साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मने, एउटा कुरो नि !

Nepal Telecom ad

द्रोहकालमा पनि यस्ता जमघटका बेला हाँसोठट्टा गर्दै कम्मर मड्काउन नछाड्ने कमरेडहरू यो विघ्न निन्याउरिएको देखेर गाउँलेहरू विस्मित थिए।
रोल्पाको विकट गाउँमा अवस्थित भुइँघरको एउटा कोठामा कमरेडहरूको डफ्फा मूर्झाएर बसेको छ। सुकुलमा विराजमान अध्यक्ष कमरेडको बायाँतर्फ भित्तामा अडेसिएकी छन्, उनकी श्रीमती विपरीत दिशामा लहरै ओछ्याएका काठे पिर्कालाई भार भएका छन्, सहयोगी कमरेडहरू। सोफामा अभ्यस्त भइसकेका सबैलाई यो आसनमा खासा मुश्किल परिरहेको अवस्था छ। माटाको घैंटाछेउमा उभिएको सिल्भरको लोटातिर हेर्दै एक कमरेडले व्यागबाट मिनरल वाटर झिकेर घुटुक्क पारे।

चिन्तित अध्यक्ष मनमनै गम्न थाले। रोल्पाली जनता इमानदार, बलिदानी र जाली कुरा नबुझने भएकाले फेरि एकबाजी थुमथुम्याउन सकिएकाले यता आउने निर्णय चाहिं ठीकै भएछ क्यारे! दशा लागेको बेला आफू ढुकुरलाई ताक्यो, ढुङ्गो बजिया कुकुरतिर सोझिएर पङ्गा भए’सी रेबिजको सुई घोच्दाको सास्ती! यो घडीमा कुनै हल्लुँडको लाफा भेट्नु पर्‍या’भे वैरीहरूले कुरीकुरी गरेर शहराँ मुख देखाई नसक्नु पार्थे। रिचार्ज हुने चक्करमा थप डिस्चार्ज हुनु पर्‍या’भे जुलूम हुन्थ्यो। तर्कनाकै बीचमा कमरेडको मुख प्वाक्क खुल्यो, “अब फेरि क्रान्ति गरिन्छ!”

‘गरौला क्रान्ति!’ भन्ने भावका साथ श्रीमतीले निधारको पसिना पुछ्दै कोट्याउँदा झ्सङ्ग भएका कमरेडले भने, “मने, एउटा कुरो नि!”
उनी फेरि गम्न थाले। बंकराँ सुत्न साह्रै चौ–चौ भो भन्दै ख्याँक्न त ख्याँकियो, महँगो पर्छ कि क्या हो? बरु कुनै रिसोटाँ गुप्तवास बस्छु भन्दै घुर्क्याउनुपर्ने रहेछ। अरूलाई सुकिला–मुकिला भनियो तर ‘सौना बाथ’ नलिउन्जेल आफ्नै ज्यान चङ्गा हुन्न। छाला पनि साह्रै पातला भएछन्, जेल हालेको कपालमा गाउँघरको धूलोले बिगार गर्दा चिसो पानीले धुन सकिन्न।
लाजिम्पाट दरबारको वातानुकूलित कोठामा सुकला गर्ने बानीका कारण पेरिसडाँडाको सिसमहलमा एकछिन बैठक बस्दा समेत उकुसमुकुस भई रिफ्रेसमेन्टका लागि पाँचतारेमा नचरी सकिन्न। हा! के दिन आए? कहाँ त्यो पुष्प झै कोमल ‘बेडसिट’, कहाँ यो धुलाम्मे छिंडीमा खटमल भरिएको ओछ्यान? ऊ बेला ‘आए आँप, गए झ्ट्टी’ भन्दै जेनतेन रात काटियो। ठूलो तिकडमले शहराँ आर्ज्याको वैभव छाडी यो ढल्कँदो जोवनमा कता बंकर भित्र घुस्नू?

क्रान्ति गर्छु भन्दा आफ्नै बूढीले पत्याउन्न। टाठाबाठा कार्यकर्ताले आ–आफ्नो बन्दोबस्त गरिसके। गाउँघरमा खोज्न जाँदा शरीरमा गोली र छर्रा बोकेर मुखबाट गालीको पर्रा छाड्ने मात्र भेटिन्छन्। तिनका दुखडा सुनम् कि आफ्नो तारतम्य मिलाऊँ? भर–अभरमा नार्न सकिएला कि भनेका लडाकाहरू हिन्दूवादी भए। जातिवादी माउका बछेडाहरू धर्मवादी हुनु कौनो बडी त बात पनि होइन।
तिनलाई प्रतिगामीको पगरी भिराएर बैठाऊ भने पारिको बड्के बाबाले कर्के नजर लाउने जोखिम छ। तर; जाति, धर्म, क्षेत्रदेखि मार्क्स, लेनिन र माओसम्म लिपिक्क ‘फ्युजन’ हुनसक्ने हाम्रो स्कूलिङ चाहिं तिर्तालकै मान्नुपर्छ!

अहिलेसम्म धम्स्याएकै भरमा काम फत्ते पार्दै आइयो, तर यसपालि वैरीहरूले टेरपुच्छर लाउने छाँट देखिन्न। वैद्यलाई देखाएर यसो तर्साऊँ भने बूढा आफ्नै पार्टीमा विप्लव आइलागेको सुर्तामा छन्। तर्कनाकै बीचमा अध्यक्ष फुस्फुसाए, “मलाई फोसाको भाउलाउने यी सर्पका पुच्छर भाँच्न देशै जरक्क उचालिन्छ।”
“आफ्नै ज्यान थेग्न मुश्किल पर्‍या बेला देश उचाल्न को खेताला खोज्ने?” पिर्काहरू माथिबाट रुन्चे स्वर फुट्यो।
“मने, एउटा कुरो नि!” अध्यक्षले थुमथुम्याउँदै भने।

केहीबेरको मौनतापश्चात् उनी फेरि गम्न थाले। ठूलै सुनामीको चटनी चटाएर मोर्चा बनाइयो, तर सरकारको ढिकुरो खुल्यो भने कति भाइ अडिने हुन्, टुङ्गो छैन। मधेशले विद्रोह गरिदिने झयाली पिटाएर यो जँघार तर्न पाए मोर्चा थेगिन्थ्यो कि! राजनीति भनेकै दुनो सोझयाउने खेल त हो नि! “आफ्नो खप्पर फुट्या बेला मीताको टाउको बेल बराबर, हि..हि..हि!” अध्यक्ष हठात् हिन्हिनाए, “पूर्व प्रधानमन्त्री हुनुको नाताले पनि अब मोर्चाको मद्दतले सडकबाटै सरकार चलाइन्छ, त्यसलाई ज्यू गर्न शक्ति राष्ट्रहरू ठिङ्गे लाएर उभिएका छन्।”

अनिश्चितकालीन आमहडताल फिर्ता लिंदाको दुर्गति सम्झिदै पिर्के कमरेडहरूले सामूहिक स्वरमा भने, “पार्टी घोर्ले छँदा त त्यो हविगत, अहिले झोरझार एक ताप्के आकारको हुँदा कमरेडलाई कुन बतासले छोयो?”
अध्यक्षले फिस्स हाँस्दै भने, “मने, एउटा कुरो नि!”

हिमाल, २ मङ्सिर २०७१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x