निर्मोही व्यासके काम गणतन्त्र यो ?
यता हेर्यो लथालिङ्ङ, भताभुङ्ङ उतातिर
हरे ! सन्तोषको सास फेर्न जाऔँ कतातिर !
नरहे देश नै ‘सग्लो’, के काम गणतन्त्र यो ?
मारेर जनतालाई कसरी लोकतन्त्र भो ?
छल–छद्म गरी लुछ्नै पल्केका ढँटुवाहरू
स्वार्थी, नकच्चरा, पापी, नखरे नटुवाहरू
‘नयाँ नेपाल’ चाहिन्न नौटङ्की गर बन्द यो
र फिर्ता गर लौ हाम्रो पुरानै देश रम्य त्यो !
बखेडा जातको गर्दै धर्मको नगरा पिटी
कालो, गोरो र चुच्चेको, बुच्चेको लफडा झिकी
कैले भूगोल वा कैले भाषा–भेष र संस्कृति–
लाई ढाल बनाएर वैर्याईकन विकृति ।
जुधाई जनतालाई देश सग्लो हराभरा
असत्ती पार्न खोज्दै छन् टुक्राटुक्रा, चिराचिरा
चौटाचौटा गरी लुछ्ने–घिच्ने षड्यन्त्र तीव्र छ
दुर्दशा नसकी खप्नै मन हाम्रो भरङ्ग छ ।
शान्त, सुन्दर, सन्तुष्ट, सौम्य, स्निग्ध, हराभरा
प्रेम–सौहार्दसम्पन्न न्यायको, धर्मको धरा
पालेको वीर पुर्खाले सम्हाली यत्नपूर्वक
हाम्रो नेपाल यो प्यारो महान् गौरव–वैभव ।
नाना निहुँ गरी बोक्रे अहोरात्र निरन्तर
देश यो निल्न खोज्दै छ हन्तकाली अजिङ्गर
देखी नेपालको आज यस्तो दारुण दुर्दशा
चिरिएको छ यो छाती, कलेजा छ छियाछिया ।
मायाँ हुन्छ त्यसैलाई स्याहार जसले ग¥यो
के मायाँ बगरेलाई खुँडाले मार हान्छ जो
बियाँलो नगरी कत्ति कसेर अब कम्मर
उद्धारकहरू ! आओ, कष्ट यो देशकोे हर !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest










































