मुकुन्द आचार्यधर्मराजको सभामा कवि
‘धर्मराजजी ! हजुरले त धर्मपूर्वक पो राज्य गर्नुपर्छ । म त एउटा जाबो कवि मात्र थिएँ, पृथ्वीतलमा ! एउटा कमिला मर्दा पनि मेरो हृदयमा करुणरसको सञ्चार हुन्थ्यो । मबाट कसैको कुनै हानी, नोक्सानी सपनीमा पनि भा’छैन प्रभो ! अनि मलाई किन यस्तो दारुण दण्ड ?’ – एकजना नेपाली कविले कल्पे ।
धर्मराजले भने– ‘तिमीले धेरैलाई धेरै दुःख दिएका छौ । हाम्रो कम्प्युटरले कहिल्यै गलत सूचना दिँदैन । नेपाली मन्त्रालयहरूमा कमिसन खाएर किनेको जस्तो कम्प्युटर होइन ।’
‘मैले क–कसलाई के के दुःख दिएछु त ? के भन्छ हजुरको कम्प्युटर ?’
‘पहिलो दुःख त तिमीले आफ्नो परिवारको सदस्यहरूलाई कवि बनेर दियौ । तिमी कवि, साहित्यकार बन्नु साटो भन्सार, बन, राजस्व वा भ्याटतिरको पियन मात्र बनेको भए पनि अथवा व्यापारी नै बनेको भए पनि तिम्रो परिवारका सम्पूर्ण सदस्य, नातागोता, इष्टमित्र सबै गद्गद् हुन्थे । तिमी कवि बनेकोमा कुल खानदानको शिरै निहुरियो । भानुभक्तले उडुस र उपियाँसँग मितेरी लाउनु परेको थियो, उपचार नपाएर देवकोटाले सिलटिमुर खाए, हरिभक्त कटुवालले भोकभोकै गीत गाए । तै पनि तिमीलाई चेत भएन ? अझ भन्छौ मैले के अपराध गरेँ ?’ धर्मराजले हकारे ।
‘प्रभो ! अर्को पनि मैले नजानी गरेको कुनै अपराध छ कि ?’
‘अवश्य छ ! कवि सम्मेलनहरूमा स्रोताहरू भाग्न थालेको देख्दादेख्दै एउटा कविता सुनाउनु साटो चार पाँचवटै कविता सुनाएर स्रोता वर्गलाई धेरै बोर गरेका छौ । स्रोताहरूलाई बोर गर्न अचेल एउटै कविता सुनाए पुग्छ ।’ धर्मराजले प्रष्ट्याए ।
‘अरु केही भुलचुक भा’छ कि ?’
‘किन नहुनु ! कतै कवि सम्मेलन छ भनेको सुन्नासाथ घर परिवारको सारा काम छोडेर जानु त क्यै जरुरी थिएन नि !’ धर्मराज भन्दै थिए ।
‘धर्मराजजी ! म धरोधर्म भन्दैछु । हाम्रो नेपालमा कतिपय कविहरू त बहुतै गरीब हुन्छन् । कवि सम्मेलन, साहित्यिक भेला, सभा समारोहमा मात्र मिठो चोखो खान पाउँछन्, पेटभरि खाएर कविता बाच्न पाए हामी नेपालका कविलाई पुग्छ । हमीलाई आतेजाने भाडा, विदाई, सम्मान क्यै चाहिन्न । अभावहरूसँग खेल्दा खेल्दा हामी पूर्ण सन्तोषी भइसकेका छौँ प्रभो !’
‘हो… यै त हो नि तिमीहरूको अपराध ! लौ लौ यी कविजीलाई लगेर थुन !’– धर्मराजलाई लम्बेतान कुरा गर्ने फुर्सत कहाँ हुनु । डाक्टरको प्राइभेट क्लिनिकमा जस्तै भीड थियो ।
थानकाेट, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest








































