विमल निभास्वयम् सम्बोधित प्रधानमन्त्री
कुनै बेलाका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसँग सम्पत्तिका नाममा एउटा थोत्रो टिनको ट्याङ्का र कालो कपडाको छाता रहेको रमाइलो किन्तु… हल्ला चलेको थियो । अहिलेका प्रधानमन्त्री सुशील कोइरालाको कुल सम्पत्ति तीन थान मोबाइल फोन रहेको छ । यसको एक मात्र अर्थ के हो भने उनीसँग अर्थाेक केही पनि छैन । जस्तै रेजर, ब्लेड, साबुन, घडी, गन्जी, काइँयो, स्याम्पु, केस तेल, गलबन्दी, कैंची, जुत्ता, क्यालेन्डर, टर्चलाइट, तौलिया, दोसल्ला, ट्राउजर, नेलकटर, लुङ्गी, चप्पल, ट्रुथब्रस, जिबिया, टुथपेस्ट इत्यादि । अर्थात् प्रधानमन्त्रीज्यूसँग भएका भन्दा नभएका सरसामानहरू बढ्ता रहेछन् । केहीमा मेरो ध्यान गएको छ । उनका खोपिल्टे गालाका झ्वाप्प दाह्री–जुँगाले गर्दा दाह्री काट्ने रेजर आदि नहुनुलाई सहजै बुझ्न सकिन्छ । तर अन्य खुद्रा सामान ट्रुथब्रस, जिबिया र टुथपेस्ट नभएकालाई चाहिं के भनेर बुझ्ने ? बिहान–बिहानै एउटा प्रधानमन्त्रीले दाँत–साँत माझ्ने गर्दैनन् भन्ने कुरै छैन ।
वास्तवमा मैले ठट्टा गरेको हुँ । एउटा सानो लेखकले प्रधानमन्त्री जस्तासँग ठट्टा गर्न नसुहाएकाले क्षमाप्रार्थी हुँदै म सिरियस कुरातर्फ लाग्छु । भर्खरै आएका प्रधानमन्त्रीको सम्पत्ति विवरणमा केवल मोबाइल फोनको उल्लेख छ । अब योभन्दा गम्भीर कुरा के हुन सक्छ ? तर सन्तोष केमा छ भने उनीसँग एक नभएर तीन–तीन वटा मोबाइल फोन छन् । यसले प्रधानमन्त्रीज्यू कुराकानी गर्न असाध्यै रुचाउँछन् भन्नेतिर सङ्केत गर्छ । तर थोरै अन्तर के छ भने कसैसँग पनि प्रत्यक्ष भेटघाट नगरेर मोबाइल फोनमार्फत् कुरा गर्ने गर्दारहेछन् । नत्र तीन–तीन मोबाइल फोनको के काम ? हुन त एउटै मोबाइल फोनले पनि मजैले कुराकानी गर्न सकिन्छ । उदाहरणका रूपमा म नै हाजिर छु । मसँग एउटा मोबाइल फोन छ । हो, केही दिनदेखि मेरो कुराकानी बन्द छ । तर यसमा मोबाइल फोनको कुनै दोष छैन । मेरो प्रिपेड मोबाइल फोनको पैसा सकिएको छ । अब दुई सय जतिको राख्नेछु अनि फेरि उही गतिले मेरो कुरा चालु हुनेछ । तर यहाँ सवाल मेरो चालु अथवा बन्द मोबाइल फोनको होइन । हाम्रा नयाँ नयाँ प्रधानमन्त्री भएका प्रधानमन्त्री सुशील कोइरालाको मोबाइल फोनको हो । उनीसँग रहेका तीन–तीन वटा मोबाइल फोनको । यी कुन कम्पनीका मोबाइल फोन हुन् भनेर मैले प्रधानमन्त्री निकटका एक काँग्रेसी कार्यकर्तासँग सोधेको थिएँ । यसको जवाफमा पहिले त उनले मलाई सशङ्कित भएर हेर्न थाले । अनि केही बेरपछि सहज भएर भने, “एउटा भारतीय कम्पनी भिडियोकोन, अर्काे अमेरिकी इ–फोन र तेस्रो… ।” असलमा प्रधानमन्त्रीज्यूको तेस्रो नम्बरको मोबाइल फोनको कम्पनीका विषयमा उनैलाई केही ज्ञान थिएन ।
मलाई के भन्थे ?
काँग्रेसी मित्रले सम्पूर्ण कुरा भन्न नसके पनि एउटा महत्त्वपूर्ण कुरा थाहा पाइयो– यी सामान्य मोबाइल फोन होइनन् । एउटा प्रधानमन्त्रीको सत्ता र शक्तिजस्तै मोबाइल फोन पनि उही स्तरको हुनु परेन ? तीनवटै मोबाइल फोनको आआफ्नै मौलिक भूमिका रहेको मेरो अनुमान छ । एउटा मोबाइल फोनबाट प्रधानमन्त्रीज्यू नेकपा एमालेका नेता कमरेडहरूसँग कुराकानी गर्ने गर्छन् । याद रहोस्, नेकपा एमाले, नेपाली काँग्रेस पार्टीसँग वर्तमान सत्ताको समान सहभागी हो । त्यसैले सायद भारतीय कम्पनीको मोबाइल फोनबाट एमालेका वरिष्ठ कमरेडहरू झलनाथ खनाल, माधवकुमार नेपाल र खड्गप्रसाद शर्मा ओलीसँग कुरा गर्ने गर्छन् । अर्का वरिष्ठ एमाले कमरेड उपप्रधानमन्त्री वामदेव गौतमसँग सधैं सिंहदरबार कम्पाउन्डमा साक्षात्कार हुने भएकाले मोबाइल फोनको कुनै आवश्यकता नै रहेन । अब आमुन्ने–सामुन्ने रहेका व्यक्तिसँग के, कसरी र किन मोबाइल फोनमा कुराकानी गर्ने ? सत्तासम्बन्धी मामलामा भारतीय कम्पनीको मोबाइल फोनको उपयोग हुन्छ भने दोस्रो मोबाइल फोनबाट प्रधानमन्त्रीज्यू आफ्नै पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवासँग कुराकानी गर्छन् । यो पक्कै अमेरिकाको प्रसिद्ध एप्पल कम्पनीको ई–फोन हुनुपर्छ ।
उतातिरबाट शेरबहादुर देउवा पनि अमेरिकी कम्पनीकै मोबाइल फोनबाट उत्तर दिने गर्छन् ।
यहाँनेर ध्यान दिनुपर्ने कुरा के हो भने देउवासँगको मोबाइल फोन ई–फोन होइन । धेरै पहिले नेपालमा संयुक्त राज्य अमेरिकाका राजदूत रहिसकेकी मैडम जुलिया चाङ ब्लकबाट यो मोबाइल फोन उपहारमा प्राप्त भएको हो तर कुनै पुरानो अमेरिकी कम्पनी हुनुपर्छ । तथापि यो देउवाको प्रिय मोबाइल फोन हो । यसैबाट उनको प्रधानमन्त्रीज्यूसँग कुरा हुने गर्छ । अब रह्यो, प्रधानमन्त्रीज्यूको तेस्रो मोबाइल फोन । यो भारतीय कम्पनीको हो । या अमेरिकी कम्पनीको, यसमा प्रशस्त मतभेद हुन सक्छ । कोही–कोही त कुनै युरोपियन कम्पनीको मोबाइल फोन हो भनेर पनि दावा गर्छन् । जे भए पनि यो प्रधानमन्त्रीज्यूको खास मोबाइल फोन हो । यसबाट उनी न सत्ता पार्टनर एमाले नेता कमरेडसँग कुरा गर्ने गर्छन् न आफ्नै पार्टीका सदावहार झगडिया नेता शेरबहादुर देउवासँग । यो मोबाइल फोनबाट उनी स्वयम् सम्बोधित हुने गर्छन् ।
“हलो, सुशील कोइराला हो ?”
“हो, सुशील कोइराला हो ।” उही मोबाइल फोनबाट उनी नै ।
“अनि तपाईं को ?”
“म पनि सुशील कोइराला नै हुँ ।”
“प्रधानमन्त्री सुशील कोइराला ?”
“हजुर, प्रधानमन्त्री सुशील कोइराला ।”
“कस्तो गजब ! म पनि प्रधानमन्त्री सुशील कोइराला नै हुँ ।”
“अनि अचेल प्रधानमन्त्रीको कुर्सीमा बसेर के काम गरिरहनुभएको छ प्रधानमन्त्रीज्यू ?”
(केही समयको उत्तरहीनताको स्थिति)
“भन्नोस्, के काम–धाम गरिरहनुभएको छ प्रधानमन्त्रीज्यू ?”
त्यसपछि आफूलाई नै कुनै जवाफ नदिएर प्रधानमन्त्रीज्यूबाट मोबाइल फोनको स्वीच अफ !
‘कान्तिपुर’ २०७० चैत्र २२
Subscribe
Login
0 Comments
Oldest







































