साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय गोबरगणेश

Nepal Telecom ad

अथ श्री गोबर गणेशाय नमः । गोबर जो छ त्यो गाईको ‘वर’ गोरु नभएर घाँसपात खाने पशुको पेटबाट फालिएको मल हो । गाईको गुहु गोबर मान्ने धारणा मान्छेको एउटा जातिसँग छ । आफूलाई ‘सभ्य’ मान्ने जाति भएको हुँदा उसले पशुको मलमूत्रलाई शुद्ध पवित्र मान्दछ र आफ्ना अनेक अनुष्ठान गो–मूत्रद्वारा शुद्ध पार्दछ । यो एकप्रकारले गोबरको महिमालाई गणेशसँग जोड्ने कथासँग सम्बन्धित छ, भन्नाले उही हात्तीमुखे बालकको कथा सम्झना गरिन्छ, जसलाई पार्वतीले महादेव विना नै जन्माएकी थिइन् । गोबर र गणेश जोडिएपछि बन्ने गोबरगणेश शब्द हाम्रो नेपाली साहित्यमा निकै प्रचलित छ । साहित्य आफै मान्छेको जीवनसँग जोडिएको हुँदा गोबरगणेशको कुरा पनि मान्छेको जीवनबाटै टिपिएको हो । गणेश जसरी जन्मेका भए पनि उनलाई पूजा अर्चना नगर्ने कोही छैनन् । एकथरीले दुबो पाती चढाउँदै लड्डु अर्पेर खुसी हुन्छन् । कोही अन्तरजातीय दम्पतिको प्रिय सन्ततिका रूपमा गणेशलाई सम्झना गर्दै बुद्धि विवेक हात्तीको जस्तो होस् भनी पूजा गर्छन् । ऋद्धि, सिद्धिका स्वामी भनेर दुई पत्नी प्रथा दीगो होस् भनी सम्झना गर्ने पनि होलान् । छुचुन्द्रोको बुद्धिमा हिँड्ने व्यक्ति भनेर गोबरगणेश भनिएको बताउने पनि छन् । परन्तु मलाई भने गोबरगणेशको तात्पर्य ऊर्जा उत्पादक शक्ति र स्थीर पदार्थको एकत्व जस्तो पो लाग्दछ ।

गोबरगणेश भन्नाले आज्ञाकारितालाई जनाउँछ । आज्ञाकारी हुनु भनेको– “हस्, हजुर, हुन्छ हजुर!” को संस्कृतिलाई अँगाल्नु हो । जे भने पनि हस् हस् भन्दै हुन्छ हुन्छ भन्दै हजुरको गजुर लगाएर आदेश पालन गर्ने परम्परालाई विनाशर्त स्वीकार्ने ‘कारिन्दा शैली’ हाम्रो नेपालमा मात्र होइन संसारका धेरैठूला र शक्तिशाली मुलुकमा पनि चलनचल्तीमा छ । किन, कसरी, केका लागि भनेर प्रश्न गर्नु अथवा यो त हुँदैन है, मिल्दैन भनेर अवज्ञा अघिसार्नु या इन्कार गर्नु भनेको त बुद्धिले काम लिनु हो । बुद्धिले काम लिँदा तर्क गरिन्छ । तर्कले तथ्यको सहारा लिन्छ । तथ्य अकाट्य हुन्छ । त्यसो हुँदा तथ्यको सट्टा कथ्यलाई नै सत्य मानेर जे भने पनि ‘हुन्छ, हुन्छ, हस्, हस् हजुर !’ भन्नु निकै सजिलो भयो । हस् हजुर ! भन्दा अनुशासित, विनम्र र आज्ञाकारी मात्र भइँदैन बरु आफूले कुनै कुरा सोच्न नपर्ने पनि हुन्छ । किन टाउको दुखाइरहनु ? जसऽअपजस जे मिले पनि माथिकै आदेशमा भइहाल्छ । माथि त माथि कति माथि ? बुद्धिमान मान्छेले तर्क गर्छ । परन्तु ‘गोबर गणेश कि जय !’ भन्ने हो भने तर्क गर्नु सरासर गलत कुरा हो । किन कसरी भनेर पचास पच्छेमा सोच्नुभन्दा एकैपल्ट ‘हस् हजुर, हुन्छ हजुर !’ भनिदिएपछि टन्टै साफ हुन्छ । त्यसैले द्वन्द्व समाधानका लागि गोबरगणेश हुनु पहिलो शर्त बन्ने गर्दछ ।

त्यसो त तपाईंलाई लाग्ला– गोबरगणेश हुनु भनेको असल मान्छे हुनु हो । असल मान्छेहरूमा अहङ्कार हुँदैन । सनातन परम्परामा तर्क गर्नु भनेको आफ्नो ‘अहम्’ अघि सार्नु हुन्छ । ‘अहम् ब्रह्मास्मी’ भन्दा होस् वा ‘तपाईंलाई के थाहा !’ भन्दा होस् व्यक्ति अभिव्यक्तिमा अहम् सवार भएको हुन्छ । अहम्को अवज्ञा हुनासाथ अनुशासन भङ्ग हुन्छ । अनुशासन भङ्ग हुँदा मान्छे विद्रोही बन्न पुग्छ र त्यस्तो मान्छे आफै दङ्ग पर्छ । समाज, सभ्यता, सदाचार र शिष्टता भन्ने कुरा सोच्न थाल्ने हो भने त ‘छुचुन्द्रे बुद्धि’ बाट पलायन भए भइहाल्यो नि ! तपाईंको विपक्षलाई लाग्ला आधुनिकता भनेको व्यक्तिवादी बन्नु हो र त्यसको चरम अभिव्यक्तिको रूप उत्तरआधुनिक हुनु हो । कुरा त्यसो होइन, कुरा उत्तरको काम दक्षिणको जहाँ जहाँ हुन्छ त्यहाँ अत्याधुनिक अवस्था पैदा हुन्छ । वास्तवमा उत्तरआधुनिक हुने हो भने आफ्नो खुट्टामा उभिनै हुँदैन जो आफ्नै खुट्टामा झुन्डिन्छु भन्छ अथवा उभिन्छु भन्छ त्यो चमेरो हो ।

केन्द्र भत्काइदेऊ, मर्यादा भाँच र मनको मझेरीमा नाच अनि पो हुन्छ वास्तवमा घर, परिवार, पति–पत्नी, पार्टी, सरकार सबैको एउटै चाहना हुन्छ अरूलाई कज्याएर आफू सप्रिनु । उनीहरूको आदेश सबैले निशर्त पालना गर्नुपर्छ । आज्ञाकारी पति पाए पत्नी प्रसन्न, हस् हस् हुन्छ हुन्छ भन्ने पत्नी पाए पति प्रसन्न भएजस्तै आज्ञाकारी असल कार्यकर्ता पाए पार्टी नेता प्रसन्न । जनताले सबै कुरा स्वीकार्दा सरकार प्रसन्न । ठूलोको आदेश होस् वा सानोको सबै नै आफ्ना भनाई, आज्ञा, आदेश अरूले खुरुखुरु मानिदिँदा खुसीले गमक्क फुल्नु सहज वृत्ति नै बनेको हुन्छ । त्यसैले गोबरगणेशको महिमा आज पनि छँदै छ । असल मान्छे हुनका लागि गोबरगणेश हुनु नितान्त जरुरी छ । अरूलाई कज्याउनु र आफ्नो शान मान बढाउनु आधुनिक संसारको संस्कृति बनेको छ । आफ्ना खुट्टामा भर गर्ने हो भने आजको संसारमा कामै चल्दैन । कार, जीप, बस, टे«न, प्लेन चढ्नै भएन । वास्तवमा भूमण्डलीकरणको युगमा आत्मनिर्भरतालाई परनिर्भरताको विकल्प बनाउने प्रयत्न गरेमा केही हुन्थ्यो कि ? नत्र हिँडेरै दुनियाँ चहार्ने चिन्तन राख्नु गोबरगणेश दर्शन नभएर अरू के होला त ? घरबाट बाहिर निस्कँदा या त भटभटे नभए खटखटे टाँगा–एक्का वा रिक्सा नभई हुँदैन भने कुमार र गणेशको कथा कण्ठस्थ पारेरै बस्नुपर्दछ ।

अन्तरद्विपीय–सभ्यताको समयमा पनि गोबरको आफ्नै महत्व छ । अमेरिकी गोगोजंको राम रमाइलो छाडेर ज्ञानबुद्धिका कुरा गर्दा हँसीमजाक नै ठहर्ला । अझ हामी त ‘देश गुनको भेष, मान्छे गुनको गोबर केश’ भन्ने आहानका पारखी नै भयौँ । त्यसैले हाम्रा लागि गणेश दियो, मीयो दुवै भइआएको छ । पूजा गणेशको, व्रत गणेशको, प्रवृत्ति गणेशको भएपछि किन गोबरगणेशको विरोध गर्नुपर्यो !

‘हस् हस्, हुन्छ हुन्छ हजुर, हजुर !’ सुन्दासुन्दै गुन्दागुन्दै मान्छेका मनले सोच्ने क्षमता गुमाइसकेको हुन्छ । त्यसो त ‘जसले सोच्छ उसले घोच्छ’ भन्ने आहान नभएको होइन तर घोचाइ पनि त फरक फरक हुन्छ । रोगको उपचार गर्न सुई लगाउनु अथवा मनोरोगको पीडा मत्थर गर्न रूई लगाउनुका बीचमा निकै अन्तर छ । मूर्तिमा बदलिने हो भने पूजनीय भइन्छ भन्ने पुरानो सोचाइलाई लोकतन्त्रको जनमतले सामन्तवादी भने पनि गणेशपूजनको परम्परालाई पुँजीवादले समेत पन्छाउन सक्दो रहेनछ । भेँडा गोठालाको हित सोचेर विद्रोह गर्ने येशु ख्रिष्ट अथवा कृष्ण कन्हैया जो हुन् ती स्वयम् मूर्तिमा बदलिएपछि उनीहरूले दिए गरेका सन्देश र कर्मकाण्डहरू सबै गोबरकै खातमा पुरिन्छन् । त्यसैले सुनको गणेश भए पनि गोबरको गणेश भए पनि जडवत् विशेषतामा नै ती व्यक्त हुने गर्दछन् र मान्छेको मस्तिष्कलाई अलौकिकताको नशामा लठ्याइदिन्छन् ।

गोबरगणेश एक आधुनिक बिम्बमा रूपान्तरित हुँदा महाआख्यानिक परम्परा भञ्जन हुन्छ र देह मिचेर निस्केको मयलबाट जन्मेको पुरानो कथाले विनिर्माण प्राप्त गर्दछ । देह मिच्दा निस्कने मयल निकै गुढार्थी बन्छ । सबै सत्यकाम जाबाल बन्न र भन्न सक्दैनन् । समय अनुसार चल्दा सत्ऽअसत्, धर्मऽविधर्म सरोबरी हुन्छ । महाभारत कथा मात्र हो या शास्त्र ? धार्मिक रूपमा अठारैवटा पुराणको सार दुई श्लोकमा सिद्धिन्छ भने त्यस्तो गोबर–गणेशी गफ न दर्शन न साहित्य ! त्यसो भए के हो त ? जेठाजु–बुहारीको सन्तान वैध मान्ने महाभारत पढेर हो वा के भएर हो पार्वती–पुत्र गणेशलाईं अवैध भन्ने हिम्मत स्वयम् महादेवलाई पनि भएन अनि कसरी कुन शास्त्र भन्नु ? तपाईंलाई लाग्ला शिवजी स्वयम् गोबरगणेश ! बुद्धको बुद्धि गोबरगणेश ! त्यत्रो राजकाज छाडेर जोगी हुनु बुद्धिको कुरा कि निर्बुद्धिको कुरा ? प्रश्न उठाउनुस् त ! तपाईं आपैm गोबरगणेशमा पर्नु हुन्छ । त्यसैले ‘चानुमानुखानु– नबोली जानू’ लाई दर्शनको तहमा व्याख्या गर्नुभन्दा अबोलामैँयाको इसारा बुझी रजनीस बन्नु वा आफूलाई कालीदास भन्नु तपाईंको हितमा देखिन्छ । त्यसो भए तपाईंलाई लाग्ला– दुनियाँ विकल्पमय छ । तर समयले तपाईंलाई निर्विकल्प बनाई ठड्याइदिएको छ । वास्तवमा गोबरगणेश हुनु भनेकै बुद्धिमानीको विकल्प हो, जब दुनियाँमा निर्विकल्प भन्ने वस्तु वा विषय छैन भने तपाईं स्वयंको विकल्प गोबरगणेश हुँदा केको आपत्ति ? हाम्रो सभ्यता र संस्कृतिले गणेशलाई नै त बुद्धिको देवता मान्दछ । ‘बुद्धिको देवतालाई छुचुन्द्रो वाहन’ भन्ने आहान तपाईंले सुनेकै कुरा हो । बरु तपाईंले नसुनेको कुरा के हो भने छुच्चो–इन्द्रले मुसाको अवतार लिएको हुँदा बुद्धिकै देवतलाई पनि बुद्धि सिकाएर सुमेरु नघुमी वरदान हात पार्न सघाएका हुन् । ‘खञ्चुवाको अवतार’ भन्दै कुबेरले गाली गरेको भए पनि त्यो तपाईंले भुल्नुभए हुन्छ । लड्डु खाने खञ्चुवाको भन्दा ‘लाउडा’ खाने खञ्चुवाहरूको बिगबिगी भएको देशमा ‘गोबरगणेश’ लाई निन्दा गर्नु भन्दा गोबरगणेशाय नमोनमः भन्दै नित्य पूजापाठ गर्नोस् ! त्यसैमा तपाईं र मपाई सबैको कल्याण छ । जय गोबरगणेश !!
पुतलीसडक, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x