मुकुन्द आचार्यनाउँ चलेको नेता ?
नेपालको उदार अर्थतन्त्रले अवैध रुपमा जन्माएको एक बेरोजगार नेपाली युवक आत्महत्या गरेर मर्नुभन्दा त जुवा, तास खेलेर भए पनि प्राण धान्नु पर्यो भन्ने अठोट गरी उपयुक्त गुरुको खोजीमा निस्केछ । सङ्गीत, चित्रकला, नृत्यकला, अभिनय कलाजस्तै जुवा खेलेर जित्नु पनि एउटा ठूलो कला हो भन्ने ज्ञान महाभारत सिरियल हेर्दा उसले प्राप्त गरिसकेको थियो । त्यसैले शकुनी जस्तो सर्वगुण सम्पन्न गुरुको खोजीमा ऊ निस्क्यो ।
खोजेपछि भगवान पनि फेला पर्छन् भन्ने उखानलाई चरितार्थ पार्नकै लागि सो युवकको जन्म भएको रहेछ । जुवा खेलमा सुप्रसिद्ध प्रवल गोरखा दक्षिण बाहुद्वारा विभूषित एकजना गुरु त्यस युवकले भेट्टाइहाल्यो । गुरु बाह्रमासे मात्रै थिएनन्, राजनीतिमा पनि पोख्त थिए । पहिले पञ्च थिए, पछि कांग्रेस भए, अचेल आफूलाई कट्टर एमाले भन्छन् । राप्रपासँग पनि उनको “रा…म्रो” छ भन्ने सुनिन्छ । तराईवासी भएर हो कि क्या हो सद्भावनाका उनी आजीवन सल्लाहकार थिए ।
केही दिनसम्म गुरुको सत्सङमा बसेर जुवा–ज्ञानलाई ध्यानले पान गरिसकेपछि शिष्यले सोध्यो, गुरु ! हजुर त अरु कसैसित पनि खेल्दा कहिल्यै हार्नु हुन्न, जित्या छ, जित्या छ ! तर ठूल्ठूला हाकिमहरूसँग खेल्दा भने सधैं हार्नु हुन्छ । मैले यसको रहस्य बुझ्न सकिन, प्रभो !
गुरुले गम्भीर मुद्रा बनाउनु साटो पहिले गल्ल हाँसे अनि पछि रहस्योद्घाटन गरे । हे, अधम शिष्य ! तिमीले यति जाबो कुरा पनि कस्तो नबुझेको त । कुनै पनि हाकिमलाई तलवले मात्र छोप लाग्दैन । ओभर टाइममा जुवा खेल्छन् । मनोरञ्जन गर्ने भन्यो, जुवा खेल्यो, खेलायो । हामी पनि त राजनीति गर्छौँ । मैले जुवामा जानेर हार्ने गरेको हो । यो कुरा हाकिमहरू पनि राम्ररी बुझ्छन् ।
अचेल त त्यो युवक निकै धनाढ्य, नामुद जुवाडे, नम्बरी वेश्यागामी र नाउँ चलेको नेता भएको छ रे !
थानकोट, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































