काेमलप्रसाद पोखरेलअथ उत्तरआधुनिक स्तोत्रम्
हाम्रा सांसद नेपाली नामका मात्र छन् तर,
उर्वसी ओठमा लाली घसेर बस्तछे वर ।
निजी सचिव छे आफैं कखरा पनि जान्दिन,
किन हो घरमा झ्याम्ले नराखे बस्न मान्दिन ।
रोस्टम् घेर्नुपरे त्याहाँ पहिल्यै झट्ट पुग्दछे,
अर्का सांसदले आँखा झिम्क्याए मख्ख पर्दछे ।
राजधानी बसी काली कर्णालीमा छु भन्दछे
मेचीका साँधको खम्बा टनक्पुर्भित्र गन्दछे ।
सांसद् नै हुन् बडा मान्छे यिनै हुन् जननायक,
भनी भत्ता थपे धेरै हर्षले आँसु झार्दछे ।
बसाहा मन्त्रि छन् जस्का सालासाली त स्याल छन्,
झर्ला र खाउँला भन्दै औंलाले दिन गन्दछन् ।
खिर्खिरे पछि लागेर न ता क्यै हात पार्दछन्,
बिचरा दुःख पाएर तुरुक्क आँसू झार्दछन् ।
सांसद् वानर हुन् अर्काको खोसी पेट भर्दछन्,
उनी ता नर हुन् झूटो बोलेर देश ठग्दछन् ।
यसो हुँदा नदी हाम्रा स्थान छाडेर बग्दछन्,
गाउँका मुखिया ठाडै बाटामा पनि हग्दछन् ।
नेपालमा हिजो आज उर्वसी छ पतिव्रता,
नाम डम्फु बजाएर जमेकी छ जता तता ।
कर्ता भर्ता बनी गर्छे उर्वसी नकली कुरा,
सधैं सदन दन्काई तन्काई असली सुरा ।
आफ्ना भक्तहरूलाई धेरै द्रव्य दिलाउने,
देब्रे र दाहिने हात एकैसाथ मिलाउने ।
सांसद् प्रिये १ नखर्मौली काँङदेवी कुहेश्वरी
बामदेवीहरू जम्मै फुटेरै सकिएश्वरी ।
पञ्चेश्वरी र सद्भाव फाेरम् नकचरेश्वरी,
देश टुक्र्क्याउने खेल खेल्ने हे अधमेश्वरी ।
यस बाहेकका ढेडू अघिल्ला जन्मका सब,
ज्यानमाराहरू तिम्रै भक्त हुन् के कहुँ अब ।
यो स्तोत्र जसले प्रातः उठेर पाठ गर्दछ,
आफ्नो जीवनामा त्यसले हसुरी पेट भर्दछ ।
सुरूङ्गा, झापा
Subscribe
Login
0 Comments
Oldest









































