विष्णु प्रभातपैसा भए जे पनि हुन्छ ?
भैरूकाकाको वार्षिकोत्सव मनाउने तयारी भइरहेको थियो । उनका नामको पुरस्कार बाँड्ने तयारीसँगै हास्यव्यङ्ग्यकार भैरव अर्यालको नेपाली साहित्यमा के कस्तो योगदान छ भन्ने विषयमा पनि कुरा गर्ने कार्यक्रम रहेको हुँदा आशावादीलाई पनि आमन्त्रण गरिएको थियो । गाडी चढ्नासाथ या त भात ओकल्ने या बात ओकल्ने बानी भए पनि त्यस दिन अनौठो घटना घट्यो । यातायातको साधनमा ठेलम्ठेल गर्दै चढेर पुछारको सिटमा टुसुक्क बस्न पाएको हैन– घच्याक्क ब्रेक लाग्दा सब मान्छे एक अर्कामाथि खप्टिन पुगे । बस भए पनि धेरै जसो उठ्या उठ्यैमा झुन्डिएर–मुन्टिएर, ठेलिएर–पेलिएर, कतिपल्ट खल्ती सफाचट् हुँदै हिँड्नु परेको सम्झिएर होला एक जना बयोवृद्ध बूढा गायत्री फलाक्दै छेउमा बस्न आइपुगे । नेपाली संस्कार अनुरूप आशावादी अलि सर्किएर बूढालाई बस्ने ठाउँ दिए । आशावादीले बूढाको अनुहार नियाले । मोटामोटा ओठमा कलेटी परेको अनुहार छ, त्यसमाथि निधारमा कालो कोठी पनि छ । अस्थिपञ्जर जीउ भए पनि घिउ खाएका दह्रा पाखुरा छन् । लबेदा सुरुवाल माथि कोट पनि पुरानै छाँटको छ । हेर्दा हेर्दा त बूढा आफै भैरूकाका पो रहेछन् । बल्लबल्ल ठम्याए पछि आशावादीले भने– ‘दर्शन ! भैरूकाका !! दर्शन !!!’
‘चिन्न त चिन्ने रैछस् नि मोरा ! मान्छे चिनेर के हुन्छ ? मान्छेको बानी चिने पो पानीदार भइन्छ । मलाई त धेरैले चिन्दैनन्, नचिनेकै बेश ! जति धेरैले चिने उत्ति धेरै खोट बिन्ने चलन भएको ठाउँमा धेरैले नचिनेकै राम्रो !’ भैरूकाकाले भने ।
यत्तिकैमा खलाँसीले पैसा माग्न आइपुग्यो । मैले बीस रूपियाँको नोट निकालेर दिएँ । नोटमा शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रको हुप्प परेको अनुहार छापिएको हेर्दै उसले भन्यो– “अई बाजे यो नोट चल्दैन भन्ने थाहा छैन ? अर्को देऊ !”
एक मनले त नचल्ने भए किन सरकारले चलाइराखेको छ ? बटुलेर आगो लगाइदिनु पथ्र्यो नि पहिल्यै ! राजा फाल्ने नोट नफाल्ने चलन भएपछि के गर्नु त ! भनिदिऊँ झँै लागेको थियो तै सम्हालिएर भनेँ– “भारू लिन्छौ त ?”
“बरु त्यो हुन्छ !” खलाँसीले भन्यो ।
आशावादीले भारू एक सयको नोट झिकेर खलाँसीको हातमा राखिदिए ।
“लौ हेर्नोस् ! यत्रो ठूलो मान्छे– गान्धीबाबाको फोटो भएको नोट छँदाछँदै खोटो पैसा दिन खोज्ने ! कस्तो मान्छे पर्छ कहिले त ।”
“दुई जनाको भाडा कटाएर पैसा फिर्ता देऊ !” आशावादी कराए ।
“लौ लिनोस्, एक सय पैँतीस छ । बाह्र दुन्ना चौबीस, एक रूपियाँ खुद्रा भएन, बुझ्नुभो ?” खलाँसीले अथ्र्यायो ।
“दस दुना बीस काट न ! मिलिहाल्छ नि !” आशावादीले भन्यो ।
“एघार त न्यूनतम भाडा हो । अस्तिदेखि तेल नपाएको हुँदा बाह्र बनाएको ।” खलाँसीले फेरि ढाँट कुरा
ग¥यो ।
“भैगो भैगो छाडिदेऊ । सिटमा बसेबापत अलि बढी लिएको होला ।” भैरूकाकाले थपे । वरिपरिका युवायुवतीहरू गलल्ल हाँसे । खलाँसीको अनुहार भने पटक्कै बिग्रेन ।
“पैसाका लागि मान्छेले सबथोक बेच्ने जमानामा पनि तिमी नैतिकताको व्यवहार खोज्छौ । कहाँ कुरा मिल्छ ? सके ठोकठाक पारेर आफ्नो फुइँ देखाऊ, नत्र भने टाउकोलाई नुघाएर भुइँ देखाऊ ! अनि मिल्छ कुरा ।” भैरूकाकाले भने ।
“पैसाको कुरा होइन काका विधिथितिको कुरा गर्न खोजेको हो । एक रुपियाँको खिस्सा कति ठूलो छ । त्यसकै आधारमा बीसे नगर्ची इतिहास प्रसिद्ध बन्यो । सयौँलाई दैनिक एक एक रूपियाँ ठग्दा यिनीहरूको आम्दानी कति होला ?” आशावादीले आफ्नो कुरा थप्यो ।
“हेर भतिज ! थोरै भए पैसा धेरै भए धन, पउल भए पूँजी कारोवार भए मुद्रा, अथवा अर्थ वित्त जे भने पनि त्यो मान्छेको चित्तमा बस्ने पित्त बनेको छ । जसरी पित्तले हाम्रो खाद्यान्न पचाएर ऊर्जा बनाइदिन्छ त्यसरी नै पेसाले मान्छेलाई देउता बनाइदिन्छ । झूटोलाई साँचो, प्रेमलाई घृणा, सुन्दरलाई कुरूप, जीवनलाई मृत्यु र मूर्खलाई विद्वान् बनाउन सक्ने खूबी भएको कुनै एउटा वस्तु छ भने त्यो पैसा हो । पैसा भएपछि ऐसा हुन्छ भन्ने बुझेर नै पैसावालहरूले पूँजी सङ्कलन सेवाका रूपमा यी गाडीहरू गुडाइरहेका छन् र हाम्रा खल्ती उडाइरहेका छन् ।” भैरूकाकाले भने ।
“होइन काका, वीरताको गाथा, देशभक्तिको माथा, नीतिगत निष्ठा र विश्वासपूर्ण विनयी व्यवहारहरू त अझै बाँकी छन् नि ! ती त पैसामा बिकेका छैनन् ।” आशावादीले जिरह ग¥यो ।
“तिमी सरल चिन्तनमा छौ । पैसाको व्यापारमा सरलताको, इमानदारिताको र निष्ठाको कुनै मूल्य हुँदैन । ती पैसा भन्दा गौण तत्व हुन् । मान्छे जब पैसाका निम्ति बाँच्छ तब ऊ पैसाका लागि जुनसुकै ताल–बेतालमा नाच्छ । पैसाले सुन्दर तरुनी किन्छ – एउटा कुरूपले । पैसाले डिग्री, विद्वता र मानसम्मान किन्छ –अर्को मूर्खले । पैसाको बलमा प्रतिष्ठा हात पार्ने थुप्रै मान्छेहरू तिम्रा सामुन्नेमा छन् । प्रशस्त चन्दा देऊ र डाक्टरी पासको प्रमाणपत्र लेऊ । प्रशस्त चन्दा देऊ र संसद्को विधायक बन अथवा मन्त्री तिम्रो खुसी । तर पैसा भने जति या मागे जति खर्च गर बाँड र आफूलाई पैसाको स्वामी बनाऊ ! त्यसपछि अरूहरू सबै तिम्रा पछि लाग्छन् । धनवादको यो महिमा धेरै पुरानो हो भतिज ! तिम्रा मगजाँ मात्र चढेको रहेनछ ।” भैरूकाकाले अथ्र्याए ।
“तर काका पैसाले मान्छेलाई अन्धो बनाउँछ, त्यसैले त्यस्तो हुन्छ । नत्र त पैसाले न जीवन प्राप्त हुन सक्छ न सिर्जनशीलता ! पैसाले प्रतिभा जन्माउने भए त काका सारा संसारमा विद्वान्, कलाकार, साहित्यकार, आविष्कारक सबै सबै नै पैसावालका सन्तान हुनुपर्ने । मानवीय संवेदनाका अनेकौँ ज्ञान, बुद्धि र क्षमताको भण्डार साहु महाजनका सन्तान हुनुपर्ने । त्यसैले काका पैसाका भरमा दुनियाँ अडिएको नभएर दुनियाँले आफ्नो खाँचो टार्न पैसाको प्रचलन चलाएको हो ।” आशावादीले आफ्नो कुरा थप्यो ।
“पैसाले मान्छेको सृष्टि गरेन तिमीले ठिकै भन्यौ । तर मान्छेले जब पैसाको पराक्रम देख्यो, बुझ्यो र भोग्यो तबदेखि पैसा बटुल्नकै निम्ति समाजका बलिया बाङ्गा व्यक्तिहरू राजा, महाराजा, मन्त्री, नेता, साहु जमिनदार, उद्योगपति र हाकिम भएर सर्वसाधारणको शोषण गरे । मान्छे र मान्छेका बीचको सम्बन्धलाई पैसाले तौलने चलन चलाए । सात वर्षकी कन्यालाई सत्तरी वर्षका साहुहरूले उपपत्नी बनाए । आआफ्ना पल्टन बनाएर पैसा बटुल्ने परम्पराले नै आज विश्वव्यापी द्वन्द्व हुर्काएको छ । पैसाका भरमा झूटलाई सत्यसरह फैलाउने, बेइमानलाई इमानदार बनाउने र चोरलाई साधु बनाउने अड्डा, अदालत, प्रहरी प्रशासन र पार्टी नेताहरू त तिम्रा सामुन्ने नै छन् । पैसाको महिमा, बुझेर नै जर्मन कवि गेटेले, अङ्ग्रेज कवि शेक्सपियसले, नेपाली कवि लेखनाथ पौडेलले धनमहिमा लेखे । ऋग्वेददेखि ढोगभेटसम्म नै पैसाको महत्वपूर्ण स्थान छ बाबु ! यो कुरा बुझ !” भैरूकाकाले लामै कुरा सुनाए ।
“पैसा आवश्यकता पूर्तिको माल बनेर आयो । वस्तु विनिमयमा रमायो र हामीलाई देशान्तर यात्रामा सरलता दिलायो । तर काका यसको स्थान सर्वोपरी छ भन्ने कुरा ठीक होइन । यो त श्रमको सट्टामा या वस्तुको सट्टामा तुल्य मूल्य मात्र हो । सञ्चिती र शोषण हो, अन्याय हो । त्यसकारण मुद्रामुखी हुनु ठीक छैन ।” आशावादीले आफ्नो तर्क थप्यो ।
“सयौँ तर्क पनि एउटा तथ्यले पन्छाइदिन्छ आशावादी ! तिम्रा कुरामा निरीह मनुष्यको पीडा मात्र छ । समाजको सत्ता, शक्ति र सञ्चालन निरीह मान्छेले गर्दैन । मैले पनि पलायनको बाटो लिएको थिएँ । तर दुनियाँ बदल्छु भनेर कमल घोट्नेले समस्यासँग जुध्नु पर्नेरहेछ । लड्नु–भिड्नु नै त जीवन रहेछ । विचारमा वादविवाद र व्यवहारमा द्वन्द्वमय सम्वाद त कहिल्यै टुट्ने रहेनछ नि ! त्यसैले आजभोलि म पैसाको पुजारी बन्नु मनुष्यको एक सूत्रीय धर्म रहेछ भन्ठान्छु ।” भैरूकाकाले भने ।
“पूँजी भक्तहरूको मन्त्र जपेर श्रमजीवीहरूको उत्थान कसरी हुन सक्छ ? भोका नाङ्गाको पक्ष लिएर कलम चलाउने तपाईंमा यस्तो परिवर्तन कसरी आयो ?” आशावादीले आश्चर्य व्यक्त गरे ।
“हेर भतिज ! संसार चलाउने तत्व भनेकै मुद्रा बनेको जुगमा पैसाको विरोध गरेर परिश्रमको पुराण कसले लगाएको छ ? स्वयम् पाखुराको बलमा बाँचेका मान्छेहरू त पैसा भए जे पनि हुन्छ भन्दै लुटपाट, चोरीडकैती र भूमि कब्जा गर्दैछन् । भास्को डिगामा बन्दै मुद्रा सङ्कलन गरिरहेका छन् भने तिमी हामी युद्धको डढेला बीच बसेर न कोलम्बस हुन सक्छौ न त बुद्धको व्यवहार गर्न सक्छौँ ? त्यसैले तिमी आजैदेखि श्रमले नै सबै सिर्जना ग¥यो ।” भन्नुभन्दा नयाँ नेपालको नयाँ नारा –पैसाकै पछि लाग्नुपर्छ सारा !” भन्ने नीति अँगाल ! त्यसैमा तिम्रा सन्तान दर सन्तानको जय हुनेछ ।” भैरूकाकाले प्रष्ट पारे ।
यत्तिकैमा बस जोरपाटी चोकमा रोकियो । दुवै जना झ¥यौँ भैरूकाका पार्कको मूर्ति हेर्दै थिए– “कस्तो विरूप पारेछन् छ्या !” भन्दाभन्दै अलप भए । म भने उनैका बारेमा मन्तव्य दिन अभिनय हलतर्फ लम्किँदै थिएँ । त्यत्तिकैमा लक्ष्मीले झकझक्याउँदै भनिन्— होइन, आज अफिस जानु पर्दैन कि के हो ? यति बेलासम्म पनि नउठेको ?”
“ओहो ! भसक्कै पो सुतिएछ !” भन्दै उठेँ र भर्खर देखेको सपना सम्झँदै बाथरूमतिर दौडेँ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































