हरि खनालमुक्तकको झट्टी, घैँटीमायाको भट्टी
छ पैसा, छ प्यार,
छैन पैसा छैन यार
पैसा नहुनेहरू हो
आफैँसँग होसियार !
एकजनाले भट्टीभक्तले गिलास टिनटिन बनाउँदै मुक्तक फलाके र गिलासलाई मुखमा जोरेर खलास बनाउन थाले । अर्का भक्तले त्यसै गरी गिलास माथि उठाए र सुरु गरे–
हाड घोटी कमाउने
यहाँ अर्कै रमाउने
फर्की आउँदा कठैबरा
आफ्नै पुर्पुरो समाउने ।
दुईजना अधबैँसे पुरुषहरूले घैँटीको भट्टीमा यसरी मुक्तकमा संवाद गरेकोे सुनेपछि म पनि लुसुक्क त्यतैतिर पसेँ र शायरहरूको पछाडि गएर टुसुक्क बसेँ । घैँटीको मुस्कानले के ल्याउँ भनेर सोधनी ग¥यो । मैले पनि एक गिलास बिजुलीपानी नै मगाएँ । ती दुई शायरीवालाहरूको थप सायरी सुन्ने अभिलाषाले कान उनीहरूतिरै फर्काएर बिजुलीपानीको रसास्वादन गर्न थालेँ । अजब भो वा गजब भो अर्का शायरीबाज आइपुगे । उनी परैदेखि चिच्याए–
हिजो अस्ति मनचिन्ते भाँडो थिएँ म
सुखैसुखै बोकिरहने डाँडो थिएँ म
एकपटक जेल के पुगेथेँ यार
आज सबका आँखाको काँडो भएँ म ।
तीनजना शायरीबाजहरू जम्न थाले । सायरीबाजहरूको स्वर बिस्तारै बिस्तारै बिजुलीपानीको चस्काले उचालिँदै जान थाल्यो । एउटाले सायरी भन्न खोज्दा अर्कोले रोक्थ्यो । अर्कोले भट्याउन खोज्दा अर्कोले छेक्थ्यो । सँगै बसेर सायरी श्रवण गर्न थालेपछि र बिजुलीपानीसँग सामिप्यता गाँसेपछि त्यसका अरु भक्तहरूसँग मित्रता बढ्ने नै भयो । पहिलो सायरी भुक्ने रहेछन् कर्मबहादुर र दोस्रो सायरीवाला मर्मबहादुर अनि तेस्रो सायरीवाला रहेछन् धर्मप्रसाद । परिचय पनि शानदार ढङ्गले भयो–
आँसुले जीवन चल्दैन यार,
श्रमविना फल फल्दैन यार
फलपूmल सबै सद्दे हुँदैनन्
रोएर बोट ढल्दैन यार ।
“लालसलाम नमस्कार, हलो साथी जयनेपाल, म चित्तप्रसाद थर भने पिरिमाल ।
मैले परिचयको क्रम अघि बढाएँ । उनीहरूले वाह वाह गरे । घैँटीमाया किचिक्क हाँसी । अहिलै लाइदिउँ कि जस्तो गरेर मुस्कानको माला गाँसी । ऊ जति हाँस्थी उति बिजुलीपानी आउँथ्यो । हामी गिलासमा रमाउने, शायरीको मैफिल जमाउने, जति झर्छ हाम्रो आँसु ऊ चाहिँ हाँस्दै कमाउने ।
“हैन यार तिमी पनि सायर रहेछौ, आजदेखि पक्का हाम्रो साथी तर तिम्रो पिरिमाल भनेको बुझिएन नि ?” कर्मबहादुरले गिलास नचाउँदै सोधे ।
“पिरिमाल भनेको पिउने रिमाल भनेको नि ।” मैले जबाफ के दिएको थिएँ रोइरहेको धर्मप्रसाद पनि मुस्कुरायो । धर्मबहादुर आप्mनै धुनमा थियो । ऊ पनि चिच्यायो–
“हातमा कौडी नभएको दिन त घरको कुकुरले पनि भुक्छ यार, पहिले पहिले आइसियोस् गइसियोस् भन्ने पत्नीले हिजो साँझ के भनी थाहा छ, सुन्न यार यो हृदय दुखेको छ ।”
“लौ भन् भन्, भन् त भन् तर अन्तिममा मेरो कुरा पनि सुन् नि ।” शर्त राख्यो कर्मले ।
“मेरो पनि सुन् नि” मर्मको पनि लर्बरिएको स्वर निस्क्यो ।
“ए सुको पैसो हातमा नभएका पति महोदय, भात घिच्न आइबक्स्योस् भनी यार आप्mनै स्वास्नीले । त्यसरी भन्दा यो मन कति दुख्यो होला लौ भन् त ?” धर्मले आफ्नो पीडा सुनायो । धर्मको कुरा सुनेर कर्म के बोल्न के लागेको थियो फेरि धर्म चिच्यायो–
“पर्खन पर्ख, त्यतिमात्र हो र ? त्यसपछिको कुरा सुन्यौ तिमीहरूले भने त जिब्रो टोकेर सेन्टीफ्ल्याट हुन्छौ । भनूँ भनूँ कि नभनूँ ।”
“सेन्टीप्mल्याट नै त अहिलै किन हुने यार पर्ख एक पेक लगाएपछि भन्लास् । मेरो कुरा सुन अब ।” मर्मले ठूलो स्वर निकाल्यो र कराउन थाल्यो–
“यो ज्यानले के गरेन ? अरब गएर खरब कमायो । अरबमा पसिना चुहायो, गाउँघरमा पैसाको खोलो बगायो । थाहा छ त्यो खोलो बगाउँन के गरेँ ? गधा जोतेँ मैले, कारखानाको कलपुर्जामा आफ्नै रगत पोतेँ मैले । हेर यो हात हेर, मेसिनले काटेर बल्लबल्ल जोडेको ।” उसले दुबैजनालाई हात देखायो । मैले पनि निहुरिएर उसको काटिएर जोडिएको हातको डोबमा आँखा पु¥याएँ । हात देखाइसकेपछि ऊ त रुन पो थाल्यो । केहीबेर आँसु झारिसकेपछि ऊ सम्हालियो–
मुटु चिरेर पायो कसैले
बस्त्र सम्झेर लायो कसैले
विश्वासको बकवास गरेर
थोपाथोपा रगत खायो कसैले ।
सायरी भनिसकेर एकपटक वरिपरि सबैलाई हे¥यो, उसका आँखा बिजुलीको चम्किलो प्रकाशमा टल्किरहेका थिए ।
“तिमीले बगाएको पैसाको खोलोमा को बग्यो र कसले पौडी खेल्यो यार ! म ठीक पारिदिन्छु त्यसलाई ।” म पनि जोडले चिच्याएँ । सायद बिजुलीपानीले गतिलै मात दिएको थियो मलाई । मर्मको सायरी अभैm खुल्न थाल्यो । ऊ चिच्यायो–
“कमाउने कोही
समाउने कोही
क्या बोर जिन्दगी
रमाउने कोही ।
पौडी अर्कैले खेल्यो, मलाई चाहिँ बगायो ।” उसले कुरा सक्यो र गिलासको तान्न थाल्यो ।
“तिमीलाई आफैँले बनाएको खोलाले बगायो, मलाई भ्रष्टाचारले बगायो । अरुहरू भ्रष्टाचार गरेर भोगविलासको जिन्दगी बिताउँछन्, जेलबाट निस्कँदा पनि माला लगाउँछन् तर थाहा छ ?
पाँच करोड कमाउँछन् एक करोड तिर्छन्
सजायँ माफ हुन्छ भनी आफैँभित्र छिर्छन्
आफन्तहरू खुसी हुन्छन् जयजयकार गर्छन्
निस्कँदा त मेरी बास्सै पूmलमाला पो भिर्छन् ।
तर मेरोचाहिँ त्यस्तो भएन यार, न वार न पार । जेल परियो, जीवन हरियो ।
रछानमा फालिएको भात भएँ म
रुखबाट चुँडिएको पात भएँ म
औँला ठाडो पार्छन् आफन्तहरू
उनीहरूको बिहानीमा रात भएँ म ।
“बलेको आगो ताप्ने त रैछन् नि सबैले ।” मर्मबहादुरले लामो भाषण र मुक्तक सुनाए अनि घोप्टिएर रुन थाले । घैँटीमाया नजिकै आइन् र सबैलाई पालैपालो सुमसुम्याउँदै बोलिन्–
“यसरी रोएर हुन्छ ? कठैबरा ! यो घैँटी त छे नि यहाँ । म मरेकी त छैन नि । धर्मदाइले पैसा कमाउन सक्नुभएन घरपरिवार रिझाउन सक्नुभएन, कर्म दाइले अरब गएर नेपालमा पैसाको खोलो बगाउनुभयो मोजमस्ती अर्कैले ग¥यो । कर्म दाजुले त्यतिका भ्रष्टाचार गरेर परिवार र आफन्तजनलाई सम्पन्न तुल्याई दिनुभयो अहिले उल्टै हेला गर्न थाले ।
जीवनको रीत नै त्यही हो
भन्ने गरिएको प्रित नै त्यही हो
यसैलाई जिन्दगी ठान्नुहोस् यार
सबैले गाउने गीत नै त्यही हो ।
घैंटीमायाले समेत टुक्रा सुनाइन् । खै उनीहरूले त ताली बजाए बजाए मैले पनि उफ्रीउफ्री ताली बजाएछु ।
भ्रष्टाचारमा फसेको किन ?
विदेशमा पसेको किन ?
स्वार्थबाट माथि उठ्नुहोस् यार
आफ्नै मनलाई डसेको किन ??
मैले एक टुक्रा गुनगुनाएँ । कर्म र धर्मले वाहवाह गरे । घैँटीमायाले च्याप्प समातिन् र भनिन्– यसको उपलक्ष्यमा एक पेक सित्तैँमा तर बिजुलीपानी खान नहुने भन्ने सायरी चाहिँ नसुनाउँ है ।
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































