सुलसुलेगायत्रीको ‘आँखाको निसाना’ विमोचन
काठमाडौँ, २३ साउन । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले गायत्री विष्टद्वारा लिखित ‘आँखाको निसाना’ कथासङ्ग्रह र रमेश थापाद्वारा लिखित ‘धुनका रङ्ग’हरू कविता सङ्ग्रहको विमोचन गरेका छन् ।
पाकिस्तानी साहित्यकार जाहिदा हिनाद्वारा लिखित ‘तिथलिन लुधनिन वाली’ नामक पुस्तकको विष्टले ‘आँखाको निसाना’ नामक कृतिका रूपमा नेपाली भाषामा अनुवाद गरेकी हुन् । लेखिका विष्टकी छोरी विज्ञता कार्कीको १४औँ जन्मोत्सवका अवसरमा आयोजना गरेको विमोचन कार्यक्रममा परराष्ट्रमन्त्री पाण्डेले विमोचित कृतिले नेपालको साहित्यिक क्षेत्रमा नयाँ आयाम थपेको बताए ।
उनले पाकिस्तानको उर्दू भाषामा लिखित कृतिलाई नेपाली भाषामा अनुवाद गरेर आम पाठकमाझ पस्कन सफल भएको भन्दै लेखिका विष्टको सराहना गरे । नेपालका लागि पाकिस्तानका राजदूत अर्शद साउद खोसाले नेपाली भाषा ज्यादै कठिन भएको भन्दै आफ्नो देशको साहित्यलाई नेपालमा पस्केको भन्दै साहित्यकार विष्टप्रति आभार व्यक्त गरे ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् संस्कृतिक विभाग प्रमुख खगेन्द्र राईले विदेशी साहित्यलाई नेपाली भाषामा अनुवाद गर्ने कार्य कठिन भएको बताउँदै नेपाली साहित्यको पनि विदेशमा प्रचारप्रसार गर्नु आवश्यक रहेको औँल्याए ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्र देव गिरीले पाकिस्तानी साहित्यकार जाहिदा हिनाको कथालाई नेपालीमा अनुवाद गरेकामा धन्यवाद दिँदै कथासङ्ग्र्रहले समुद्रको वातावरणको चित्रण गरेको बताए ।
समारोहका अध्यक्ष एवम् साहित्यकार प्रदिप नेपालले अनुवाद गरिएको कृति पठनीय र अनुकरणीय भएको बताए । लेखिका विष्टले हालसम्म डेढ दर्जन पुस्तक लेखिसकेकी छिन् ।
Subscribe
Login
0 Comments
Oldest












































