वासुदेव पाण्डेयपार्थक्य
कालो कोठी वदनतिरको थप्छ शोभा खुलेर
झुक्दै गर्छन् नमन सजिलै धान बाला झुलेर ।
देख्छौं हामी प्रमुदित शशी सूर्यको रश्मि पाए
औंसी हुन्थ्यो हरपल यहाँ पूर्णिमा यो नआए ।।
कालो धब्बा मुखतिर भए पुछ्छ वा धुन्छ मान्छे
आफ्नो चर्चा विचलित नभै ध्यानले सुन्छ मान्छे ।
दोषी आफ्नो नजर तर ऊ दोष देख्दैन आफ्नो
ऐना दोषी ठहरिन गयो दृष्टिमा दोष आफ्नो ।।
साना साना कतिपय कुरा ख्याल गर्दैन मान्छे
मौका गुम्दा चुकचुक गरी सुध्रिने छैन मान्छे ।
साना हुन्छन् रगत जिउमा बाँड्न सक्छन् शिराले
पाए मौका अलिकति हिरा फोर्न सक्छन् किराले ।।
इन्द्रेनीको लचक धनुझैं हुन्छ झर्दैन कैले
त्यस्तै मान्छे विपुल प्रतिभा व्यक्त गर्दैन कैले ।
धर्तीमा छन् अविरल कला, गीत, साहित्य कुञ्ज
नेपाली यो अनुपम धरा कुञ्जको एक पुञ्ज ।।
खोलानाला थकित नभई दूर पुग्छ बगेर
बग्छन् हाम्रा सब हिमनदी नागबेली परेर ।
फुल्छन् धेरै कुसुम तरुमा कोपिला फक्रिएर
यो धर्तीको सकल सुषमा जान्न है सिद्धिएर ।।
भन्छन् आफ्नो गुण बदलिने गर्छ रे साथ गर्दा
ढुङ्गा हुन्नन् तरल जलले छोपिँदा, छाल पर्दा ।
हावा चल्दा सहन नसकी टुट्छ हाँगो कर्याम्म
हाने ढुङ्गा कतिपय सिसा हुन्छ टुक्रा झर्याम्म ।।
फुल्ने गर्छन् कमल जलले छोपिएको हिलोमा
बस्छन् पाहा टरटर गरी भ्यागुता त्यै हिलोमा ।
हेर्छन् सारा कमल सुषमा पर्छ ओझेल पाहा
हुन्छन् बेग्लै गुण र महिमा स्थानले हुन्न थाहा ।।
अल्छी गर्ने असफल भए हुन्छ धेरै निराश
पक्कै हुन्छन् सफल जगमा गर्दछन् जो प्रयास ।
सानो बन्दा पनि त सजिलै जून छर्ने प्रकाश
फक्रे यौटै कुसुम तरुमा छर्छ चोखो सुवास ।।
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest






































