साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोटा सिक्का

Nepal Telecom ad

एक नेताजीले स्वयंलाई ‘चल्तीको सिक्का’ घोषणा गरेको समाचारले हतप्रभ बनायो। नेतृत्वको खडेरीले राजनीतिको उद्यान मरुभूमि प्रतीत भइरहेको बेला आँत हरहर पार्ने दर्के झ्री अकस्मात् कहाँबाट दर्कियो हँ? जिज्ञासा शान्त पार्न समाचार पछ्याउँदै जाँदा सर्लक्क बल्खुमा ‘ल्याण्ड’ हुन पुगियो। अद्भुत जिनिस फेला पार्ने एक मात्र ठाउँ बल्खु नै हो भन्नेमा विश्वस्त हुन खोज्दाखोज्दै एकाएक शीताङ्ग हुनुपर्ने भाग्य रहेछ, भएँ। त्यहाँ त ‘बल्खु नधाउने एमाले कार्यकर्ता’ को एमालेकरण पो हुँदै र’छ।

तपाईं भन्नुहोला, एमालेको एमालेकरण हुनुमा कुन नौलो बात भो र ? सुन्नुस्, कुरा मार्क्स/लेनिनसँग बालै नभए’नि एमाले; माओमा खासै दिलचस्पी नहुँदा पनि माओवादीका जिग्री र केटकेटी छँदैदेखि राजा हटाएर गणतन्त्र ल्याए कसो होला? भन्दै गम खाइबस्दा पनि दरबारको विश्वासपात्र हुनसक्ने नौझाले नेताको हो। उसो’भे असलमा के हुन् त उनी? उनी हुन् खाँटी ‘विकासवादी’! व्यक्तिको विकास नभई समाज अविकसित रहने भलिभाँती बुझेका उनी हराभरा मैदान देख्यो कि त चर्नलाई दाम्लो छिनालेर दौडिहाल्छन्।
एक त टिकट नपाएको झवाँक, त्यसमाथि ‘इम्पोर्टेड गगल्स’ लगाएको बेला संघीय समाजवादीतिर हेर्दा हराभरा फाँट देखिन गई त्यतै बुर्कुसी मारेका उनी त्योे चरन नभई हरण क्षेत्र भएको भेउ पाउनासाथ एमाले प्रवेशमा ‘ह्याटि्रक’ गर्न लाग्यारहेछन्। माले र प्रजापरिषद्को पाल चहारिसकेका उनलाई महाराजले महानगर र माओवादीले शहरी विकास प्राधिकरणमा चरचर चराएका थिए। महाराज र माओवादी दुवै सिनबाट विस्थापित भएपछि उनलाई एमालेले पुनः स्थापित बनाउन चाहेको र’छ। खुच्चिङ बजाउने वैरीहरूलाई वाल्ल पार्दै पुरानै चउरमा स्थापित हुनु उनको विशिष्ट खूबी हो। विष्णु गुप्तको चाणक्य नीति भनेझैं उनको यो खूबीलाई हामी ‘स्थापित नीति’ भनी सैद्धान्तिक जामा पहिर्‍याउन सक्छौं, जुन नेपाली राजनीतिमा फिट खाने हिट फर्मुला हुन सक्छ।

आफू एक हजारीमा खुम्चनु अलग बात, पार्टीले बेलैमा पत्याइद्या’भे लौहपुरुषलाई ‘टि्रव्युट’ स्वरुप एक सीट छाडेर काठमाडौंका सबै सीट झिरिप्प पारिदिने उनको जिकिर छ। हुन पनि हो, मान्छेमा अन्तर्निहित क्षमतालाई बेलैमा चिन्नु दुरुह कार्य हो। हामी अदनाहरू चारचौरास अभाव, अड्चन देख्छौं, उनका विलक्षण चक्षुले यत्रतत्र सम्पन्नताका स्रोतहरू देख्छ। अदनाहरूका आँखाले नेपालका जल, थल, ढल, मल जताततै पैसो नदेखी रोग–भोक मात्र देख्दा उनलाई ताज्जुब लाग्छ। दुनियाँको दुःख दूर गर्ने काविलियत भएका उनलाई आफ्ना योजनाले हावादारी नाम पाउँदा भने हल्का पोल्छ। कम्तीमा तिनलाई हुन्डरी भन्नु नि, जसको प्रबल धक्काले हल न चल भई बसेको अर्थतन्त्ररूपी चीलगाडीलाई उडाओस्!

भेजामा टक्सार माफिक समृद्धि उमार्ने तरकिव बोकेका मनुवाले ‘आफू पार्टीको पूँजी भएको’ भन्दै पूँजीको गुठुरो बल्खुमा टेबल गरिदिनु एमालेजनको अहोभाग्य हुँदै हो। चारित्रिक हिसाबले नेपाली समाज हालसालै पूँजीवादी भएको निधोमा पुगेको एमालेले अकस्मात् आइलागेको यो चेकलाई उपयुक्त ठाउँमा भजाउने विश्वास राखौं। बजारतन्त्रको जमानामा पूँजी भन्ने जिनिस होलो भएतिर बहने कुरा बताइरहनु नपर्ला। त्यसो त, मदन र बीपी भजाएको भरमा सिङ्गासिङ्गै पार्टी चल्ने दिन गए भन्ने हामी अदनालाई समेत ज्ञात भइसकेकै कुरा हो।
यस्तै के–के सोच्दासोच्दै उनी मञ्चबाट झ्रे। मैले झ्टपट सोचाइमा तगडा ब्रेक हानेर सोधें, “उपियाँझैं फड्किरहने तपाईंका लागि फेरि यही लालदरबारले रातो कार्पेट ओछ्यायो नि!”
“पार्टीले चल्तीको सिक्का चिन्यो”, उनी गजक्क परे।
“खोटा सिक्का भन्नुस् न”, मैले टोकें।
“चालु सिक्कालाई खोटा देख्ने?” उनी बिच्किए।
“असल र कमसल सिक्कालाई एकसाथ बजारमा छाड्दा कालान्तरमा खोटा सिक्का मात्र चल्तीमा रहने कुरा ग्रेशमको नियमले बताउँछ”, मैले भनें, “अर्थशास्त्रमा मात्र नभई राजनीतिमा पनि यो नियम लागू हुँदोरहेछ।”
उनले गम खाँदै सोधे, “खोटा भए’सी चल्तीमा त कन्फर्म रहन्छ नि!”
“खोटा सिक्का नै चल्तीको हुने कुरा शास्त्रसिद्ध भएकोमा आशंका नगर्नुस्!
राजनीतिको खलिहानमा तपाईंको माडीमैदानले त्यसलाई स्वयंसिद्ध पारेको छ।”
लघुवार्ताले सहमति जन्मायो, हामी हस्तमिलन गरेर अलग्गियौं।

साप्ताहिक खबरपत्रिका हिमालबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x