मीनप्रसाद लामिछानेमेरो गाउँ
मेरो गाउँ यस्तो छ
राम्रो भन्नु कि नराम्रो
खै कस्तो कस्तो छ !
गाउँमा पनि अब त,
भात, ढिँडो र रोटीको ठाउँमा चाउमिन र पिजा चल्छ ।
फल फूलका बोटहरूमा पनि जुस र जाम भन्दा
वियर ज्यादा फल्छ ।
बाबु नानीहरू पनि आजकल दुध बेचेर दुधिया खान्छन् ।
दिउसो पाठशाला जाँदैनन्, बरु साँझ परेपछि मधुशाला जान्छन्
स्तनपान गराउँदैनन् आजकल गाउँका आमाहरू पनि,
‘फिगर मेन्टेन’ गर्न आफ्ना नानीहरूलाई बोतलको दुध ख्वाउँछन्
र त ठुलो भएपछि उनीहरू पनि बोतल समाउँछन् ।
त्यसैलाई माया गर्छन र त्यसैमा रमाउँछन् ।
समझदारी कस्तो छ भने,
एउटाले रक्सी खाँदा अरुले’नि खान्छन् ।
एउटा तास बोकेर अघि लाग्छ,अरु पछि पछि जान्छन् ।
सामुन्नेमा कसैको कुरा काट्दैनन् ।
र, पिठ्युँ पछाडि कसैलाई’नि छाड्दैनन् ।
मेरा गाउँका मानिसहरू,
धर्ममा विशेष रुचि राख्छन् ।
एकादशीका दिन कुनै काटमार गर्नु हुँदैन भन्ने बुझेका छन्,
त्यसैले अघिल्लै दिन गर्छन् ।
माग्नेलाई लाठो लिएर लखेट्छन् र चामल लगेर मन्दिरमा छर्छन्
विद्यालयको वातावरण बालमैत्री छ,
हप्तामा तिन दिन शिक्षक नजाने,
तिन दिन विद्यार्थी जाने पालो ला’का छन्
जसरी पनि विद्यार्थी पास भा’का छन्,
शिक्षकले तलव खा’का छन् ।
र, त्यस्तै शिक्षकले पुरस्कार पा’का छन् ।
भान्सामा तरकारी डढे पनि,
हिँड्दा बाटामा लडे पनि
फेसबुकको क्रेजमा कुनै कमी आएको छैन ।
कसैलाई हिरो, हिरोईनको नाम सोध्यो भने
तिन पुस्ते बताउन अघि सर्छन् ।
तर उनीहरूकै हजुरबुबाको नाम सोध्यो भने चाहिँ
गुगलमा सर्च गर्छन् ।
यस्ता छन् मेरा गाउँका युवाहरू ।
मेरो गाउँ यस्तो छ,
भन्नुहोस् तपाईंको चैं कस्तो छ ?
हेटौडा
Subscribe
Login
0 Comments
Oldest








































