बाबुको मुख
“यो भदौरे घाममा किन हो काका स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै?” सचिव कान्छाले काकाको हातमा ढोगिदिंदै सोधे ।
“कत्तिबिधी झार आएको हेर्न कान्छा, रोपो भुसुक्कै पारिसको !” काकाले खेतमा दलिनुको उद्देश्य बताए ।
“लहै काका मैले पनि मुख हेरें । काका भन्नू र र बा भन्नुमा के पो फरक छ र !” ठट्टाको पारामा भने भतिजले । आज कुशेऔंशी अर्थात बाबुको मुख हेर्ने दिन थियो ।
काकाभतिज एकछिन गफ्फिए । प्रचण्ड घाम भएकोले नजिकैको ढोड थुपारेको छाप्रोमा गए । “बुझ्नुभो काका शंकर दाइले त तपाईँलाई कत्ती सम्झनु भएको रहेछ, ठूलो फोटो हालेर मुख हेर्नू भएको रहेछ कम्प्युटरमा !” खल्तीबाट मोबाइल निकालेर देखाईदिए सचिवले । तीनछक् परे काका ।
“मेरा बा, जसको मार्गदर्शनबाट म यहाँसम्म आइपुगें, जसको मायाँ र वात्सल्य म कहिल्यै भुल्न सक्दिन, उहाँलाई कोटिकोटी ढोग गरी आशीर्वाद लिन चाहन्छु” भन्ने लेखनीसंगै आफ्नो जवानीको फोटो भतिजको मोबाइलमा देखेपछि भावबिह्वल भए काका ।
“म शहरमा घरजम गर्छु, मेरो अंश देओ !” भनेर माग राख्दा बाबूआमाले नसुनेपछि तथानाम मुख छोडेर शहर छिरेको थियो जेठो छोरो शंकर । त्यसपछि बिर्सेकै बरावर थियो, आउजाउ बन्दबाथ ।
काका घर पुगेपछि छोराको लेखनी र आफ्नो तस्वीरबारे बुढाबुढीको लामो गनथन भयो ।
“हेर्नुस्, मान्छे भनेको सधैँ एकैनास हुँदैन, छोरो बदलियो होला । तपाईंका अड्डि छोडिदिनुस् र छोरालाई फोन गरेर आशिर्वाद दिनोस् !” काकीले आग्रह गरिन् । तीनबर्ष अघि बाबुआमालाई मुख छोडेर बाहिरिएपछि बाबुछोराको सम्बाद भएको थिएन । तैपनि बुढीको कुरा नकार्न सकेनन् काकाले ।
“हेल्लो, मैले त शंकरलाई गरेको, बाबू कता छ ?” महिलाको आवाज सुनेपछि काकाले सोधे ।
एकछिन सम्बाद अलमलियो ।
“बाहिर जानू भाको छ भन्देउ न !” आफ्नो छोराको स्वर सानो आवाजमै पनि चिने काकाकाकीले ।
“ये ककक को दुलही हो ?” काकाले सम्बाद जारी राखे ।
“ट्याँक् ट्याँक् ट्याँक् ….” फोनको लाइन काटियो ।
काकाकाकी नरमाइलो मानेर टोलाइरहे ।
काठमाडौं