सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एघारौँ साउती हास्यव्यङ्ग्य कविगोष्ठी

Nepal Telecom ad

साउती परिवार सिलगडीबाट प्रकाशित हुँदै आएको साउती हास्यव्यङ्ग्य कविता सङ्कलनको ११ औँ भागको २०७२।०४।०३गते तदनुसार १९ जुलाई २०१५ का दिन सिलगडीस्थित समाज सेवा समितिको भवनमा भव्यरुपमा सम्पन्न गरिएको छ ।

दुई चरणमा विभाजित कार्यक्रममा पहिलो चरणमा साउती हास्यव्यङ्ग्य सङ्कलन ११ औँ भागको विमोचन र उक्त पुस्तकभित्र प्रकाशित हास्यव्यङ्ग्य कविताहरू सम्वन्धित कविहरूबाटै वाचन गर्ने कार्यक्रम रहेको थियो । यस चरणको कार्यक्रमको अध्यक्षता पूर्व विधायक एवम् साहित्यकार श्री तुलसी भट्टराईले गर्नु भएको थियो । कार्यक्रममा भारतका विभिन्न क्षेत्रबाट कवि तथा साहित्यकारहरूको खचाखच उपस्थिति रहेको थियो । सी. पी. गिरी, शुकमान मोक्तान, मित्रदेव शर्मा, गोपाल सिं विश्व, मिलन रुचाल, लोकनाथ उपाध्याय चापागाईँ, युवराज प्रधान, प्रा. नरेशचन्द्र खाती, मिमलाल सापकोटा, नरबहादुर दाहाल, गोपिचन्द्र प्रधान लगायत झापा सुरुङ्गाबाट कोमलप्रसाद पोखरेल, चन्द्रगडीबाट देवीचरण भण्डारी, गीता भण्डारी, कृष्ण सुवेदी निराकार, खगिन्द्रा खुशी र गौरादहबाट पनि तीनजनाको सहभागिता रहेको थियो ।

साउती परिवारले प्रत्येक वर्ष प्रकाशित गर्ने साउती हाँस्यब्यङ्ग्य सङ्कलनका लागि हास्यव्यङ्ग्यकार कविहरूसँग कविता माग्दछ र सङ्कलित कविताहरूमध्ये उत्कृष्ट ठहरिएका कविताहरू मात्र प्रकाशित गर्ने र यसरी प्रकाशित भएका कविताका लेखक कविहरूलाई बोलाएर कवि स्वयंलाई वाचन गर्न लगाउने गर्दछ । वाचन गरिएका कविताहरूमध्ये स्रोताको भोटका आधारमा उत्कृष्ट तीनजना कविहरूलाई साउती कवि सम्मान पुरस्कारबाट सम्मानित तथा पुरस्कृत गर्ने गरिन्छ । त्यसैगरी तीनजना स्रोताहरूलाई साउती स्रोता सम्मान पुरस्कारबाट सम्मानित तथा पुरस्कृत गर्ने गरिन्छ ।

भानुभक्तको तस्वीरमा माल्यार्पण गरि साउती हास्यव्यङ्ग्य सङ्कलन ११ औँ भागको विमोचन कार्यक्रमका अध्यक्ष तथा मञ्चासिन अतिथिहरूले गर्नु भएको थियो । तत्पश्चात साउतीको ११औँ भागमा कविता प्रकाशित हुने कविहरूले कविता वाचन गर्नु भएको थियो । जम्मा १८जना कविहरूका कविता प्रकाशन भएको यस अङ्कमा कार्यक्रममा १५जना कविहरू मात्र उपस्थित भएकाले १५ वटा कविता मात्र वाचन गरिएको थियो । यसरी कविता वाचन गर्नेहरूमा डा इन्दु प्रभा देवी गुवाहटी, (सपनामा अस्ति मैँले लिमरिक लेखेँछु), इन्द्र गिरी सिलगढी (ट्रिप टु संघाई ), उषा शर्मा गान्तोक (म के गरुँ), कालुसिंह रनपहेली (बिजुलीको बिल), कोमल प्रसाद पोखरेल झापा (दुर्बुद्धि विनोद), जीवन अधिकारी बाघडुग्रा (सम्वर्धना), तिलक लम्साल सिलगढी (मन खोलेर हाँस्ने लक्षण छैन), दीपक दवाडी तेजपुर, असम (चङ्खे केही मुक्तक), देवीचरण भण्डारी झापा (प्यारो मोटर साईकल), पवन राई नामदुंग धजे (झण्डाको मौसम), पूर्ण कुमार शर्मा शोणितपुर, असम (एक्लो बृहस्पति झुटो), मातृका शर्मा गान्तोक (पैसा कमाउनु पर्यो), सचिन दर्नाल सिलगढी (कस्तो बिजोग), सुकराज दियाली सिलगढी (सुगर), होमनाथ शर्मा सिलगढी (भुँडी) वाचन गरिएका कविताहरूमध्ये स्रोताको मतको आधारमा दीपक दवाडी, देवीचरण भण्डारी र उषा शर्मा साउती कवि सम्मानबाट सम्मानित तथा पुरस्कृत हुनु भएको थियो ।

यसैगरी स्रोताहरूमध्ये गोला प्रथाबाट गीता भण्डारी समेत ३ जनालाई साउती श्रोता सम्मानबाट सम्मानित तथा पुरस्कृत गरिएको थियो । वाचन गरिएका कविताहरूको समीक्षा लोकनाथ उपाध्याय चापागाईँले गर्नु भएको थियो ।

दोस्रो चरणमा तीनवटा पुस्तकहरूको बिमोचन गरिएको थियो । मुक्तिप्रसाद उपाध्याय र कार्तिकेय घिमिरेले सम्पादन गर्नु भएको चौरासीका नगेन्द्र, मुक्ति वरालद्वारा लिखित भारतमा नेपाली बाल साहित्य र बलराम उपाध्यायद्वारा लिखित शब्द बाँण लिमरिक हास्यव्यङ्ग्य सङ्ग्रहको विमोचन गरिएको थियो । विमोचित कृतिहरूको समीक्षा क्रमश नर बहादुर दाहाल, गोपिचन्द्र प्रधान र मित्रदेव शर्माले गर्नु भएको थियो । पहिलो चरणको कार्यक्रमको सञ्चालन कृष्ण बस्नेतले र दोस्रो चरणको सञ्चालन तिलक लम्सालले गर्नु भएको थियो । दोस्रो चरणको कार्यक्रमको अध्यक्षता युवराज काफ्लेले गर्नु भएको थियो ।
–देवीचरण भण्डारी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad