हरि खनालविदेश
तपाईंंको छोरो कुन देशमा छ हँ ? जुन साथी भेटे पनि सोधिने साझा प्रश्न हुन थाल्यो । सुरुसुरुमा त स्वदेशमा नै छ भनेको थिएँ । एक दिन त आफ्नै शुभचिन्तक साथीले प्याच्च भनिदिए, तिमी त सकिएछौ नि । हँ के सकिएछ मेरो ? म त ओइलानपतान भएँ । निधारबाट खलखली पसिना छुट्न थाल्यो ।
यो जमानामा पनि छोराछोरीलाई स्वदेशमा राख्ने ? कसका लागि राखेको ? उनी चिच्याए ।
हैन देशमै बसेर यहीँको सेवा गर्न हुन्न भन्या ? मैले प्रतिउत्तर दिएँ ।
देशको सेवा ? हा हा हा… । यो देशको सेवा त तिम्रा हाम्राजस्ता सन्तानले गर्नै सक्दैनन् । त्यति कुराको पनि जानकारी छैन, मलाई लोप्पा खुवाउँदै बोले साथी । मैले कारण खोतलें ।
“तिम्रो छोरोलाई पाकेट मार्न आउँछ ? तिम्रो छोरोलाई कम्फु कराँते खेलेर लम्फु समूहसँग डम्पूm बजाउँदै हिँड्ने कला आउँछ ? तिम्रो छोराछोरीसँग जनतालाई भाषण खुवाएर देशको ढुकुटीलाई सुकुटी बनाएर खाने सीप छ ? तिम्रो छोरालाई अरूको श्रम लुटेर खान आउँछ ? आपूm केही नगर्ने अरूकोमा आँखा गाडेर शोषक सामन्त भन्दै हडप्न आउँछ ?” एक दर्जन भन्दा बढी प्रश्न सोधे मेरा मित्रले ।
म केहीबेर उनको प्रश्नले रन्थनाएँ । अलमल्ल गोत्रमा परेको देखेपछि उनी केही नरम भए र स्नेहपूर्वक मेरो निधारको पसिना पुछिदिँदै भने– “किन आत्तिएको ?”
केहीबेर मेरो मन उडेर आप्mना छक्का न पञ्जाका सन्तानतिर पुग्यो । मित्रका कुरा पनि नाजायज थिएनन् । साँझपख घरमा पुगेपछि उनले गरेका प्रश्नहरूले झन बेसरी हिर्काउन थाले । मैले मेरो भनेको देश कहाँ छ एकपटक अनुमान गर्न खोजें । खण्डीकरणको खाकाभित्र मैले मेरो घरको चित्र देखिनँ । पसिनाले सिञ्चन गरेर झुल्ने धानका बालामा सलहहरूको झुण्ड देखें । बाटोमा मुन्द्रे मुशलेको कब्जा, पाटोमा आबाराहरूको झण्डा, झोलामा खोला, घरमा अँध्यारो, रित्तिएको पँधेरो आँखा वरिपरि घुम्न थाल्यो । खै कहाँ गर्छन् देशको सेवा ? मैले पनि ठाउँ भेट्टाउन सकिनँ । छोराले कुनै चर्तिकला अहिलेसम्म गरेको छ कि छैन हँ सोधखोजको विषय भयो ।
“ए बूढी हाम्रो सुपुत्रले अहिलेसम्म तेरो पर्समा सर्च गरेको छ कि छैन ?”
“छैन ।”
“अहिलेसम्म मेरो खल्तीमा आँखा गाडेर चल्तीको काम गरेको छ कि छैन ?”
“छैन ।”
“अहिलेसम्म घरको कुनै किमती चिज बाहिर लगेर बेची खाएको छ कि छैन ?”
“छैन ।”
“अहिलेसम्म कुनै चुल्ठेमुन्द्रेसँग मिलेर त्यो तान्न नहुने भनिएको पदार्थ तानेको छ कि छैन ?”
“छैन ।”
“यसले अहिलेसम्म कसैलाई हानमार गरेको रिकर्ड आएको छ कि छैन ?”
“छैन ।”
“केही पनि छैन भने के चाहिँ छ त ?”
“परीक्षामा ९० प्रतिशत ल्याएको छ ।”
“ल्याएर के भो त ? ५० प्रतिशत ल्याएकाले मेडिकल पढ्न पाउँछ र डाक्टर बन्छ, यो हदै भए सुको तलब नदिएर बोइलर कुखुरा उत्पादन गराउने निजी विद्यालयको मास्टर बन्छ । लौ यसलाई विदेशतिर पठाइहाल्नु प¥यो ।”
“हैन आज के भन्छन् यी बूढा ?”
“के भन्ने नि, देशअनुसारको भेष, कपालगुनाको केश हुन्छ भन्ने थाहा छैन ? यस्तो हानमारको देशमा यस्तो ग्वाँचप्रसादको के काम ? लौ भोलिदेखि नै यसलाई टोफेल गर्न पठाइ दे । यसको काम नेपालमा छैन ।” म चिच्याएँ । बूढी छक्क परेर हेरिरही ।
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































