विष्णु प्रभातमान्छे, स्वास्नी र लोग्ने
स्वास्नी र मान्छेको संयोगबाट बनेकी नारीभन्दा भिन्न, लोग्ने मान्छेको सम्भोगबाट बनेको पुरुषभन्दा भिन्न एक्काइसौँ सदीका हामी जो छौँ ती भूपीका कविताको हामी होइनौँ– फगत पाइतालामा ठडिएका, शङ्कर लामिछानेको निबन्धका प्याज होइनौँ– फगत् एब्स्ट्राक्ट चिन्तनमा दरिएका, न त पारिजातको शिरीषका फूल हौँ हामी– जो गन्धहीनताको आवरणमा सुगन्ध कल्पिरहेका ! देवकोटा लक्ष्मीप्रसादले पोखेको पीडामा हामी पागल ठहरिऊँला तर प्रधानको विश्लेषणमा त बौलाउनु भन्दा मर्नु निको ! पुख्र्यौली आहान हाल्ने भूतका भिनाजुको उल्टो अभिव्यक्ति छ– अभिको । उनी नारायणलाई फालेर ख्याती आर्जनमा तल्लिन छन् । कुरा ठीकै हो– ओम मणिपद्मे हुम् ! भन्नेहरू त चन्द्रलोकतिर हिँडे भने नारायण भजेर सुख पाउने लोभ किन लिइ राख्ने ? प्रकृतिमा कहीँ कतै कुनै नारायणको अस्तित्व छ भने बूढानीलकण्ठमा लम्पसार परेको मूर्ति बाहेक अर्को सम्झना सजीव हुँदैन । ढुङ्गाको कलात्मक आकृति– डुङ्गाको सहारा बिना पानीमा लम्पसार ! तैरिएको हैन, बौरिएको पनि होइन– क्राइष्टको कथामा झैँ, अथवा सनातन अवतारवादमा झैँ। बिना नारी जन्मिने– बिना पुरुष जन्मने– देवताहरू छन्– मनुष्यहरू छैनन् । मनुष्यहरू होलान् अस्पतालमा बच्चा छोडेर भाग्ने तरुनीहरूलाई थाहा छ– ऊ कोसँग रमाइलो गरेकी थिई । सिस्नाको झाङमा अथवा फोहोरका थुप्रामुनी अवतार लिने शिशुलाई थाहा नहोला तर ती ठाउँमा फाल्ने निष्ठुर हातहरूलाई थाहा छ– उसले एउटा सुन्दर कलाको बिनास गरिरहेको छ । कतै त्यही हातको उपचार गर्न ऊ पछि अस्पतालमा डाक्टर भइरहेको पो छ कि ? हाम्रा अनाथालयहरूबाट पनि त अनौठा–अनौठा प्रतिभाहरू जन्मिरहेका छन् । यद्यपि ‘प्रेम भनेको यौन भावनाको विकृत रूप हो’ भन्ने पक्षमा म छैन, र म, मेरो साहित्यलाई नै अतृप्त बासनाको उच्छवास भन्ने पक्षमा पनि छैन, यी दुवै अर्थात् प्रेम र साहित्य, मान्छेका मनको अनुराग मात्र होइनन्, जीवनका पराग पनि हुन्– समय अनुसार फुल्छन् फल्छन् ढल्छन् गल्छन् ।
स्वास्नी शब्दलाई घृणाले नहेर त्यही नै देवीको निकटतम रूप हो; जसलाई तन्त्रशास्त्रले श्रृष्टिकलाको रूपमा हेर्छ । परन्तु देवत्व चढाएर होइन, मानुषी गुणमा नै एउटी नारी कल्याणकारी बन्दछे, जीवन सँगिनी हुन्छे, सँगै हाँस्छे, सँगै रुन्छे । यही संयोगले स्तुतिगान गर्दा गर्दै कविहरूले मान्छेको महिमा गाउन भुले । धर्तीमा जे छ त्यो मान्छेका लागि– मान्छेमा जे छ त्यो समाजका लागि । हामी– हामी हौँ भने समाजवादी भइहाल्छौँ, म मैँ टाक्सिएका छौँ भने हामी हुन सक्दैनौँ । प्राृकतिक छौँ भने नरनारी बराबरी ! तिनीहरूद्वारा मानवताको उपहास भइरहेको छ । अप्राकृतिक दम्भले प्राकृतिक झल्को दिए पनि त्यो कल्याणकारी हुँदैन । समलिङ्गी संसारको विकल्पले प्रकृतिमाथि विजय सम्भव छैन । सम्भावना देख्नेहरू त छन् तर ती सबैको आधार प्रकृति रहेको छ । प्रकृतिले संयोग र वियोग मात्र हैन, सम्भोग र सिर्जना पनि सँगसँगै राखेको छ । सायद दुनियाँको यही एउटा विकल्पले नरनारी बराबरीको अस्तित्वमा हामीलाई पनि सातत्य दिएको छ ।
थोरैले भन्ने गरेको तर धेरैलाई थाहै नभएको खुम्चिएको संसार, भूगोली गाऊँ र सूचना सञ्जालका बारे मेरी आमालाई सोधुँ झैँ लाग्छ । भन्न सकिन्छ, तर मेरा गाउँघरको अवस्था उपत्यकाभित्रै पनि त दर्शन भेट हुन्छ । आमाहरू नै पनि थरी थरीका छन् । त्रिसठ्ठीको जनसङ्घर्षमा सतासी वर्षे छायाँदेवी पराजुली ‘शिरमा कफन बाँधेर’ राजालाई औँला ठड्याउँछिन्– लोकतन्त्र नखोस है, लखेटिनु पर्ला ! ! ! ती पनि स्वास्नीमान्छे हुन् । व्यक्तिबाट समष्टितर्पm प्रवाहित चिन्तनधारा हुन् । एक्काइसौँ शताब्दीको मान्छे व्यक्तिवादी भएर बाँच्न सक्दैन । राहुल साङ्कृत्यायनले परिकल्पना गरेको ‘बाइसवीँ सदी’ मैले भोग गर्ने युग होइन । जसरी कुनैकुनै रचना पढुञ्जेलका लागि सीमित हुन्छन् त्यसरी नै कुनै व्यक्ति बाँचुञ्जेलका लागि मात्रै अस्तित्वमा रहन्छ । त्यस खाले अस्तित्ववादी पनि म होइन । सबै गेडागुडीलाई एकै ठाउँ पकाएर क्वाँटी खाने हाम्रो चलन छ भन्दैमा सबै वाद, विचारधारा र बोलीबचनलाई मिसाएर मेरो दर्शन निर्मित छैन । यद्यपि विशुद्ध रक्तवंशको दम्भ गर्नेहरूले झैँ पूर्ववर्ती कुनै ज्ञानको प्रभाव म मा छैन भन्ने पक्षमा पनि म छैन, त्यसैले मेरा केही लेख–रचना, निबन्ध, समीक्षा र कवितामै पनि अरूहरूका मत, मान्यता, विचारशैली र कलाको मिसमास फेला पर्न सक्छ । यो संयोगको कुरा हो र मैले सम्भोग गरेका दर्शन, विचारधारा र सत्संगको छायाँछवि पनि हो । म पुस्तकसँग खेल्छु र पुस्तकसँगै बोल्छु । कहिले त झगडा पनि गर्छु । तुलनात्मक सामथ्र्य मेरो नै बलियो छ, त्यसकारण म जित्छु र प्रत्येक पराजित पुस्तकहरूका बारेमा मेरो विजयश्री झल्कने गरेर समालोचना लेख्छु । त्यो एकप्रकारको युद्ध इतिहास बन्छ– वाणीयुद्ध, विचारयुद्ध अथवा तपाइँलाई वर्गयुद्ध भनेको मनपर्छ भने त्यो एकप्रकारको वर्गयुद्धै पनि हो । त्यहाँ मसँग मेरो कलम सारथी बने झैँ देखिन्छ तर मुख्य सारथी मभित्रको दियो हो, जो मेरा जीवनको अनुभूतिद्वारा देदिप्यमान हुन्छ । त्यही चेतनामा भोक, शोक र रोगसँग जुध्दै मैले अहिले तपाइँसँग मूकभाषामा कुरा गरिरहेको छु– मान्छे, स्वास्नी र लोग्नेका बारेमा ।
मान्छे परिभाषामा अटाउँदैन । परिभाषा मान्छेमा पनि त अटाउँदैन– सन्तान थरिथरीका ! चिन्तन विधि तरीका सबैमा भिन्नता छ, तैपनि प्रत्येकले प्रत्येकलाई आ–आफ्नै भाषा–परिभाषामा, दृष्टि–दिव्यदृष्टिमा हेर्ने, बुझ्ने, बुझाउने र बदल्ने चेष्टा गरी आएका छन् । कोही सफल कोही असफल । उदयानन्द अर्ज्यालले शक्तिबल्लभकै बाटो पक्रिए, तर विचरालाई अङ्ग्रेजी हुकुमतका सेवक जबरा वंशको शासनले निकै कक्य्रायो । अघि–अघिका विद्वान् प्रतापीहरूले मात्रै आफ्ना नाममा गोत्र चलाएका छन् भन्ने कुरालाई चुनौती दिँदै कुँवर सन्तानहरूले जबरालाई जमरा बनाई सिउरेका छन् । त्यसैले मान्छे पुरानो परिभाषा बाहिर दगुर्दै स्वास्नी खोज्छ, लोग्ने रोज्छ ! परन्तु भविष्यप्रतिको दायित्व भने आफूमा हैन समाजमा पो छ भन्छ र खितित्त हाँस्छ– नकच्चरो स्वभाव ! प्रकृति वास्तवमा नकच्चरो छ– योग–भोग, सृष्टि–सिर्जना सबैमा । कहिले ऊ बोधशून्य हुन्छ, कहिले तर्क गर्छ– मनको सागरमा लहरिँदै, जीवनको चैतन्य पाएर बुद्ध बन्न पुग्छ र भन्छ– मध्यममार्गी बन ! यो कुरा त कन्फ्युशियसले पनि त भनेका छन् । खै हाम्रा वीर–विक्रमहरूको पराक्रम ? बुद्धकालीन लोकसम्मतिलाई समेत अँगाल्न नसकेपछि कसरी एक्काइसौँ शताब्दीको कुरा थाल्ने ? काम गर्ने अग्रसरता त परै रह्यो । मान्छे महान मरेपछि हुने हुँदा बाँच्न पाउने अधिकारको कुराभन्दा मर्न पाउने अधिकारको कुरा पो सुहाउला ! कसैको अधिकार मार्न पाउने भएपछि कसैको अधिकार मर्न पाउने हुनुप¥यो । मानव अधिकार आयोग त राष्ट्रको गहना पो त ! नागरिकले सोमर्ने हक हेरचाह गर्ने अड्डा बुझेपछि पनि हुन्छ त ? इतिहास स्त्री हातबाट निर्मित सभ्यताको कथा भए पनि ती हारे ! बिजेता बनेका भगवती, दुर्गा र कालीको कथा अवचेतन मनमा प्रतिबिम्बित श्वैरकल्पना मात्र हो । त्यसैले ती मान्छे होइनन् देवी हुन् । लोग्नेहरूलाई चुनौति दिने आधुनिक नारीवादीहरूका प्रेरणा स्रोत ! मान्छेबाट नित्य पूजा खान्छन्, रगत पिउँछन् र लामा जिब्रा देखाउँदै हाँस्छन् पनि । बन्दुक बनेको युगमा भए उनीहरूका हातमा मेशिनगन हुन्थ्यो र टेङ्कमाथि चढेर अथवा रकेट–क्षेप्यास्त्रमा उडेर बम खसाल्दै गरेका हुन्थे होलान् । आफ्नो जुगको हिंस्रक जीवमा चढेर त्रिशुल हानेको दृष्यमा फरिया लगाएको भन्दा सैनिक कम्ब्याटमा तिनीहरू सजिएका हुन्थे र वरिपरि लोग्नेमान्छेहरूले हात जोडेर निहुरिएका देखिन्थे ।
मलाई थाहा छ– मनका कुरा अलि अनौठा पनि हुन्छन् । त्यसो त त्यो जीवनकै प्रतिबिम्ब हो, त्यसमा कुनै स्वर्गबाट परीहरूले ल्याएका पाहुरको पोका हुँदैनन् । वास्तवमा स्वर्गको कथा त मान्छेको मनलाई जीवन सोच्न सिकाउने काल्पनिक आख्यानमा टिकेको छ । पछिसम्मका लागि सोचेर धर्तीलाई सिँगार ! योजनाबद्ध विकास
गर ! ! स्वर्गभन्दा पृथ्वी नै सुन्दर छ, त्यसैले त ईश्वरले यहीँ नै जन्म लिने गर्दछन्– मान्छे भएर ! अनि म कसरी मान्छेभन्दा ठूलो अथवा सुखी त्यस काल्पनिक पात्रलाई मानुँ ?
बुद्ध जयन्ती
२०६१/१/२२
Subscribe
Login
0 Comments
Oldest







































