मुकुन्द आचार्यमन्त्री र प्रधानमन्त्री हुने सौभाग्य
मन्त्री महोदय आफ्नो सुसज्जित कोठामा एक्लै विराजमान थिए । कुखुराले फोहोरको थुप्रोबाट खानेकुरा खोजे झैँ उनी पनि कुनै ग्लोबल टेण्डरको फाइलबाट कमिसन केलाउँदै थिए ।
अकस्मात कोठामा एउटा आवाज आयो, “मन्त्री ! ध्यान दिएर मेरो कुरा सुन !” मन्त्री महोदय झसङ्ग भए, यो कोठामा भूतप्रेतको आत्मा पो …. !
पुनः आवाज आयो, “मन्त्री ! तिमी सफल हुन चाहन्छौ भने एउटा कुरा मनमा गाँठो पारेर राख ।”
मन्त्रीले मनमनै सोचे– यो कसको आवाज हो ? भारत, अमेरिका, चीन, जापान किनभने अचेल नेपालका नेताहरू यिनै अदृश्य शक्तिद्वारा नै सञ्चालित छन् ।
त्यसैले उनले हात जोरेर भने, “हे अदृश्य शक्ति ! तपाईँ को बोल्नु भएको ?”
आवाज आयो, तिमी घुम्ने मेचमा अन्धो भएर बसेका छौ, म त्यही मेच बोलेको । म कुनै पनि विदेशी सङ्घ संस्थाको आवाज हैन । मैले त माया गरेर तिमीलाई आसन स्थिर हुने सरल काइदा तिम्रो फाइदाका लागि बताइदिन लागेको त्यो पनि फोकटमा ।
फोकटमा भन्ने सुन्नासाथ मन्त्रीज्यूको कान ठाडो भयो, उनले भने– “आज्ञा होस् आसनदेव, फोकटमा पाउने कुनै पनि वस्तुलाई मैले अस्वीकार गर्ने गरेको छैन ।
मेचले भन्यो– “राजनीतिमा सफल हुनु छ भने तिमी जुन भर्याङमा टेकेर माथि उक्लन्छौ, माथि उक्लिसकेपछि त्यो भ¥याङ्लाई लात्तीले हानेर तल झारिदेऊ । हैन भने अरु पनि त्यै भर्याङ्बाट उक्लेर तिमी भा’ठाउँमा आइपुग्छन् । अनि एक दिन तिमीलाई गलहत्याएर ममाथि अरुले नै आसन जमाउला । म माथि विराजमान हुने प्रत्येक नेतालाई आफ्नो कर्तव्य संझेर यति कुरो सिकाइदिने गरेको छु । आगे तिम्रो मर्जी !
मन्त्री महोदयले भने, “हे मेरा प्राणप्रिय आसनदेव । म यहाँसम्म आइपुगेको साधन त जनता हो । जनताकै काँध र टाउकामा टेकेर म नेता भएँ, मन्त्री भएँ । मैले जनतारुपी भर्याङलाई चुनाउ जित्नासाथ बिर्सिसकेको छु । मैले त समनामा पनि जनतालाई संझनु नपरोस् भनेर विदेशी ह्वीस्की टन्न खाएर सुत्ने गरेको छु । हे मेरा प्रिय आसन ! विदेशी ह्वीस्की खाएर सुत्दा अर्को पनि ठूलो फाइदा रहेछ । सपनीमा पनि विदेशी सुन्दरीहरू जिस्किन आउँदा रहेछन् ।” यति भनेर मन्त्री महोदयले रावण छाप हाँसो हाँसे ।
मेचले भन्यो, “क्या बात् । तिमी जस्तै नेताले नेपालमा बारम्बार मन्त्री र प्रधानमन्त्री हुने सौभाग्य पाउँछन् ।”
हाल, थानकोट
Subscribe
Login
0 Comments
Oldest








































