विश्व विनोदअङ्ग्रेजीको कमाल
न त अङ्ग्रेजीको कमाल लेख्ने भनियो तर कमाल भन्ने शब्द नेपालीहो हैन भनेर कपाल कन्याएको छु । अङ्ग्रेजी पढ्नुको मज्जा नै बेग्लै हुन्थ्यो कुनै बेला । म पनि बोर्डिङ स्कुल पढेको बेला एक जना हजुरआमा आउनु भयो र भन्नु भो– ए बाबु त बोर्डिङ स्कुलमा पढेका रहेचौ, अङ्ग्रेजीले जीउ गाल्छ रे, दिनको यौटा अण्डा खानु है । मैले सोचेँ यो पनि अङ्ग्रेजी भाषाप्रतिको यौटा गाउँले दृष्टिकोण हो ।
कनिकुथी अङ्ग्रेजी पढियो तर अझै पोख्त भइएको छैन । तिलिचो ताल घुम्न जाँदा खाङ्सार गाउँ नजिक बाटो बिराएको एक जना सेतो छालावाला कुइरे पो भेट भयो । बिचरा बाटो मात्र बिराएको रहेनछ उसले उचाईको कारण बिरामी भएको रहेछ । सँगै गएका अन्य साथी अङ्ग्रेजीमा त्यति पारङ्गत नभएको हुँदा आफूले आफैंलाई अङ्ग्रेजी बोल्ने टोपल्ने भएको त उसलाई नै दिनभर सेवा सुसुर्को गरेर आधा दिन बित्यो । यो पनि अङ्ग्रेजीको कमाल नै हो । त्यति बेला ऊसँग खिचेको फोटो यसो फेसबुकमा राखेको मात्र के थिएँ एक जना आफन्त मेरो घरमा आएर भन्नु भो– लौन बाबु तपाईको विदेशीसँग उठबस रहेछ, मेरो छोरोलाई विदेश पठाई दिनु प¥यो … । म दङ्ग भएँ अङ्ग्रेजी र सेतो छालाको रजाइँको चालामाला देखेर ।
यहाँ हामी चर्पी भन्न डराउँछौ अझ पाईखाना र शौचालय शब्द शब्दकोषमा सिमित भए तर त्यही चर्पी शब्दको सट्टामा हामी ट्वाइलेट र रेष्टरुम भनेर आधुनिक भएको स्वाङ पार्नुमा हामी बौद्घिकता देख्दछौं । हजुरबाले बाँसका पट्याँस, पात, कोदोको भुस जोरजाम पारेर जाडोको सिजनमा बेलुकीपख आगो बालेको र आगो तापेको मान्छे पनि म नै हुँ तर आज कलमलाई त्यो कार्यलाई आलु नै पोलेर खाए पनि क्याम्पफायर भन्न मन लाग्छ किनकि आधुनिक बन्ने रहर र अङ्ग्रेजीको रवाफ देखाउने रहर सबैलाई हुन्छ ।
यहाँ ग्यास्ट्रिकलाई राम्रोसँग उच्चारण गर्न नजानेर ग्याँटिस भनिदिन्छन् बुढापाकाहरू । अस्पताल र हस्पिटलको सम्मिश्रणयुक्त शब्द हस्पताल भन्नेहरू पनि एकाथरी मानिसहरू छन् । खुबीलाई अङ्ग्रेजीमा एबिलिटी भन्छन् तर आजकल खुबिलिटी भन्ने शब्द पनि प्रचलनमा आएको धेरै भएको छैन । एक दिन मेरो गाउँले बुढीआमैले नातिलाई पढेन भनेर खुब हप्काउँदै हुनुहुन्थ्यो, त्यति नै बेला म पुगेर उहाँलाई सोधें– आमा तपाईं किन रिसाउनु भएको हँ ? उहाँले भन्नु भयो– यो नाति मोरोले पढेन अनि टेन्सन भो बाबु । म त छक्क परें, कपाल फुलेकी चार बिसा काटेकी हजुरआमाको मुखबाट अङ्ग्रेजी शब्दको प्रयोग हुँदा, त्यसैले मैले उत्निखेरै उहाँलाई सोधें– हजुरआमा यो छ नि टेन्सन भन्ने शब्दको अर्थ के हो ?उहाँले उत्तर दिँदा अर्को अङ्ग्रेजी शब्दको प्रयोगले त झन् म झसङ्ग भएँ । कारण उहाँको उत्तर यस्तो थियो– खै बाबु यो टेन्सनको मिनिङ नबुझेर मलाई नै टेन्सनभा’को छ । वाह ! उहाँले त झन् मिनिङ भन्ने अर्को शब्दको लर्को लगाइदिनु पनि भयो ।
घरबाट शहर पढ्न निस्केको छोराले बजारमा बुहारी भित्र्यायो भनेर अत्तालिएकी गाउँले एक जना आमाले मलाई भन्नु भो– हेर्नुस् न बाबु छोरालाई बजारमा फोन गरेको जहिले पनि बुहारीले अङ्ग्रेजीमा बोलेर हैरान पार्छिन्, के के भन्न खोजेकी हुन् लौन मलाई सुनेर बताई दिनुस्न । मैले ती आमाको कुरालाई शिरोपर गरेर उनको छोरालाई फोन हानेको त मोबाई स्विच अफ भन्दो रहेछ । ती आमाले त्यही कुरालाई बुहारीले अङ्ग्रेजीमा बोलेकोे भन्ठानिछिन् । पछि त गाउँमा झन् मज्जाको हल्लाभो तल्लाघरे सुईदारनीकी बुहारी त कुइरेनी रे, सासूुसँग अङ्ग्रेजीमा बोल्छे रे । वाह ! यो पनि अङ्ग्रेजीकै कमाल हो ।
समय बदलिएपछि बिचार बदलिन्छ । जति जति अङ्ग्रेजी सिक्दै गईयो, त्यति त्यति शब्दकोषको आवश्यकता पर्ने रहेछ । आजकल जुनसुकै घरमा पनि अङ्ग्रेजीको शब्दकोषले डेरा जमाएको पाईन्छ । एक दिन तल्लाघरे जेठाले कुनचाहीँ नेपाली शब्द जानेनछ अनि मलाई भन्यो– अङ्कल ! तपाईंकहाँ नेपाली डिक्सनरी छ ? वाह ! उसले मलाई अङ्कल त भन्यो भन्यो, नेपाली शब्दकोष नभनेर डिक्सनरी पनि भन्न भ्यायो । यही हो अङ्ग्रेजीको कमाल । हाम्रा घरमा नेपाली शब्दकोष नभई अङ्ग्रेजी शब्दकोषको किताब हुनु अङ्ग्रेजी भाषाप्रतिको मोह नै त हो ।
आजकल गाउँघरका बिद्यालय रित्तिएका छन् । गाउँमा बिकास पु¥याए पनि मानिस भने गङ्गाजल निर्मल उँधै सलल भने झैं तलबजार तिरै झरिरहेछन् । श्रीमानको भिषाझरेपछि पोको पुन्तुरो बोकेर बजारमा छोरा छोरीलाई अङ्ग्रेजी पढाउने रहरमाबजार झर्नेको प्रतिशत नापेर नापी साध्य नै छैन ।
कि अङ्ग्रेजी बोल्दै नबोल्नु, बोलेपछि मज्जाले शुद्घ बोल्नु नि । म एक पटक काठमाडौंको एक नीजि विद्यालयमा पढाउँदा त्यहाँकी संस्थापक शिक्षिकाले कनिकुथि अङ्ग्रेजी बोलेको देखेर टिठ लागेर आयो । उनले विद्यार्थीलाई छालाको जुत्ता लगाएर नआएकाले मज्जाले हपारीरहेकी रहिछन् । छालाका जुत्ता लगाएर आऊ भन्नको लागि उनी यसो भन्दै थिईन्– टुमारो कमविथ स्किन सु । यहाँ छालाको जुत्तालाई लेदर भन्नु पर्ने माउनले स्किन सु भनेकी छन् अझ सुज् भन्नु पर्नेमा यौटा सुज भनेकी छन् ।
गाउँको सन्ते एकाबिहानै बासिभात भुटेर खान लागेको रहेछ । संयोगबस म त्यहाँपुग्दा के खान लाग्यौ भनेर सोधेको थिएँ । उसले भन्यो– ए दाइ ! म त फ्राई राईस खान लागेको ….। वाह ! हामी बासीभात खाएर फ्राई राइसको धाक लगाइरहेछौं । के छ बासीभात भन्नु र फ्राई राईसको फरक । सोच त हैन ? यहाँ च्याउको झोल भन्न लाज लागेर मसरुम सुप भनेर अङ्ग्रेजी मोह देखाउनु कुनै नौलो भएन । अङ्ग्रेजी नपढ्ने हैन, पढ्नु पर्छ तर अङ्ग्रेजीलाई कत्तिको आत्मसात गर्ने भनेर जान्नु पर्छ । महाकवि देवकोटाले पनि अङ्ग्रेजी पढेकै हुन्, ताना शर्माले पनि अङ्ग्रेजी पढेकै हुन् तर उनीहरूले अङ्ग्रेजीमा ताना बाना गरेको सुनिएन तर हामी नयाँ जोगीले खरानी धेरै घस्छ भन्ने उखानलाई प्रमाणित गरिरहेका छौं ।
अङ्ग्रेजीले कतिलाई पढाइको मामलामा पन्चवर्षीय योजनामा पारिदिएको रहेछ अनि पीडित बनाएको रहेछ । उदाहरणको लागि गाउँको यौटा गुरुङ बिद्यार्थी आफ्नो मातृभाषा सिक्न छाडेर नेपालीभाषा सिक्न नपाउँदै उसलाई अङ्ग्रेजी भाषा सिकाउन थालिन्छ । तर उसलाई अङ्ग्रेजी पढ्न निकै कठिन हुन्छ तर क्याम्पसमा पढाउने माध्यम नेपाली हुन्छ, तर प्रश्न अङ्ग्रेजीमा सोधिन्छ । अनि ऊ प्रश्नको बीचबाटै तिल्मिलाउँछ अनि वर्षेनी फेल भएर पन्चवर्षीय योजनामा मात्र उसले आफ्नो पढाई पार लगाउँछ । यहाँका आदिबासी जनजाति आफ्नो भाष ाबुझ्दैनन् तर अङ्ग्रेजीलाई मुख्यभाषा मानेर क्याम्पस पढेका पनि तपाईले देख्नु भएकै होलानि हैन ?
यहाँआमालाई ममिभनेर मारिन्छ । ममिको अर्थ जिउँदो भन्ने रहन्न । काकी काकाभन्न नचाहेर भाषामा डाँका लगाइएको छ । पाकघर भन्नु भन्दा किचन भन्ने प्रबृत्ति हाम्रै हो । टाई सुट लाएर अङ्ग्रेजीपन आउँथ्यो भने सबैले टाईका हजुरबाउ लगाउँथे होलान अङ्ग्रेजी सिक्नलाई । नेपाली मुलका अङ्ग्रेजी बोल्नेलाई यौटा प्रश्न– यिनीहरू कुन भाषामा सपना देख्छन् हँ ?जदौ ।
बेसीशहर नगरपालिका– ७, लमजुङ
Subscribe
Login
0 Comments
Oldest








































