डा. विप्लव ढकालकर्खा गाउँदै आएँ
देशको सिमाना
रुङ्न बसेको जङ्गेपिलर
आफूले कुल्चिएको माटोमा
शिर गाडेर
आज पनि रातभरि रोयो !
र उसका जोर आँखाहरूबाट
अविरल बगिरहे
इतिहासको अँध्यारो खाडीमा पुरिएका
रगतका असङ्ख्य नदीहरू !
जङ्गेपिलरको छेउमा बसेर
गीत गाउँदै थियो
एउटा निर्धो गाइने–
हे बरै !
सारङ्गी रुवाउँदै आएँ
कर्खा गाउँदै आएँ
निभेको इतिहासको नाममा
कलेजी कटाउँदै आएँ !
नातिहरूलाई
सुनाउनु थियो एउटा गीत !
सोध्नु थियो प्रश्नहरू–
तिम्रा बाजेको भिक्टोरिया क्रस
र तिम्रा बाबुको परमवीर चक्र
कसले बेचेर खायो रक्सी ?
सोध्नु थियो–
तिम्री आमाको हरियो लुङ्गीमा
कसले निभायो चुरोटको ठुटो ?
आफ्नै पैतालामुनि
पहिरो गएझैँ हरेक दिन
कहाँ हराउँदै छ यो देशको माटो ?
जङ्गेपिलरलाई सोध्नु थियो–
झुसेलीले खाएको सिमीको पातजस्तै
थाहै नपाई हरेक दिन
किन खुम्चिँदै छ यो देशको सीमारेखा ?
महाकाली नदीलाई एकै छिन
आँखाको डिलैमा रोकेर
सोध्नु थियो–
काली !
तिमी लिम्पियाधुराबाट आयौ
कि लिपुलेकबाट आयौ ?
इतिहासबाटै इतिहास हराउँदा
सोध्न बिर्सिएका प्रश्नहरू धेरै थिए !
देख्नै बिर्सिएका सपनाहरू पनि धेरै थिए !
हे बरै !
सारङ्गी रुवाउँदै आएँ
कर्खा गाउँदै आएँ … !
सन्ततिहरूलाई सुनाउनु थियो–
हजारौँ स्वामी
र हजारौँ मालिकका सगुनहरू !
कसरी टुक्रिए भूमिहरू ?
कसरी जोडियो पृथिवी ?
र कसरी जन्मियो तिमी बाँचेको देश ?
सोध्नु थियो–
आज त तिमी हौ
यो देशको मालिक !
तर कसरी निभ्यो
तिम्रो शिरको उज्यालो ज्योति ?
अल्लाका भाङ्ग्रा ! भेडाका दोचा !
हाकुपटासी ! लेहेँगा धोती !
फाटेको शिरमा ढाकाको टोपी !
भोटो र कछाड ! दौरा र सुरुवाल !
चाँदीका सोली ! चौबन्दी चोली !
डाँडा र पाखामा लस्करै हिँड्थे–
बिस्र्यौ कि तिमीले ?
रगतको बाफमा भुइँकुहिरो उड्यो
पुर्खाको रगत माटोमै भिज्यो !
हड्डीको धूलो र रगतको दाग–
बिस्र्यौ कि तिमीले ?
हे बरै !
सारङ्गी रुवाउँदै आएँ
कर्खा गाउँदै आएँ
निभेको इतिहासको नाममा
कलेजी कटाउँदै आएँ !
(‘जेब्राक्रसमा जङ्गेपिलर’ नामक लामो कविताको एक अंश)
Subscribe
Login
0 Comments
Oldest







































