साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानु र घाँसीको आधुनिक संवाद

Nepal Telecom ad

रङ्गिला टोपी लगाईकन हिँड्नुपर्ने भानुभक्त बिर्खे टोेपीमा नेपाली राग उरालेर हिँडिरहेका बेला सम्बिधानसभा भवन अगाडि ट्वाक्क भेट भएछ । घाँसीलाई आजकलको जनजातीय मुद्दाले निकै समातेको थियो । कुनै बेलामा घाँसीकुवामा कुवा खनाउन भानुभक्तलाई प्रेरणा दिने बिचरो घाँसी संविधानसभा भवन अगाडि हरिया मकै बेचिरहेको रहेछ ।भानुभक्तले घाँसीलाई सोधे– हैन तिमी तनहुँको उही घाँसी हैनौ भन्या, के गरिरह्याका हुन् यहाँ कान्तिपुरी नगरीको संविधान सभा अगाडि ? घाँसीले भन्यो– घाँस काटेर जीवन निर्वाह नहुन्या रहेछ, हामी यहाँ सभासदलाई हरिया मकै पोलेर बेचिराख्न्या भएका छौँ । भानुभक्त बाजे सुरिलो आवाजमा कराए– तिमीलाई मकै पोल्नै परन्या हो र ? तिम्रो जीविका त घाँसै काटेर चल्न्या थियो नि त ? घाँसी बोल्यो– मकन पचहत्तर गाउँका घाँस काट्ने सवकन छ सय एक घाँसीहरू यही भवनमा आएर के जाति संविधान बनाउनपट्टि लाग्न्या भएका बेला उनीहरूले फेरि चटक्कै मकै खान बिर्सेर विदेशी माल खान्या हुन् कि भन्ने चिन्ताले यही संविधानसभा भवन अगाडि मकै बेची बसिराख्न्या भएका छौँ । आखिर गाउँमा आजकल सबकन जनता विदेशतिर जान लाग्न्या भएका छन्, गाउँमा घाँस काट्ने कौन न छ र, गाउँमा गाई भैँस नपाल्न्या शौखिन जनता भएपछि घाँस काट्नुको के अर्थ छ र हौ भानुभक्त ? त्यसैले हामी घाँस काट्न छाडेर मकै पोली बेच्न यही भवन अगाडि बस्न थाल्या धेरै वर्ष भयो ।

भानुभक्तले घाँसीलाई रामायण लेख्न प्रेरणा दिएकोमा निकै धन्यवाद दिएका मात्र के थिए, घाँसी रिसले निकै आगो बन्यो । घाँसीले भन्यो– उ जमानामा तिमीले मलाई नसोधिकन रामायण लेखी टोपल्ने भएका रहेछौ, तिमी ब्राम्हण जातिले हामी अरु जातिलाई हेपेर रामायण लेखी के गन्र्या हुन् ? म बाट प्रेरणा पाया पनि लेख्ने बेलामा खै एक वचन तिमीले हामीलाई सोधनी गर्नु पन्र्या थिएन र ? तिम्रो रामायणले देशमा भएका साना भारेभुरे भाषा बिग्रन लाग्न्या भया । साना भाषा लोप हुन्या भया । तिमी चाहिँ खुब नेपालीमा रामायण लेख्याँ भनेर खुसी हुन्या भया छौ ! तिमी आदिकवि हैनौ नजाति कवि हौ । हाम्रा भाषिका तिम्रै कारणले हराउन लाग्न्या भया । घाँसीको कुरो सुनेर भानुभक्त नाजवाफ थिए । वर्षौंपछि नेपालमा आएको परिवर्तनमा उनी रमाउन सकिरहेका थिएनन् । नेपाली भाषा विश्वव्यापी बन्दै गएको बेला भानुभक्त आफ्नै सालिक भारतका चौरस्ता र दार्जिलिङका चोक चोकमा देखेर खुसी हुन्छन् तर नेपालका मालिकले उनको सालिकको लागि पहल गरेको भने कतै पाउँदैनन् । भाषिक एकीकरणको लागि उनले नेपालमा ल्याएको आन्दोलन पछि त्यतिकै प्रभावकारी आन्दोलन कहिल्यै भएन होला । तर आज देश जनजातीय मुद्दामा अल्झेर मुटु बल्झाएको छ । एकीकृत मन खण्डित र बाइसे चौबिसे बन्न खोजेको छ ।

भानुभक्त पनि एकछिन् गम् खाएर सोचे अनि भने– सुन घाँसी दाइ, तिमी पनि ब्राम्हण इतरको मान्छे, तिम्रो जस्तै सोच राखेर के म तिमले खन्याको कुवाको पानी मैले खान नपाउन्या हो र ? किन कि म त तिम्रो जात भन्दा फरक छु । तिमीले कि प्रत्येक जात जातिको लागि छुट्टाछुट्टै कुवा खनाउन सकन्या छौ र ? सकन्या छौ भने लौ प्रत्येक जात जातिको लागि छुट्टाछुट्टै कुवा खनाउन परन्या छ । के यो सम्भव हुन्या छ र ?

घाँसीले राँक्किएर भन्यो– आजकलका नारीहरू तिम्रो बधुशिक्षामा अल्झिएर बस्ने सक्ने खालका नहुन्या छन्, के पुरुष शिक्षा तिमीले लेख्न नसक्न्या हौ ?जति तिमी रामायणका विभिन्न काण्डका कुरा गरन्या छौ, त्यति नै यहाँ नयाँ काण्ड जन्मिई रह्याका छन् । सुन्दर काण्ड भन्दा यहाँ असुन्दर र कुरूप काण्ड जन्माउन्या आधुनिक रामभन्दा हरामको बारेमा लेख्न परन्या जरुरी छ । भानुभक्तले ब्राम्हणवादी सोचले भन्न थाले– अब ब्राम्हण क्षेत्रीले रामायण लेख्न नसक्न्या छन् किन कि आरक्षणको कोटाको चपेटामा परेर ब्राम्हण क्षेत्रीहरू काशी बासी हुन लाग्न्या बेला आएको छ । अब आधुनिक रामायण लेखन्या पालो जनजातिको पनि हुन्या छ ।

घाँसीले झन् बम्किँदै भन्यो– अरे भानुभक्त तिमी किन भाषाको घमण्ड गरन्या छौ ? यहाँ अन्य भाषाले नेपाली भाषा अतिक्रमित हुँदा हामी नेपालीले अन्य भाषाको जगेर्ना गर्न परन्या छैन र ? यहाँ तिम्रा रामायण भन्दा विदेशी किताबका चर्चा बढी हुन्छन् । तिम्रा किताव भलै बिक्लान् तर विदेशी किताबमा शोधपत्र गर्नेहरू बग्रेल्ती छन् । तिम्रा किताबमा आँखा लगाउन भन्दा हिन्दी सिरियलमा आँखा लगाउन आजको पुस्ता गर्व गर्दछ । लौ भन त भानुभक्त यहाँ चर्पी भन्नभन्दा मनुजका अनुजहरू ट्वाइलेट भन्दा सहज महसुस गरन्या छन् । यहाँका आधुनिक मानिस किन टमाटर भन्छन् किन गोलभेँडा भन्दैनन्, किन ममी भन्छन् आमा भन्दैनन् ? यौटा बच्चा टिभी हेरी हेरी आँपलाई आम् भन्न रुचाउँछ, कारण तिम्रो रामायणले केही लछारपाटो लाउन सकेको नै छैन भन्या पनि हुन्छ ।

भानुभक्त अवाक् थिए आफूलाई लगाइएको आरोपप्रति । घाँसी पोलिरहेको मकै फर्काउँदै र कुरा चर्काउँदै लैजान थाल्यो, अनि घाँसीले भन्यो– ल तिमी साँच्चैको राष्ट्रलाई माया गर्ने नै कवि हौ भने जातीयताको कुरा उचाईमा पुगेको बेला विभिन्न भाषामा रामायण लेखेर देखाऊ अनि मात्र तिम्रो सच्चा गुणगान गाइनेछ । के सकन्या छौ र विभिन्न भाषिकामा रामायण लेख्नलाई ? अहँ कदापि सक्दैनौ । तर म चाहन्छु प्रत्येक भाषामा रामायण तिमीले लेख्नु परन्या छ । भानुभक्त नाजवाफ भए अनि सँगैको संविधानसभा भवनतिर औंल्याएर भन्न थाले– के यी सभासद्ले संविधान पनि सम्पूर्ण भाषिकामा लेखन्या हुन् र ?
जदौ ।

बेँसीशहर, लमजुङ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x