साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकपटक त कल्याण गर प्रभु !

Nepal Telecom ad

“हरियो वन नेपालको धन” र “जलस्रोतको धनी देश” भनेर चार कक्षामा मिसले पढाएको अझै धमिलो–धमिलो सम्झन्छु । त्यतिखेर मिसले मलाई सही पढाउनुभयो कि गल्ती पढाउनुभयो मैले अहिलेसम्म मेसो पाएको छैन । मेरा परममित्र पिलन्धरप्रसादले “भन्न मिल्ने चिज अरु नभएर कृषिप्रधान भनेको हो” भन्दाखेरि उतिबेला मैले प्रतिवाद गरेको थिएँ । आज हाम्रो देशका नेताहरूले जस्तै दोस्रो जिब्रो निकाल्न मन लागिरहेछ किन कि आजभोलि बल्ल साथीको सोचाई ठिकै त रहेछ भन्ने लागेको छ ।
हरियो वन पनि तिनै वन–तस्करहरूका लागि मात्र धन साबित भयो । नेपालको लागि धन साबित हुन सकेको आजसम्म देख्दिन । रह्यो कुरा जलस्रोतको । हो, मलाई थाहा छ, नेपालमा थुप्रै नदी–नालाहरू छन् । तर भएर के गर्ने ? बगेको हेरेर चित्त बुझाउने ? आफूलाई यहाँ मिनरल वाटर किनेर खानु परिरा’छ । फेरि पिलन्धरप्रसादले भनेको सम्झिएँ । बुद्धि छ भने अहिले मिनरल वाटरको कम्पनी खोल्नु रे ! सबैभन्दा फस्टाएको व्यापार हो रे । कि त चाउचाउ उत्पादन गर्ने, कि त मिनरल वाटर उत्पादन गर्ने । त्यसमा पनि मिनरल वाटर अझ राम्रो किनभने चाउचाउमा जस्तो उपहार पनि राख्नु नपर्ने । खोलाको पानी भरेर स्क्रयाच अफर राखिदिए त झन् अन्य राम्रा कम्पनीहरू भन्दा एक कदम अगाडि । मेरो साथी ढुक्क छ । हिँजै मात्र उसको नयाँ मिनरल वाटर कम्पनी “मेलम्ची मिनरल्स” को जलस्रोत मन्त्रीद्वारा उद्घाटन भएको छ । काठमाडौँको सडकैभरी मेलम्ची बगाउने भनेर सुन्धारादेखि जमलसम्म त्यत्रा आकाशेपुल बनाएको कामै लागेन भनेर कुनचाहिँ हो हास्य कार्यव्रmममा हँसाएको सम्झेर मलाई आज फेरि हाँस्न मन लाग्यो ।
हामी नेपालीलाई अरूले दिएको सहयोग नपचेको त होला नि ! नत्र स्याम्म पार्न पाइएन भनेर आफू–आफूमै लडेर त्यत्रो प्रोजेक्ट झ्याम्म हुने हो त ? हेर लाजको बेइज्जत ! अब त झन् गर्मी पनि लागिसक्यो । मलाई थाहा छ, म डेरागरी बस्ने घरमा दश पन्ध्र दिनसम्म पानी आउँदैन । हे भगवान् ! यो गर्मीभरि मेरो डेरामा घरतिरबाट कोही पाहुना नआउन् प्रभो ! अरु त के नै पो भन्न सकिन्छ र ?
पोहोरसाल अफिसको मिटिङमा सबैले मेरो खुट्टातिर हेर्दै माथिल्लो ओँठले नाक छोप्दै गरेको मलाई अझै याद छ । यसपाली त दश रुपैयाँ जोर पाउपोस किनेर दिनदिनै फेर्ने बिचार गरेको छु । हेर्नुस् त हरिविजोग ! सब पानीकै करामत हो । अझ त्यतिमात्र कहाँ हो र ? ढुङ्गेधारामा जानुभा’छ ? सुक्न बाँकी भएका ढुङ्गेधाराहरूमा गाग्री, बाल्टिनहरूको ताँती देखेर तपाइँ आफै भन्न थाल्नुहुनेछ– वाह रे ! जलस्रोतको धनी देश ।
एउटा कुरा तपाइँलाई खुसुक्क भन्छु हल्ला नगर्नुहोला है ! मेरो डेराको छेवैमा एकजना कुन्नि के मन्त्रीको घर छ । दिनदिनै पानी ‘ओभर फ्लो’ भएर ट्याङ्कीबाट बाहिर निस्किरहेको हुन्छ । ढाँटेको हैन नि ! कसम । हुन त तिनीहरू ठूलाबडा मान्छे परे । हामी भनेको भेँडे जनता । जसले जे भने पनि, जसले जे गरे पनि सहेर चुपचाप बस्न सक्ने जनार्दन । हुन त झुक्किएर उनीहरूको धारामा दिनदिनै पानी आएको पनि त हुन सक्छ नि । म पनि खत्तम छु भन्या । बेकारमा बिचरा सोझा भ्रष्टहरूलाई गाली गरेको ।
नेपाल त जलस्रोतको धनी देश । विद्युत उत्पादन गरेर करोडौँ आर्जन गर्न सक्छ भन्छन् भन्नेहरू । हेर त हालत ! राजधानीमा समेत लोडसेडिङ । त्यो पनि देशको विकासजस्तै दिनप्रतिदिन बढ्दै जाने । लाजको बेइज्जत । हैन, त्यत्रा हाइड्रोपावरहरू बनिरहेका छन् । सञ्चालन भैरहेका छन् । के गर्छन् तिनीहरूले ? जति नयाँ हाइड्रोपावरहरू बन्दै जान्छन् उति लोडसेडिङ थपिँदै जान्छ । आखिर किन ? पानी पुगेन रे । जलस्रोतको धनी देश भन्या हैन ? प्रोजेक्ट सुरु गर्नुभन्दा अगाडि सर्भे गर्या होइन ? बाह्रै महिना पानी पुग्छ भनेर त्यही अनुसार टर्वाइन हाल्या होइन ? हेर त अहिले ! धेरैजसो टर्वाइन चालु छैन रे । भुत्रो गर्न बनाएको त त्यति ठूलो ? अझै भएन भनेर हाइड्रो पावर भएको जिल्लै अँध्यारो । बत्तिमुनि अँध्यारो भनेर बुढापाकाले ठीकै भनेका रहेछन् । हेर त ! बिजुली बेचेर खानपुग्ने देश, बिजुली किन्न पनि पाउँदैन । “सतिले सरापेको देश” भन्थे बुढापाकाहरू, शङ्कै लाग्छ । जलस्रोतको धनी देश भनेर मक्ख पर्नु सिवाय अरु केही भएन । न त पिउने पानी छ । न त बिजुली बत्ति छ । न त सिँचाई छ । केही छैन । खालि हरिविजोग छ ।
हे भगवान् ! हे पशुपतिनाथ ! जादु भैदियोस् । सडकैभरि मेलम्ची बगोस् । बरु हामी पुल तर्न तयार छौँ । काठमाडौँको फोहोर पनि बगोस् । दुई–चार दिन पीर पर्ला, बिस्तारै चित्त बुझाउँला । बिजुली बत्तिले देशै झलमल्ल होस् । लोडसेडिङ हटोस् । बरु बानी पार्न शुरु शुरुमा दिनको दुई–चार घण्टा आफैँले मेन स्विच अफ गरौँला । धारा–धारामा हावा आउन छाडोस् । बातावरण प्रदूषित भयो भनेर पानीको धारामा शुद्ध हावा सप्लाई गर्न थालेको भए पनि हामीलाई केही छैन । बरु अशुद्ध हावा नै लिन तयार छौँ । तर प्रभो ! धारामा अरु केही नआओस् । शुद्ध तरल पानी मात्रै आओस् । हजुरलाई बाग्मतीको पानी चढाउँदिन प्रभो ! त्यहीँ धाराकै पानीले नुहाइदिउँला । कुन दिन हजुरलाई लुतो आउला कि भन्ने पीर पनि छ मलाई । हामी सबैको कल्यान् गर्नुहोस् प्रभो ! एकचोटी त कल्याण गर्नुहोस् । अस्तुः
पोखराथोक–१, पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लुटको खेती

लुटको खेती

अनिल कोइराला
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
0
Would love your thoughts, please comment.x
()
x