लक्ष्मण नेवटियाछाना छैन, खाना छैन…
भीरमा फुलेको फूल जस्तो जिन्दगी नेपालीको
कति गाउँ दुखको गाथा, उकाली ओरालीको ।
भुइँचालोले चाला चाल्यो, दिउँसै लुटी हाल्यो
भत्ताभुङ्ग पार्यो जीवन, टुप्पो बाटै फाल्यो ।
छाना छैन, खाना छैन, खर्चिन खजाना छैन
पीडा छन् पहाड जत्रा, बस्ने ठेगाना छैन ।
ढ्याङ्ग्रो न ढोल बजायो, सट्ट आइ गएछ,
चुर्लम्म नै डुबायो दुखमा, बांकी नै के रहेछ ।
चिसिएर चुसिएर, बोली पनि मास्सिएछ,
चिच्याएर रुँदारुँदै, घाँटी स्याप्पै भास्सिएछ ।
हिजो न्यानो सुखको घर थियो, बनेछ बगर,
भुइँचालोको डरले थर थर गाउँ र सहर ।
खुशी थियौँ हिजोसम्म, आज चीरा पर्यो,
विधाताले हामीसँग, गर्न सम्म गर्यो ।
पीडा कति ? जति भन्नुस्, भनी सकिँदैन,
दुखेसोलाई पोख्ने भाँडो, कतै पाइँदैन ।
पीडा कति हुँदो रहेछ, आफन्तसँग छुट्दा,
निष्ठुरीलाई लाजै लागेन, बेस्सरी आइ चुट्दा ।
नदी किनारको मुढा जस्तै, सुस्ताइ के हुन्छ,
छाल आउंछ कि ? किन पर्खने, आफै पौडिनु पर्छ ।
नुनिलो आँसु लुकी पिएर, कोकाहलमा बाँच्दा,
भोगाइ त भोग्नै पर्छ, के नै हुन्छ भाग्दा ।
जीत हार नै हो जीवन, फेरि जित्नै पर्छ,
बस्तीहरू विरानेर, विदेशिए के हुन्छ ।
एक ढिक्का हुनै पर्छ, सुत्ने होइन जागौं,
भत्किएको देश बनाउन, हौसिएर लागौं ।
विराटनगर
Subscribe
Login
0 Comments
Oldest








































