देव भट्टराईजनावरको जगजगी
मेरो खेत पसी धमाधम सबै बाली लुटेता पनि
मैंले बोल्नु हुँदैन बाँदरहरूलाई लुटेरा भनी
हे मेरो प्रभु भन्नुपर्दछ मिठो बोलेर जोडी कर
भन्नै हुन्न कदापि बाँदरहरूलाई तँ होस् बाँदर ।
गाईको बध होस् यहाँ जतिसुकै बाख्रा हराउन् भरे
मैले भन्नु हुँदैन बाघहरूले हत्या र हिंसा गरे
मारून् हाँस कठै अबोध कुखुरा सेता परेवाहरू
गर्नै हुन्न बिरोध चीलहरूले गर्छन् बितण्डा अरू ।
साँढे आपसमा लडेर जति नै बाच्छा मिचेता पनि
मैले बोल्नु हुँदैन चुँक्क मुखले बेठीक भो यो भनी
मेरो बुद्धि विवेक लौ न अब क्यै कामै नलाग्ने भयो
भन्थेँ बोल्न त सक्छु किन्तु अहिले आवाज सुक्दै गयो ।
ठूलै क्यान्सर रोगले ग्रसित भै मर्नै म आँटे पनि
भन्नै सक्दिन अङ्ग सङ्क्रमित यो काटेर फालौँ भनी
साथी छन् बलिया जनावरहरू दायाँ र बायाँतिर
रोजै लागिरहन्छ आक्रमणमा मारिन्छु भन्ने डर ।
लमजुङ, हाल– अमेरिका
Subscribe
Login
0 Comments
Oldest






































