सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आउने भो रे !

Nepal Telecom ad

था त पाउनु नै भो होला, अब आइबक्सिने रे नि ! वाँ सवारी हुने मार्गको शिलान्यास पनि भैसक्यो रे ! पञ्चवर्षीय योजना सकिना साथ धरररर ला’र आइबक्सिन्छ रे बाबै ! बुझूनु भ’न ? त्यही क्या त्यही मेलम्ची आउने रे क्या !

हेर, हेर मेलम्ची भन्ने सुन्नासाथ कस्तो खुसी हुुनु भा । हुनुस् जति मन लाग्छ त्यति खुसी हुनुस् तर खुसी भ’र मेलम्चीको पानीले हाम्रो प्यास कहिले मेट्ने भनेर चैँ नसोध्नुस् है ! किनभने यो खुला आँखाले देखेको सपना हो र यस्तो सपना पूरा हुने आशा सपनामा मात्रै गर्न सकिन्छ । यो सपना काकाकुल सहर र त्यस वरिपरिका बासिन्दाले करिब दुई दशकदेखि देख्दै आएको सुमधुर, सुनौलो, साझा सपना हो ।

सम्झनाले मात्रै पनि आहा ! छाती नै क्या शीतल हुन्छ । यस्तो मीठो र रसिलो सपना घरपरिवार केही नभ’का एकजना सन्त नेताले भोटको आशामा फ्रिमा सबैलाई बाँडेका थिए । तर के गर्नु र उनले देखाएको सपनामा मस्त भ’र भोट चैँ अरूलाई नै दिने बैगुनी भोटरले गर्दा बिचराको चुनाव जित्ने सपना हुरीले हुरुरुरुरु उडाएर कता पुर्यायो कता !

यो मात्रै हो र, बिचराका धेरै सपना विपना नभैकन सिसा झैँ चकनाचुर भए । ‘म कुमार हुँदै हैन ।’ भन्दाभन्दै पनि कसैले नपत्याएकाले उनको डोली चढ्ने सपना पूरा भएन र आफैँ एक्लै भए पनि डोली चढेर तपोवनतिर घुम्दै चित्त बुझाउनुपर्यो । यसरी आप्mनै सपना धुजाधुजा भएर धुज्जिएपछि बैगुनी मतदाताको सपनाको के मतलब गर्नु त !

साँच्ची उनले त सडक पो पखाल्छु भन्या हुन् क्यार ! सडक त अहिले पनि पखालिएकै छ नि ! घर, रेस्टुराँ, होटेल आदिबाट सित्तैमा प्रवाहित मल मिश्रित सफा र सुगन्धित ढलजलले ! फेरि किन चाहियो मेलम्ची भन्नुहोला । त्यसो भन्नुहुन्न क्या ! कत्तिको सपना त त्यही मेलम्चीले गर्दा पूरा भ’को छ नि बाबै ! थाहा छ मेलम्चीजी सवारी हुने सम्भावित बाटामा पर्ने भीरपाखा, बनजङ्ल आदिका सक्कली नक्कली कागजी धनीको धनपति बन्ने सपना मेलम्चीले साँच्चै पूरा गरिदिएको छ । केराको एकै थम्बाको मूल्य लाखौँ पुगेको छ । मेलम्चीको माया पाएका मनुवा रातारात महलमा बसाइँ सरी मेलम्चीको अथाह जल राशिजस्तै मनी राशिका मालिक भ’का छन् । त्याँभन्दा बढी अरू के चाहियो र !

आँखामा हालेको औषधि कता हो कताबाट नाक, कान, घाँटीमा पुगेझैँ सुरसा मुखरूपी मेलम्ची प्रोजेक्टमा खर्च भ’को पैँसा कता पुग्छ, कता ? कसले के पत्तो पाउनु र ? जेसुकै भए पनि सेतो हात्तीको माहुते हाकिमको शान बेपत्तासँग बढेकै छ । ढुकुटी भरिएकै छ । कारिन्दाको परिवार मजासँग पालिएकै छ । नेपाली जन्ताको थाप्लोमा ऋण बढिरहेकै छ । फेरि केको चिन्ता गर्नु र ! हात्तीलाई खेतबारीमा दाउन सकिएन खालि दानापानी मात्रै ख्वाउनुपर्यो भनेर ! खान सक्ने शुरवीरले त सेतो हात्ती दुहेर टन्नसँग मजाले खाएकै छन् क्यार ! नसक्ने हुतिहारा लुतेले घुटुघुटु थुक निल्दै बस्ने पाउँला, खाउँला भनेर ।

पर्खिनुुस्, प्यास लाग्यो भनेर आत्तिनहाल्नुस् । पक्कै पनि प्रिय मेलम्ची तपैँलाई पिण्ड दिन कर नभ’को पनातिको पिण्ड पकाउने बेलासम्म त कसो नआउला ए ! स्वर्गबाट गङ्गा ल्याएर आफ्नो पुर्खालाई तार्न सगर राजाका कति पुस्ताले तपस्या गरेर प्रयत्न गरेपछि बल्लबल्ल राजा भगिरथ सफल भ’का थिए रे भने मेलम्चीले काठमाडौँ बासिन्दाको तिर्खा पनि कुनै न कुनै जन्ममा कसो नमेट्ला त ए गाँठे !

‘झिँगापुर’ सङ्ग्रहबाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मूषक माहात्म्य

मूषक माहात्म्य

सुमी लोहनी
दसैँ आयो रे !

दसैँ आयो रे !

सुमी लोहनी
डाक्’साप

डाक्’साप

सुमी लोहनी
माछो ! माछो ! चेपागाँडो !

माछो ! माछो !...

सुमी लोहनी