साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईजात्राय शुभमस्तु

Nepal Telecom ad

अहिले गाईजात्राको चटारो छ । जतासुकै गाईजात्रा मनाइँदै छ । नेपालीहरू तन फुकाएर गाईजात्रा मनाउँछन् । मन फुकाएर गाईजात्रा मनाउँछन् । मानौँ गाईजात्रा नेपालीहरूको राष्ट्रिय पर्व हो । नेपालीहरूको गौरवमय परम्परा र संस्कृति हो ।

एकपटक पङ्क्तिकारको काव्यकृति ‘यमराजको निम्तो’ को परिचर्चा कार्यक्रममा पोखराका एक कविवरले भनेका थिए– विश्व शाक्यका काव्यकृति गाईजात्राबाट प्रभावित गाईजात्रे छन् भनेर । त्यसबेला पङ्क्तिकारले स्वीकारोक्ति दिएको थियो । नदिऊँ पनि किन ? साहित्य, संस्कृति र कला भनेका त्यो देश, समाज र वस्तीको प्रतिविम्ब हो । कला, साहित्य र संस्कृति भनेको समाजकै देन हो । सामाजिक रहनसहनलाई अछुतो राखेर त्यस देश वा समाजको साहित्य, कला, संस्कृतिको निर्माण हुनै सक्दैन । यस अर्थमा कविवरले भनेका उपर्युक्त भनाइ साश्वत थिए । सर्वमान्य थिए । सर्वस्वीकार्य थिए ।

हाम्रो देशमा वर्षको एकदुई दिन मात्र होइन सधैंको गाईजात्रा छ । हाम्रो धर्म गाईजात्रे छ । हाम्रो संस्कार गाईजात्रे छ । हाम्रो संस्कृति गाईजात्रे छ । हाम्रा परम्परा, मूल्य र मान्यताहरू नै गाईजात्रे छन् । हाम्रा सोच–सिद्धान्तहरू गाईजात्रे छन् । नियम–कानुनहरू गाईजात्रे छन् । त्यसलाई निर्वाह गर्ने परम्परा गाईजात्रे छन् । के मात्र गाईजात्रे छैन ? यस्तो परिवेशमा जन्मेका एकजना लेखकको काव्य–रचना गाईजात्रे नभए अरू के आशा गर्न सकिन्छ ? गुरुले त ठीक भनेका हुन् । त्यसै भएर गुरुहरू गुरुका रूपमा पूज्य छन् । तर एउटा कुरा यस्ता गाईजात्रे मूल्य र मान्यताले अधिकतम प्रस्रय पाएको देश, समाज र वस्तीमा ठुल्ठूला आदर्श र विद्वताको दर्शन छाँट्नु त्यो पनि त गाईजात्रे नै त हुन्छ होला नि ! यो गाईजात्रे मुलुक र परिवेशमा ती पूर्वीय र शास्त्रीय मूल्य र मान्यताका आदर्शलाई कसले सुनून्, कसले मानून् ? सुनेका र मानेका भए आज पूर्वीय धर्म, दर्शन र संस्कृतिको यो गाईजात्रे हाल हुने थिएन । तर भनेर के गर्ने ? गाईजात्रे भन्न जति सजिलो छ, गाईजात्रे भएको थाहा पाउन उत्तिकै गाह्रो छ ।

अब गाईजात्रेको पनि एउटा हद् हुन्छ नि । सँगसँगै बसेर काम गरेको, उठेको, बसेको, जाँडपानी खाएको पनि ३०/४० वर्ष भइसक्यो ‘लौ अब तपाइँको सम्मान गर्नुपर्यो, तपाइँको परिचय उपलब्ध गराइदिनुहोस् त !’ भन्छ । यो गाईजात्रे नभए के हो ? सम्मान गर्नका लागि ३०/४० वर्ष सँगै उठबस गरेकालाई त परिचय माग्न पर्छ, त्यस्ता गाईजात्रे छन् यहाँका सम्मान दिलाउनेहरू भने ती नामै नसुनेका, नदेखेका, नचिनेकाहरू जो आफ्नो श्रम, सीप, कला साधनामा लगाइरहेका छन् तिनले कहिले सम्मान, पुरस्कार पाउने हुन् र आफ्नो श्रम–सीपको मूल्य पाउने हुन् ? के यो कम गाईजात्रा हो ? अब पाठकहरूको मनमा एउटा प्रश्न उब्जन सक्छ— त्यसो भने यो दिनहुँजसो पाइरहने, दिइरहने मान–सम्मान के हुन् त नि भन्ने । ती त ‘अपना अपना तकदिरका खेल है’ । जसका भाइभारदार सम्मान दिलाउने ठाउँमा हुन्छन् तिनले मान–सम्मान पाउँछन्, सिम्पल ।

अब अर्को गाईजात्राको नमुना हेरौँ । कुनै जमानामा हाम्रो देश कृषिप्रधान देश थियो । ४०/५० प्रतिशत भूभाग जङ्गलले ढाकिएको थियो । त्यसैले ‘हरियो वन नेपालको धन’ भनिन्थ्यो । अहिले जङ्गल त छैन तर देशको ८० प्रतिशत भूभाग जङ्गलकाले ढाकिसके भन्छन् । त्यो पनि हो होइन थाहा छैन । पहिला देशका लागि कुर्वानी गर्ने चार जनालाई देशले सहिद माने र राष्ट्रिय सम्मानका साथ सहिद घोषणा गरे । ती सहिदहरूले बरू ज्यान गुमाउन तयार भए तर देश र जनताका गद्दारीसामु हात जोडेनन् । शिर निहुराएनन् । तर आज हेरूँ त यो देशमा सहिद त कति कति ! कृषिप्रधान देशमा कृषि–सृषिले हावा खायो । अब त सहिदप्रधान देश पो हुन लागिसकेको छ । बाँसको घारीमा गए बाँसको घारीमा सहिद । चियाबारीमा गए चियाबारीमा सहिद । विद्यालय परिसरमा हेरे त्यहीँ सहिद । हाटबजारमा हेरे त्यहीँ सहिद । गाईगोठमा हेरे गाईगोठमा, भेँडागोठमा हेरे भेँडागोठमा सहिद । सरकार पक्ष र जङ्गल पक्षले लगेर बनाएका सहिद त कति कति । यी त मरेर गएका सहिदहरू मात्र हुन् । जिउँदा सहिदहरू त अझ कति छन् छन् । तिनको कसले लेखाजोखा गरेका छन् र ? यसो भएपछि यो देश सहिदप्रधान देश भन्नु परेन ?

अब त हुँदाहुँदा जन्मनासाथ सहिद बनाउने पनि निस्के । धेरै त गर्भमै सहिद हुने पनि भैसके । पोखरेलीहरू पोखरालाई केके जाति राजधानी बनाउनुपर्छ भन्छन् । पङ्क्तिकारले भनेर हुने भए यो पवित्र गाईजात्राको अवसरमा एउटा सार्वजनिक माग राख्न चाहन्छ । नेपाललाई अब ‘सहिदै सहिदको देश’ भनेर घोषणा गर्नुपर्छ र विश्वसामु चिनाउनुपर्छ । यसो भएपछि सहिद हुन र बनाउन चाहने विश्वभरिका मान्छे नेपालमा आउने छन् र यहाँको पर्यटन व्यवसायलाई दिन दुगुना रात चौगुना गर्नमा मद्दत पुर्याउने छन् । धरासायी बनेको पर्यटन व्यवसायले फेरि फस्टाउने मौका पाउने छ । हुन सक्यो भने यो पनि कम गाईजात्रे त हुने थिएन । लौ त गाईजात्रे शुभमस्तु !

पोखरा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
0
Would love your thoughts, please comment.x
()
x