सुमी लोहनीदशैं आयो रे !
(दशैं विशेष २०७१)
हिजोआज केटाकेटीहरू ‘दशैं आयो ! दशैं आयो !’ भन्दै मीठो खाने अनि राम्रो लाउने आशाको रोँटे पिङमा नथाकुन्जेल मच्चिँदै छन् ।
मित्र ! तपैँलाई दशैं आयो कि आएन कुन्नि ? तर जनतन्त्र, गणतन्त्र, लोकतन्त्र, मनपरितन्त्र आदि तन्त्रैतन्त्र आएको देशका धेरै बासिन्दाको दैलोमा दशैंको ‘द’ पनि अहँ गोडो टेक्न आए जस्तो छैन । हैन, सप्पैले आयो ! आयो ! भनेको दशैं अधिकांश देशबासीको मझेरीमा नगै कता ग’छ त हँ ? भनेर यसो हेर्दा, सुन्दा, विचार्दा त जसको घराँ दशैं नभए पनि हरेक दिन दशैं मनाइन्छ त्यस्ता दिलदार मान्छेको घराँ पो पुगिबक्सेछ दशैंजी त ! चामलको सेतो भात खान, दुई चौटो चिची चपाउन, एकसरो नयाँ लुगा फेर्न वर्ष दिन कुरेर दशैंको प्रतीक्षा गर्नेहरूको घर आँगनमा त दशैंजीले आउन त के चिहाउन पनि मुस्किल छ । के गर्नु बडा दशैंलाई पनि बडा, बडा व्यक्तिका बडेमान्का बिल्डिङमा नै आउन मन लाग्दो रै’छ । अनि दुई छाक पेटभरि खान पनि नपुग्ने भोका, नाङ्गा, गरिबगुरुवाको घरमा किन पाइलो टेक्थ्यो र ! दीनदुःखी निमुखाको थाप्लाँ त दशैं हरेक साल ऋणको भार बनेर पो थोपरिन्छ त !
साँच्चै अहिलेको दशैं पनि केही व्यक्तिलाई त मज्जैसँग धीत् फुकाएर आ’को छ । सबैभन्दा बढी बडा दशैं बडा व्यापारीलाई आ’को छ । त्यसैले त रातारात बजार भाउ ह्वात्तै हल्केर बादलमाथि पुगी गगन चुम्बन गर्न सक्षम भ’को छ । अनि अति प्रसन्न भै बडा व्यापारीका चिल्ला तालुमा घनघोर धन वर्षा गर्दैछ । त्यसैले आजभोलि हात्तीछाप नोट लिएर तरकारी किन्न बजार गयो भने तरकारी झोलाको पिँधैमा हराउँछ र पकाउँदा कन्तीको झोलमा झाम्टा झल्याकझुलुक झुल्किन्छ ।
केही नेताहरूलाई चाहिँ दिल खोलेरै दशैं आ’को छ । त्यसैले हारेर, राजिनामा दिएर पनि मन्त्री पद दक्षिणा मिलेको छ । विभागै नभए पनि मन्त्री चैँ मज्जाले भ’का छन् । पदको सदुपयोग गर्दै देश विदेश घुम्या छन् । निधाराँ भत्ता, लत्ता, सत्ताको टीको ट्याँसट्याँस भ’को छ । नेता–नेता बीचमा गाली र आरोप प्रत्यारोपको जमरा सरक्कै मौलाको छ । नेताहरू आफ्नोे स्वार्थका लागि गरिब नेपालीको खुसी, इच्छा, चाहना, सुख, शान्ति आदि कुराको बली मज्जैले चडाएँदै छन् । यही त हो नि रमाइलो दशैं, हैन त ?
बडा दशैंलाई भव्य स्वागत् गर्न सक्नेहरूले त बडा भव्य तरिकाले बडा दशैं मनाउनुहुने नै छ क्यार ! नसक्नेले चैँ छिमेकीका घराँ म्याँम्याँ गर्दै कराउँदै आएको दशैंको मीठो आवाज सुन्दै कल्पिकल्पी ¥याल काढ्दै भए पनि दशैं मनाउनु होला । च्यात्तिएर भूmलजस्तो बनेको झल्लर लुगाले जिउ ढाकी ठूल्ठूला सपिङ मलमा डमीले ला’को राम्रो लुगा हेर्दै चित्त बुझा’र दशैं मनाउनु होला । तिर्दा तिरिमिरी भ्mयाइँ भए पनि होस् भन्दै ऋण काढेरै भए पनि दशैं चैँ मज्जाले मनाउनु होला । हिङ नभए पनि हिङ बाँधेको टालो छ भन्दै महान् चाडलाई महलवासीको सिको गर्दै मनाए त झनै राम्रो !
जे जसरी मनाए पनि सम्पूर्ण पाठक मित्रहरूलाई बडा दशैंको हार्दिक मङ्गलमय शुभ–कामना !
‘झिँगापुर’ हास्यव्यङ्ग्य सङ्ग्रहबाट
Subscribe
Login
0 Comments
Oldest








































