चट्याङ मास्टरगाली गर्नै हुन्न भन्ने के छ त ?
हो, नेताले देश बिगारे,
तपाईं जनताले पो के कति चैं बनाउनु भयो त ?
देश सबैको साझा हो भने पछि
नेताले मात्रै देश बनाउनु पर्छ भन्ने के छ त ?
हो, नेताले कुस्त धन कमाए,
के जनताले चैँ कमाएकै छैनन् त ?
अरु सबैले कमाउन हुन्छ भने
नेताले मात्रै कमाउनै हुन्न भन्ने के छ त ?
हो, नेताले जनता ढाँटे,
हामी जनताले नेतालाई ढाँटेकै छैनौँ त ?
जनताले नेतालाई ढाँट्न हुन्छ भने
नेताले चैँ जनतालाई ढाँट्नै हुन्न भन्ने के छ त ?
हो, नेताले संविधान दिन्छौँ भनेर पनि दिएनन्,
हामी जनताले दिन्छु भनेको सधैं दिएकै छौँ त ?
अरुले दिन्छु भनेर नदिन मिल्छ भने
नेताले चैँ दिन्छु भनेपछि दिनै पर्छ भन्ने के छ त ?
हो, नेताले सरकारी सम्पत्तिको दुरुपयोग गरे,
हामी जनताले चैँ सरकारी सम्पत्तिको दुरुपयोग गरेकै छैनौँ त ?
अरुले सरकारी सम्पत्तिको दुरुपयोग गर्न हुन्छ भने
नेताले मात्रै सरकारी सम्पत्तिको दुरुपयोग गर्नैहुन्न भन्ने के छ त ?
हो, नेताहरू बदमास छन्,
हामी जनता चैँ के सज्जनै मात्रै छौँ त ?
अरुहरू बदमास हुनु हुन्छ भने
नेता मात्रै सज्जन भईरहनु पर्छ भन्ने के छ त ?
जस्ता जनता उस्तै नेता भन्ने भनाइ ठिक हो भने
आफूजस्तै नेतालाई जनताले गाली गर्नु हुन्छ त ?
जस्ता नेता उस्तै जनता भन्ने भनाइ चैँ ठिक हो भने
नेता जस्तै आफूले आफैंलाई गाली गर्नै हुन्न भन्ने के छ त ?
बत्तिसपुतली, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest



































