काेमलप्रसाद पोखरेलछिमेकीका कलुषित स्वरूपहरू
डाँगो स्याल कलास्छ दक्षिण दिशामा नित्य धोती कसी
त्यस्का झुन्ड कराउँछन् अथि सबै हाहा र हुहू गरी
अर्काको कुभलो सधैं गरिगरी डाँगो खुसी बन्दछ,
आफ्नै मित्र मराई त्यै रगतमा आफू सधैं रम्दछ ।
अर्काे पीर छ खेतमा पनि सधैं जालै गरी बस्दछ,
रातारात स्वयं लुकेर उसले आली उँभो कस्दछ
आफू मात्र गई भन्यो कि त त्यहाँ डाँका ठुलो गर्दछ,
राखी पञ्च कुरा गर्यो यदि भने आफैं कता मर्दछ ।
दिल्लीभित्र अजङ्गका जखमले देख्दैन हात्ती पनि,
नेपालीहरूका लिखा सहजले देख्ने कुरा गर्छ नि
यो उस्को कुटिल प्रमाण अब ता संसारले जान्दछ,
ब्वाँसाका मतियार हुन् सब जना भन्ने कुरा मान्दछ ।
ब्वाँसाले त स्वजातिका घरहरू भाँड्दैन यो सत्य छ,
त्यो भन्दा तल गिर्नु नीच पशुता भन्दा अझै तुच्छ छ
गिद्धै हो कि स्वयं लुछी अलिअली चोक्टा र लाम्टा गरी,
निल्ने दाउ लिँदैछ हे स्वजन हो भाँचौं चुचो बेस्सरी ।
पल्क्यो सिक्किम खाइ यो अजिंगरै नेपाल खाँला भनी,
लागेको छ अनेक जुक्ति बलले जिब्रो निकाल्दै छ नि
फोरेट् छर्किनु पर्छ है सब मिली या भाग्छ या मर्छ नै,
हे नेता नडराउ छौँ. पछिपछि यो देश जोगाउनै ।
अर्काको घर भाँड्न उद्यत हुने त्यो मन्थरापुत्र हो,
उस्को शोचविहीन मूढमति झन् त्यो श्वानको मूत्र हो
आओ सिक्न सिकाउँछौं अबुझ हो सिक्ने छ बानी भने,
आओ लड्न तयार छौं खुकुरिको यो धार थाम्छौ भने ।
झापा
Subscribe
Login
0 Comments
Oldest









































