हरिकला उप्रेतीपावरफुल पति
यी पति भन्ने जाति पावरफुल भएरै होला, यी सब पति बन्ने होडमा यसरी होमिएका । हुन त पितृसत्ताका पतिको पावर नदेख्ने र नभोग्ने त यो कलिमा कमै होलान् । कुनै न कुनै दिन पतिका शक्तिको पावरफुल परिचय पत्नीजातिले पाएकै हुन्छन् । त्यसैले सर्वसक्तिमान पति बन्ने होडमा यी राजनैतिक दलका नेताहरू पनि जोडसँग दौडिएका छन् ।
राम्रोलाई हाम्रो हामी सबैले भन्छौँ । राम्रो पाटी हाम्रो, राम्रो नेता हाम्रो, राम्रो विचार हाम्रो, राम्रो गायक हाम्रो, राम्रो नायक हाम्रो… । यो राम्रोलाई हाम्रो भन्दै नाता लाएर नजिकिने होडमा मेरो चार वर्षे छोरो चतुरे पनि चार कदम अगाडि छ । घरमा कोही आयो भने ऊ टि.भी.मा देखाउँदै भन्ने गर्छ । ऊ हाम्रो प्रशान्त दादा, ऊ हाम्रो निखिल मामा, ऊ हाम्रो प्रधानमन्त्री, ऊ हाम्रो प्रचण्ड, ऊ हाम्रो इकु पिताङ… ।
जसरी राम्रोलाई हामीले निर्विवाद हाम्रो भन्न सक्यौँ, त्यसै गरी राम्रीलाई हामी हाम्री भन्नै सक्दैनौँ । जस्तै, राम्री केटी हाम्री, राम्री प्रेमिका हाम्री, राम्री श्रीमती हाम्री भन्ने हिम्मत कसैले गर्दैन । त्यसैले राम्रोमा सबैको सर्वाधिकार भयो तर राम्रीमा भने सबैको सँधैभरि एकाधिकार नै भएको छ ।
आजकल यहाँ एकमात्र सुन्दरी राष्ट्रको सर्वशक्तिमान पति बन्न पावर दाँज्नेहरूको ओइरो छ । यो राष्ट्रको पति बन्ने एकमात्र योग्य उम्मेदवार मै हुँ भन्नेहरूको धुइरो छ । मलाई नै संविधानसभाको शुभलगनमा वरमाला पहिर¥याई मेरी प्यारी प्रेमिका राष्ट्र मैलाई सुम्पियोस् भन्दै पावरफुल नेताहरू गला थाप्दै छन् । जसरी दुलाहा पक्षले गुणवती दुलही भित्र्याउन नाटकीय चमत्कार गर्छन् त्यसै गरी हाम्रा वृद्धे, भित्ते र सिद्धे भनिएका पार्टीका शीर्षस्थ पतिहरू पनि गुणवती राष्ट्रको पति बनी आमूल परिवर्तन ल्याउन, पर्दारहितका पात्र बन्दै छन् ।
कतै पितृसत्ताका जँड्या पतिले जस्तै प्रलोभनमा फँसाएर हाम्री सुन्दरी राष्ट्रप्रति प्रहार त गर्दैनन् ? उनको मेचीकाली फैलिएको फराकिलो शरीरमा साङ्घातिक आव्रmमण गरी, रगताम्मे पार्दै टुक््रयाउँदैनन् ? उनले लगाएका सुन्दर शिरफुल र गरगहनाहरू बियरको बोतल र सुकुटीसँग साटेर त खाँदैनन् ? लौ न ! “सुन बुढी भेटे सत्र पल्टिन्थ्यो” भनेझैँ गरेर, मेरी चिटिक्क परेकी प्यारी राष्ट्रको चिरहरण भयो भने मैले के गर्ने ?
पितृसत्ताका पतिहरूबाट प्रताडित पत्नीहरूको चित्कारसँग परिचित म पति भन्ने शब्दसँगै सशङ्कित छु । त्यसैले मलाई लाग्छ, किन यहाँ राष्ट्रपति नै बन्नुपर्ने हँ ? राष्ट्रमाता, बन्न मिल्दैन ? यो पितृसत्ताका पति त अति नै नजाती हुन्छन् । उनीहरूले माता, पिता र मित्रको जस्तो पवित्र प्रेम गर्नै जान्दैनन् । त्यसैले मिल्छ भने यी निर्दयी पतिलाई पाखा लगाएर राष्ट्रमाता, राष्ट्रपिता र सच्चा राष्ट्रमित्र बनाँै न हुन्न ?
हाल, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest










































