लेख निरौलाटाटुको जादुगरी
बिहेभोजमा टाटु मैले नियालेँ
भुतुक्कै परेँ दृष्टि आफैँ सम्हालेँ
अहो ! टाटु कस्तो विचित्रै विचित्र
जहाँ दृष्टि पथ्र्यो त्यहीँ चित्र भित्र ।।
नियालूँ कहाँसम्म आँखा म लाऊँ
नलाऊँ कि भन्दा उनीसामु ठाउँ
कतै झुक्किइन् वा हतारो भयो कि
कुनै ढाक्न सक्ने लुगा खुस्कियो कि ! ।।
उही चाल उस्तै तिनै टाटु देख्छु
जहाँ हेर्न आँखासँगै फेरि पुग्छु
उता फर्किएँ नै नहेरूँ भनेर
उनी फेरि डुल्दै पुगिन् आफूनेर ।।
लहंगा सजेको मुहारै बलेको
जता हेर्न खोजे त्यतै चम्किएको
जहाँ खाली हिस्सा त्यहाँ टाटु सारा
फुलेछन् भनूँ खै हिमाली किनारा ।।
म जाडो भई कोटमै काम्न खोज्छु
कफी खोज गर्दै त्यतै लाग्न खोज्छु
उनी फेरि देख्छु चिसो खान बस्छिन्
न जाडो त्यहाँ पस्छ झैँ मस्किइन्छिन् ।।
बिहेभोज भन्दा उनी मोज देखेँ
सबै टाटुभित्रै नयाँ जोस देखेँ
जता छिन् उनी दृष्टि आफैँ त्यहाँ छ
यता भोजमा ती बधू शून्य भा’छ ।।
लुगा भेषभूषा नयाँ चिन्न सक्थेँ
कतै नक्कली सक्कली रत्न चिन्थेँ
बुढै पो भएछु न टाटु बुझेँ नै
बिहेभोज भन्दा म आफू बुझेँ नै ।।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































