साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आन्दोलन जारी छ !

Nepal Telecom ad

सत्ताको घोडीमा अधमरिन नपाउन्जेल आन्दोलन रोक्नु मधेशी जनताप्रतिको गद्दारी भएकाले हाम्रो आन्दोलन जारी छ ।
“अब एकदम से बलेक आउट ।”
नहुनु मामाभन्दा कानो मामा ठीक भन्दै दीपावली गर्न ठम्ठमिएकाहरूलाई ‘बलेक आउट’ घोषणाले बे्रक लगाउन खोज्दा कसैले सोध्यो, “संविधानमा के खोट देखियो, जनाव ?”
“मधेशमारा संविधानमे खोट सिवाय कुछ दिख्दैन ।”
“निर्वाचन क्षेत्रमा चित्त नबुझेर मन मरेको हो, मान्यवर ?”
“निर्वाचन क्षेत्रको बात त वही हो, लेकिन कताकता चाय मे चिनी कम भइगयो !”
“उसो’भे खोट के हो, बताऊ ।”
“समानुपातिक र समावेशी बहुत धारामे खोट छ ।”
“एउटै धाराको संविधान चाहिया हो र ?”
“नागरिकतामे बडो झोल छ !”
“खोलाको पानी जस्तो राहगिरहरूले तुइँक्याउन मिलेन ?”
“नागरिकबीच उचनीच देखिलिन्नौ ।”
“वंशजको नागरिकता भएका मधेशीहरू नभएर अंगीकृतलाई राष्ट्रपति बनाउनुपर्ने हो ?”
“प्रभु जाने !”

अरे बाबा, प्रभुजी स्वयंले संविधानलाई मधेशमारा देखिलिएपछि सवाल जवाफ किन ? चुनावमा जनताले लप्पु खिलाएको बुखार बाँकी रहेकै बखत संविधानसभा भित्रका ढ्याकेहरूले पनि तुमडी ठानेको साइतमा अनायासै प्रभुजीबाट आकाशवाणी भयो– संविधानमा घोटाला छ ।

न आगे सोचियो, न त मुन्डी घुमाएर पिछे हेरियो, फटाकसँग संविधान बहिष्कार गरियो । सवाल पुछ्न आसान भए’नि जवाफ दिनुपर्दा गानो जान्छ । ‘इधर कुवा, उधर खाई’ वाला सवाल धाएँ–धाएँ सोधेर कक्रक्क बैठाउन खोज्नु मधेश विरोधी खडयन्त्र हो ।

राजनीतिलाई कलाविहीन नाटकको संज्ञा दिई फक्कडहरू लाल बुझ्क्कड पल्टिन खोजेको देख्दा उदेक लाग्छ । स्टेजमा मञ्चन गरिने नौटंकी फगत आँखाको भ्रम हो, असली कलाको दर्शन राजनीतिको मैदानमै हुन्छ । एकदम उच्च कोटरीको अभिनय भनिलिनुु् !

एउटा बिन्दुमा पुगेपछि पल्टा खाएर बिचरा कथा रुम्जाटारतिर ढल्किन नसक्ला, तर राजनीतिको खेलोमा जुनसुकै घडीमा १८० डिग्रीको ’ट्वीस्ट’ आउन सक्ने हुँदा बबाल रमाइलो हुन्छ । तर, यो मजा हेर्नेलाई हो । बाह्रमासे अभिनेता बन्दाकोे व्यथा भुक्तभोगीहरू नै जान्दछन् । जसका विरुद्ध आन्दोलन उराल्न पचास लखिया अफर निकालेर ४६ जना नागरिकलाई मृत्युमा झोसियो, उसैलाई भोट खसाल्न धाइफाल दिएकोमा खिसियाउनु पर्दैन । हामी त निमित्त मात्र हौं, प्रभुको इशारामा चल्ने !

रोम–रोममा विराजमान प्रभुजीको मर्जीको बर्खिलाफ हाम्रो पत्ता हिल्दैन । प्रभुजीको सन्देशामुताविक दशगजामा धर्ना बस्यौं, उहाँकै इशारामा लुसुक्क सदनाँ पस्यौं । प्रधानमन्त्रीको निर्वाचनमा भोट खसालेकै भरमा संविधान स्वीकारेको फत्तुर कस्नु घोर नाइन्साफी हो । याद रहे– धार्मिक भावनाले ओतप्रोत भक्तजनको पवित्र कर्म उपर उँगली उठाउने पापात्माहरूको नरकबास निश्चित छ ।

संविधान स्वीकार्ने कुरा पनि थोडी ‘अटोमेटिक’ हुन्छ ? थोत्रो एचएमटी घडीलाई झैं चाबी घुमाएर कसैले दम भरिलिए अलग बात हो । नत्र, शास्त्रले जेसुकै कहि लियोस्, हामीले अन्तरिम संविधान अन्तर्गत संसदमा भोट खसालेको तर्कलाई कसैले खारिज कर्न सक्तैन ।

हाफिदै आएर खसालेको भोट ‘गेल भैंस पानीमें’ नभइद्या’भे मन्त्री पदको शपथ चाहिँ कुन संविधान मातहत ग्रहण करिलिनुहुन्थ्यो भन्दै पुछ्न सक्नुहोला, लेकिन उपरवालाले त्यसरी छप्पर फाडेको भए नयाँ संविधानलाई नै दिलैदिलमा अन्तरिम मान्न सकिन्थ्यो । फेरि यो कुन लफडा हो भन्दै तपाईं औंधे मुँह गिर्नुहोला, तर दुई महीनादेखि मधेशमा हामी करायो, सरकारको भाग चाहिं दुसराले उडायो । दिल बडा भ्वौंभ्वौं गरिरहेको छ, हाम्रो । आँख मुँदेर प्रभुजीलाई भरोसा गर्दा यसपालि धोवीको कुत्ता भइयो !

प्रभु दाहिना रहुन्जेल काठमाडौंको हुक्कापानी बन्द गर्छु भन्दै बेस्कन खोकियो पनि । जन्डुहरूले ‘टंगडी देख्दै चाल पाइयो’ भनी हियाउँदा पनि बत्तिसी देखाएर निर्लज्जम् शरणम् गच्छामी भइयो । अहिले के लाग्छ कि प्रभुजीले करवट बदल्नुभयो । अनेक पापड बेलेर मन्दा भए पनि धन्दा चलाइएकै थियो, तर यसपालि बडा खराब भई गयो, फँसियो ।

जीवनमा जानेकै दुई कर्म हुन्– झण्डावाल गाडीमा हुँइकिनु र त्यो सयलबाट विमुख हुनासाथ डन्डा बोकेर मधेश खोस्रनु । त्यसैले, सत्ता नमिलुन्जेल देश र जनताको पत्ता काट्ने काम चालु राखेगें । सत्ताको गलियारामा छिराउने कुनै पनि चुनाउमा भोट खसाल्न छाडिन्न, संविधान पनि स्वीकारिन्न । हाम्रो आन्दोलन जारी छ !

हिमाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x