जीवन ‘पीडित’ दाहालकर
‘मेरा घरजग्गाको कर निर्धारण गरिदिनुस् र कर फुकुवापत्र पनि बनाइदिनुस् न बहिनी ! मलाई साह्रै हतार भो, साढे तिन बजेपछि मालपोतमा भएको बैंकको काउण्टर बन्द गरिदिन्छन् अनि हजार पाँचसय नदिए भौचर नै बुझिदिँदैनन् ।’– घरजग्गाको कर निर्धारण गर्न पुगेकी सेवाग्राही महिलाले कर्मचारी महिलालाई अनुरोध गरिन् काठमाडौँ महानगरपालिकाको ३१ वडा कार्यालयमा ।
‘तपाईको कर निर्धारण त भैसकेको छ त, ३ वर्ष भएछ तपाईंले कर नतिर्नु भएको त्यसैले ३ वर्षको रु. ११,८२,९००।–घरबाटो र निवेदनको रु.३,०३०।– गरि रु.११,८५,९३०।– जम्मा गर्नुस् तुरुन्तै तपाईंको करफुकुवापत्र र घरबाटाको सिफारिस बनिहाल्छ’– कर्मचारी उत्तर दिइन् ।
‘कसरी यत्रो रकम भयो बहिनी ? मैले कर तिर्न त तिन वर्षकोमात्र बाँकी हो त, अनि जग्गाको मालपोतको मूल्याङ्कन अनुसार र घरको प्रति वर्ग फिट ६३०।– रुपैयाँका दरले मूल्याङ्कन गर्ने होइन र !’– सेवाग्राहीले आश्चर्य मान्दै सोधिन् ।
‘हुन त पक्की घरको प्रति वर्गफिटको ६३०।– रुपैयाँ नै हो हामीले मूल्याङ्कन गर्ने तर मालपोतमा गरेको रजिस्ट्रेसनको कागजमा तपाईंले घरजग्गाको मूल्य रु.४,२०,००,०००।– देखाउँनु भएकाले अब तपाईलाई मालपोतको मूल्याङ्कन अनुसार कर लाग्छ, मालपोतमा गरेको मूल्याङ्कन र हामीले गर्ने मूल्याङ्कनमा जुन बढी हुन्छ सोही बढी भएको मूल्य अनुसार कर निर्धारण गर्नु भन्ने हामीलाई निर्देशन छ’– कर्मचारीले अथ्र्याइन् ।
‘हैन, कसरी तिर्न सकिन्छ यतिका रुपैयाँ ?’ –सेवाग्राहीले प्रश्न उठाइन् र थपिन्– ‘घर बहालकर बापत पनि त १०५ बेग्लै तिरिएको छ, यो हिसावले कर तिर्ने हो भने त कर तिर्नकै लागि भनेर घरजग्गा नै बेच्नु पर्ने पो भो र बसोबास गरेका घरले यत्रो आम्दानी त गर्दैन ।’
‘त्यो त मलाई के भन्नु हुन्छ र माथि नै भन्नुस्, मैले त खाली निर्देशन पालना गर्ने हो, निर्देशन विपरीत एक रुपैयाँ पनि मैले लिन मिल्दैन’– कर्मचारीले खुलस्त पारिन् ।
दाल नगल्ने देखेपछि सेवाग्राही खुसामदमा उत्रिइन् र साउती मारेर भनिन्– ‘यसो मिलाउँने केही उपाय छैन बहिनी ? बरु म तपाईलाई पनि हेरूँला नि ।’
‘छ । यसपटक चैं पुरैको तिर्नुस् र अंशबण्डा गर्नुस् अनि अंशबण्डा भै सकेपछि भने श्रीमान् श्रीमतीको मात्र एकीकृत गरेर र अरुको भाग छुट्टयाएर छुट्टाछुट्टै लिइदिउँला, अनि त कम भै हाल्छ नि’ –कर्मचारीले उपाय देखाइदिइन् ।
‘अंशबण्डै भै सकेपछि चैं फेरि श्रीमान् श्रीमतीको किन मिसाएर लिनु प¥यो नि ?’– सेवाग्राही फेरि अलमलिइन् कर्मचारीका कुराले ।
‘खै ! आजसम्म त्यसै गरि लिने चलन छ र बुझाई रहेका पनि छन् अब तपाईंलाई त्यसरी पनि तिर्ने मन नभए लोग्ने स्वास्नीको डिभोर्स गरेर डिभोर्स भएको कागज पेश गर्नुस् अनि लोग्नेस्वास्नीको पनि छुट्टाछुट्टै लिइदिउँला नत्र त कुनै उपाय नै छैन’– कर्मचारीले स्पष्ट पारिन् ।
जुरोपानी–४, झापा
हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































