साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार स्रस्टाको एकै साथ सम्झना

Nepal Telecom ad

राजविराज, १९ पुस । सगरमाथा साहित्य परिषद्ले राजविराजमा शनिबार साहित्य गोष्ठी गरी चार स्रस्टाको स्मृति दिवस मनाएको छ ।

पुस महिनामा जन्मनुभएका कवि शिरोमणी लेखनाथ पौड्याल, कवीश्वर चन्दा झा, भूपी शेरचन र पुष्कर शम्शेरको जन्मजयन्तीको अवसरमा सगरमाथा साहित्य परिषद्ले साहित्यिक कार्यक्रमको आयोजना गरेर स्मृति दिवस मनाएको हो ।

ससापका अध्यक्ष मनोहर कुमार पोखरेलको अध्यक्षता एवं राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दुई दर्जन सर्जकहरूले कविता, गजल, गीत, प्यारोडी वाचन गरेका थिए ।

सो अवसरमा कार्यकारी अधिकृत गुरुङले साहित्यले समाज विकासमा आमूल परिवर्तन ल्याउन सक्ने भन्दै साहित्यमार्फत समाज हित र सुकर्मले पृष्ठपोषण पाउनु पर्ने बताउनु भयो । साहित्य विकास र लेखनाथ पुस्तकालय सञ्चालनका लागि परिषद्सँग सहकार्य गर्न नगरपालिका तयार रहेको बताउँदै उहाँले नीति र नियमलाई नछाडी प्रकृया मिलाई अगाडि बढ्न सकिने प्रतिबद्धता जाहेर गर्नुभयो ।

ससापका पूर्व अध्यक्षहरू अनिल अनल, वैद्यनाथ झा, सल्लाहकार शिवहरि भट्टराई, नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष नथुनी दासले साहित्यकारहरूको बाटोमा लाग्न सके सकारात्मक विकासमा धेरै फड्को मार्ने र समाज परिवर्तन हुने बताउनु भयो । उहाँहरूले साहित्यकारको योगदानको कदरस्वरुप दीर्घकालिन छाप छाड्न निर्मित लेखनाथ आदर्श पुस्तकालयको संरक्षण र व्यवस्थापनमा नगरपालिकाको ध्यान आकृष्ट गर्नुभयोे ।

कार्यक्रममा ससापका अध्यक्ष पोखरेलले शिरोमणि पौड्याल, सचिव नन्दलाल आचार्यले कवीश्वर चन्दा झा र पुष्कर शमशेर तथा सदस्य इन्द्रबहादुर थापाले भूपी शेरचनको कृतित्व र व्यक्तित्वका बारे विस्तृत चर्चा गर्नुभएको थियो ।

गोष्ठीमा मन्जु श्रेष्ठ, शिवहरि भट्टराई, नन्दलाल आचार्य, किरण झा, करुणा झा, इन्द्रबहादुर थापा, सागर वीर कडारी, विजयकान्त धमला, गरिमा आचार्य, कमला भन्साली, बन्दना मिश्र, शुभचन्द्र झा, पिंकी कुमारी, दिलीपकुमार झा, बुद्ध लक्ष्मणरेखा, अरविन्दकुमार यादव, नरेन्द्र देव, अनीता चौधरी, राम सरदार, श्यामपृत मण्डल, सबीता दास, जयराम भगत मालीलगायतले रचना वाचन गर्नुभएको थियो । वाचन गरिएका रचनाहरूको मीना ठाकुर र खिलानाथ गौतमले समीक्षा गर्नुभएको थियो ।

कार्यक्रम संयोजक राजेश बिद्रोहीद्वारा स्वागत गरिएको कार्यक्रमको सञ्चालन सचिव आचार्यले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x