइन सधैंको गाईजात्रा छ । हाम्रो धर्म गाईजात्रे छ । हाम्रो संस्कार गाईजात्रे छ । हाम्रो संस्कृति गाईजात्रे छ । हाम्रा परम्परा, मूल्य र मान्यताहरू नै गाईजात्रे छन् । हाम्रा सोच–सिद्धान्तहरू गाईजात्रे छन् । नियम–कानुनहरू गाईजात्रे छन् । त्यसलाई निर्वाह गर्ने परम्परा गाईजात्रे छन् । के मात्र गाईजात्रे छैन ? यस्तो परिवेशमा जन्मेका एकजना लेखकको काव्य–रचना गाईजात्रे नभए अरू के आशा गर्न सकिन्छ ? गुरुले त ठीक भनेका हुन् । त्यसै भएर गुरुहरू गुरुका रूपमा पूज्य छन् । तर एउटा कुरा यस्ता गाईजात्रे मूल्य र मान्यताले अधिकतम प्रस्रय पाएको देश, समाज र वस्तीमा ठुल्ठूला आदर्श र विद्वताको दर्शन छाँट्नु त्यो पनि त गाईजात्रे नै त हुन्छ होला नि ! यो गाईजात्रे मुलुक र परिवेशमा ती पूर्वीय र शास्त्रीय मूल्य र मान्यताका आदर्शलाई कसले सुनून्, कसले मानून् ? सुनेका र मानेका भए आज पूर्वीय धर्म, दर्शन र संस्कृतिको यो गाईजात्रे हाल हुने थिएन । तर भनेर के गर्ने ? गाईजात्रे भन्न जति सजिलो छ, गाईजात्रे भएको थाहा पाउन उत्तिकै गाह्रो छ ।
अब गाईजात्रेको पनि एउटा हद् हुन्छ नि । सँगसँगै बसेर काम गरेको, उठेको, बसेको, जाँडपानी खाएको पनि ३०/४० वर्ष भइसक्यो ‘लौ अब तपाइँको सम्मान गर्नुपर्यो, तपाइँको परिचय उपलब्ध गराइदिनुहोस् त !’ भन्छ । यो गाईजात्रे नभए के हो ? सम्मान गर्नका लागि ३०/४० वर्ष सँगै उठबस गरेकालाई त परिचय माग्न पर्छ, त्यस्ता गाईजात्रे छन् यहाँका सम्मान दिलाउनेहरू भने ती नामै नसुनेका, नदेखेका, नचिनेकाहरू जो आफ्नो श्रम, सीप, कला साधनामा लगाइरहेका छन् तिनले कहिले सम्मान, पुरस्कार पाउने हुन् र आफ्नो श्रम–सीपको मूल्य पाउने हुन् ? के यो कम गाईजात्रा हो ? अब पाठकहरूको मनमा एउटा प्रश्न उब्जन सक्छ— त्यसो भने यो दिनहुँजसो पाइरहने, दिइरहने मान–सम्मान के हुन् त नि भन्ने । ती त ‘अपना अपना तकदिरका खेल है’ । जसका भाइभारदार सम्मान दिलाउने ठाउँमा हुन्छन् तिनले मान–सम्मान पाउँछन्, सिम्पल ।
अब अर्को गाईजात्राको नमुना हेरौँ । कुनै जमानामा हाम्रो देश कृषिप्रधान देश थियो । ४०/५० प्रतिशत भूभाग जङ्गलले ढाकिएको थियो । त्यसैले ‘हरियो वन नेपालको धन’ भनिन्थ्यो । अहिले जङ्गल त छैन तर देशको ८० प्रतिशत भूभाग जङ्गलकाले ढाकिसके भन्छन् । त्यो पनि हो होइन थाहा छैन । पहिला देशका लागि कुर्वानी गर्ने चार जनालाई देशले सहिद माने र राष्ट्रिय सम्मानका साथ सहिद घोषणा गरे । ती सहिदहरूले बरू ज्यान गुमाउन तयार भए तर देश र जनताका गद्दारीसामु हात जोडेनन् । शिर निहुराएनन् । तर आज हेरूँ त यो देशमा सहिद त कति कति ! कृषिप्रधान देशमा कृषि–सृषिले हावा खायो । अब त सहिदप्रधान देश पो हुन लागिसकेको छ । बाँसको घारीमा गए बाँसको घारीमा सहिद । चियाबारीमा गए चियाबारीमा सहिद । विद्यालय परिसरमा हेरे त्यहीँ सहिद । हाटबजारमा हेरे त्यहीँ सहिद । गाईगोठमा हेरे गाईगोठमा, भेँडागोठमा हेरे भेँडागोठमा सहिद । सरकार पक्ष र जङ्गल पक्षले लगेर बनाएका सहिद त कति कति । यी त मरेर गएका सहिदहरू मात्र हुन् । जिउँदा सहिदहरू त अझ कति छन् छन् । तिनको कसले लेखाजोखा गरेका छन् र ? यसो भएपछि यो देश सहिदप्रधान देश भन्नु परेन ?
अब त हुँदाहुँदा जन्मनासाथ सहिद बनाउने पनि निस्के । धेरै त गर्भमै सहिद हुने पनि भैसके । पोखरेलीहरू पोखरालाई केके जाति राजधानी बनाउनुपर्छ भन्छन् । पङ्क्तिकारले भनेर हुने भए यो पवित्र गाईजात्राको अवसरमा एउटा सार्वजनिक माग राख्न चाहन्छ । नेपाललाई अब ‘सहिदै सहिदको देश’ भनेर घोषणा गर्नुपर्छ र विश्वसामु चिनाउनुपर्छ । यसो भएपछि सहिद हुन र बनाउन चाहने विश्वभरिका मान्छे नेपालमा आउने छन् र यहाँको पर्यटन व्यवसायलाई दिन दुगुना रात चौगुना गर्नमा मद्दत पुर्याउने छन् । धरासायी बनेको पर्यटन व्यवसायले फेरि फस्टाउने मौका पाउने छ । हुन सक्यो भने यो पनि कम गाईजात्रे त हुने थिएन । लौ त गाईजात्रे शुभमस्तु !
पोखरा
Subscribe
Login
0 Comments
Oldest








































