विमल निभाकेही त गरें
जिल्लाको परिचित सभासदलाई देखेर पहिले त मैले बाटो छलेर अघि बढ्न खोजेको थिएँ, तर उनको एकजोडा आँखा पनि ममा परेकोले नचाहँदा-नचाहँदै पनि रोकिनुपर्यो । के गर्न सकिन्छ ? अन्ततः माननीयज्यूको पदेन गरिमालाई ख्याल गरेर मैले नै अभिवादनको हात उचालेँ, \’जय नेपाल माननीयज्यू ।\’
\’जय नेपाल ।\’
\’कहाँबाट माननीयज्यू ?\’ मैले कुरा अघि बढाउन चालु टाइप प्रश्न गरें । \’अब कहाँबाट भन्नु, त्यहींबाट नि ।\’ उनी निरुद्देश्य मुस्कुराए, \’यसो संविधानसभा भएर आउँदैछु ।\’
\’अहिले संविधानसभा अचालु अवस्थामा होइन र ?\’
\’कसले भन्यो तपाईंलाई ?\’ उनी एक्कासी पडकए, त्यसपछि शान्त भएर भने, \’कुरो यस्तो होइन ।\’ एकछिन रोकिए, \’तर मलाई के फरक पर्छ ? संविधानसभा चालु होस् या नहोस्, म त सधैं जाने गर्छु ।\’ अनायास मुस्कुराए, \’मेरो त त्यहाँ जाने बानी नै परिसकेको छ ।\’ र आखिरीमा गम्भीर भएर भने, \’कहिलेकाहीं त म बिहान-बिहानै पनि संविधानसभा पुग्ने गर्छु ।\’
\’यसो स्वयम्भूतिर मर्निङवाक गर्न भनी घरबाट निस्कन्छु, तर कुन्नि कसरी उल्टो दिसामा रहेको संविधानसभा भवनसम्म पुग्छु ।\’ उनले आफैं अचम्म मान्दै थपे, \’त्यहा पुगेपछि बल्ल मलाई नयाँबानेश्वरमा पो आइपुगेछु भन्ने थाहा हुन्छ ।\’
\’यो के भएको हो ?\’ मैले पनि अचम्म मानेँ, \’कतै तपाईलाई कुनै नौलो खालको रोग त लागेन माननीयज्यू ?\’
\’मलाई के रोग लाग्छ ?\’ उनले मुख बिगारे, \’म संविधानसभाको एक पूर्ण स्वस्थ सभासद हुँ ।\’
\’ठिकै हो ।\’ मेरो अनावश्यक चिन्ता जारी थियो, \’तर एकपटक कुनै विशेषज्ञ डाक्टरलाई देखाउँदैमा के हुन्छ ?\’
मलाई आँखा खुम्च्याएर हेरे उनले । यसमा थोरै स्पष्टताको भाव थियो । अतः चर्को स्वरमा भने, \’नचाहिँदो कुरो नगर्नाेस्, मसँग ।\’ क्रोध बढेको थियो, \’हेर्नाेस्, मेरो काम नै संविधानसभासम्म पुग्नु हो ।\’ केही मत्थर भए, \’अब जसरी पुगे पनि के भयो ?\’
\’एक सभासदको नाताले मैले संविधानसभासम्म पुगे भएन र ?\’ एकछिनपछि विस्तारै मानौं आफैंसँग भने ।
\’तर संविधानसभा पुगेर के फाइदा ?\’ मैले पनि विस्तारै भनेँ, \’एउटा संविधानसम्म ल्याउन सक्नुभएन माननीयज्यू ।\’
एकाएक मेरो जिल्लाको माननीय सभासदको ओठको कापबाट गाली निस्कियो । म हडबडाएँ । तर फोहोर-फोहोर गालीहरू मलाई नभएर संविधानसभाका विरोधी दलका सभासदहरूतर्फ लक्षित थियो । त्यसकारण पूर्ववत स्थितिमा फर्किएर मैले गाली गराइलाई रोक्न अर्थात् कुराकानीलाई अन्तै मोड्ने प्रयास गरें, \’अनि जिल्लाको हालखबर के छ नि माननीयज्यू ?\’
\’राम्रो छ ।\’ उनी सहसा शान्त भए, \’म भोलि बिहानको फ्लाइटबाट त्यतैतिर जाँदैछु ।\’
\’किन माननीयज्यू ?\’
\’अब किन भन्ने ?\’ उनको अनुहार उज्यालो भयो, \’मैले आफ्ना बाख्राहरूतिर पनि ध्यान दिनुपरेन त ?\’
\’कस्तो बाख्रा ?\’ हाम्रो कुराकानीमा एक्कासी बाख्रोको प्रवेश भएकोले म अलमलिएँ ।
\’तपाईलाई थाहै छ, पोहोरदेखि मैले बाख्रापालन थालेको छु ।\’ उनले प्रसन्नताका साथ भनेंँ, \’हाम्रो पहाडको गामठाममा यो उत्तम व्यवसाय हो भन्ने तपाईलाई पनि थाहै छ ।\’ उनको प्रसन्नता बढेको थियो, \’भारतको हरियाणाबाट एकैपटक साढे तीन सयजति उन्नत नश्लको बाख्रा झिकाएको थिएँ । अहिले यति चाँडै बाख्राको संख्याले हजार नाघिसकेको छ ।\’ र अगाडिको दुई दाँत देखाएर हाँसे, \’यही वर्षमा दुई हजार कटाउने पक्का योजना बनाएको छु ।\’
\’संविधानसभामा संविधानको काम नभइरहेकाले बाख्रा पाल्ने काममा लाग्नुभएको होला ।\’ म पनि हासेँ, \’होइन त माननीयज्यू ?\’
\’तपाई मलाई व्यंग्य गरिरहनुभएको छ ?\’
\’होइन-होइन, माननीयज्यू ।\’
\’मेरा कतिपय माननीय मित्रहरू त्यहाँको आमदानीबाट घर, जग्गा, गरगहना, नगद आदि जोडिरहेको बखतमा मैले बाख्रा पालेर के बिराएँ ?\’ उनी गम्भीर भए, \’संविधानसभाका सभासदहरूले केही गरेन भन्नेहरूलाई मेरो तर्फबाट जवाफ हो यो ।\’
\’तपाईहरू जेसुकै भन्नोस् ।\’ उनको गम्भीरता हात्तै बढेको थियो, \’मैले बाख्रापालन गरेर केही
त गरें ।\’
(यसपछिको हाम्रो संवाद त्यति महत्त्वपूर्ण नभएकोले यहीं समाप्त गरिन्छ ।)
कान्तिपुर दैनिक
Subscribe
Login
0 Comments
Oldest








































