साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुखुरा कहानी

Nepal Telecom ad

कुखुरालाई मान्छेको समाजमा मिलेर उठबस गर्ने खूबी भएको पक्षी प्राणीका रूपमा लिइन्छ । यसले केही चारो जुठेल्नामा खसेको तीतामीठा भातका सिताहरू कीराफट्याङ्ग्रा खाएको बदलामा निःशुल्क रूपमा फुल, चल्ला र आवश्यक परे पोथी र भालेसमेत मान्छेसँग सती जान्छन् । यसो हुँदाखेरि मान्छेहरू आफूलाई खुसी र सुखी सम्झिन्छन्, तर आजको समयले दुर्भाग्यका रूपमा कुखुरा परिवारमा ‘वर्डफ्लु’ नामक नराम्रो रोगले च्याप्दा स्वार्थी तर दयालु मान्छेहरू रुन पनि सकेका छैनन् । एकातिर मूल्यवान् कुखुराहरूलाई एकै चिहान बनाइएको र्याल आउँदो, लोभलाग्दो दृश्य देख्नुपरेको छ भने अर्कोतर्फ साँझ बिहान कुखुराको जुठो बारेझैं निस्तो भात निल्न विवश मान्छेहरू एकान्तमा कुखुरा सम्झिएर रुन बाध्य छन् । के गर्नु रोग चाहेर लाग्ने तत्व परेन, चाहेर रोग लाग्ने भए देशद्रोहीलाई लागोस् भनिन्थ्यो होला । देशलाई आतङ्ककारीजस्तो डरलाग्दो रोग लागेको छ भने कुखुरालाई चाहि ‘वर्डफ्लु’ जस्तो अक्षम्य दैवीप्रकोप पक्षीको थाप्लामा बज्रिएको छ । दशाको भुमरीमा कुखुराका वंशहरू विनाशलीला रच्न विवश छन् । यसको अधिक सङ्गतको कारण मारमा परेका बुझक्कड मान्छेहरू कुखुरालाई एकछत्र रूपमा शत्रुको संज्ञा पनि दिइराखेका छन् भने कतिपयचाहिँ कुखुरालाई गाँस, बास र कपासको भरपर्दो ऊर्जाको रूपमा जीवनको पुर्जा घुमाइराखेका छन् ।

एउटा बिराउने सारा पिराउने ‘वर्डफ्लु’ रोगको विशेषता रहेछ । जसको कारण कुखुराहरूको अभिभावक भाले र पोथी हंशवृद्धिको जीवनचक्र जारी राख्न लीन छन् भने कुखुरापालक मान्छेहरू चाहिँ भान्सेतिर फर्किएर खानपान खस्किन्छ कि भन्दै नरमपन्थी बन्न विवश छन् । रक्तवर्णका लोकल कुखुराहरू भने श्वेतवर्णका ब्रोइलर कुइरा कुखुराहरू विस्थापित गरिपाऊ यही अल्छी सेतो कुखुराले हो रोग ल्याएको भन्दै गलै फुटाउँलाझैं गरेर बसिराखेको पनि देखिएको छ । त्यस्तै श्वेतवर्णका कुखुराले पनि लोकल राता कुखुरालाई जहाँ पायो त्यहाँ चरेर रोग ल्याएको भनेर दोषादोष गरिराखेको खुल्नमा आएको छ । तर कुखुराहरू मान्छे जस्तो डरछेरुवाचाहिँ नहुँदा रहेछन् । कारण यस्तो भयावह रोग लगेको भए मान्छेले आफन्त नभनी देश छोडेर उपियाँझैं कहाँ फड्किसकेका हुन्थे । कुखुराहरू मरेर जान्छन् बरू, तर आफ्नो आवासकक्ष छोड्दैनन् । छोडेको इतिहास पनि छैन । त्यसैले कुखुरालाई संयमी, चलाख, विवेकी, निर्भीक र निडर मानवहरूको सङ्गत गर्ने पक्षीको रूपमा लिनु मनासीव त देखिन्छ नै यसको अलावा कुखुराबाट केही चार कुरा सिक्नुपर्ने सल्लाह चाणक्य नीतिको छैठौं अध्यायमा दिइएको छ ।
प्रत्युत्थानं च युद्धं च संविभागं च बन्धुषु ।
स्वयमाक्रम्य भुक्तं च शिक्षेच्चत्वारि कुक्कुटात् ।

कुखुराबाट प्राप्त गर्नुपर्ने शिक्षामध्ये ब्रह्ममुहूर्तमा आँखा खुलेपछि जाँगरका साथ बास्ने कुखुरी काँऽऽ को लयमा के के न बितेझैं गरेर चिच्याउने । दोस्रो शिक्षा अंशवन्डामा मानव दाजुभाइले झैं झगडा नगर्ने, कीराफट्याङ्ग्रा जे जस्तो छ बाँडेर भोजन गर्ने । तेस्रो शिक्षामा कुखुराको भालेले झै पोथीप्रति हरदम समर्पणभाव दर्साउने, कहिल्यै नतर्साउने, यसो गर्नाले श्रीमती व्यभिचारिणी बन्दिनन् र चौथो शिक्षा युद्धका लागि सदा तत्पर रहने । पक्षीबाट प्राप्त यति ज्ञानले मात्र मान्छे अर्धशिक्षित बन्छ । यस जमानामा अर्धशिक्षाले सिन्को भाँच्न पनि सकिँदैन । कुखुराले मात्र मान्छेलाई पुग्दैन, त्यसैले चाणक्यनीतिमा अगाडि भनिएको छ ।
इन्द्रियाणि च संयम्य वकवत् पण्डितो नरः ।
देशकालवलं ज्ञात्वा सर्वकार्याणि साधयेत् ।।

विवेकशील व्यक्तिले देशकाल परिस्थिति र आफ्नो हैसियतलाई ख्याल गर्दै इन्द्रियहरूलाई बकुल्लाले झै वशमा राख्नु एकाग्रचित्त वा एकनिष्ठ भएर कर्तव्यपथमा लाग्न सके सफलता अवश्य पक्रिन सकिन्छ । यस श्लोकलाई वा उक्तिलाई मनन गरेका भए हाम्रा ६०१ सभासद्ले दुई वर्षमा संविधान जन्माउन सक्थे तर सकेनन्, तुहिए । यस मानेमा यिनीहरू बकुल्लाजत्तिको एकाग्रचित्त वा एकनिष्ठ बन्न सकेनन् । त्यस्तै पक्षीजन्य कागबाट पाँच शिक्षा लिएपछिमात्र काँचो मानव पक्का मान्छे बन्ने कुरा चाणक्यनीतिमा भनिएको छ ।
गूढमैथुन चारित्वं काले काले च सङ्ग्रहम् ।
अप्रमत्तमविश्वासं पञ्च शिक्षेच्च वायसात् ।।

कसैप्रति झट्ट विश्वास नगर्नु, मैथुन गोपनीयता अनिवार्य, समय समयमा खान्कीको जोहो, दुष्टताको पाइला पाइलामा हुने गतिविधिको ख्याल र अन्तमा अल्छी पटक्कै नगर्ने शिक्षा हामीले पक्षीजन्य कागबाट लिएर असल बन्ने चेष्टा वा ध्याउन्न जारी राख्नुपर्छ ।

आज पक्षीजन्य वस्तुहरूमा रोगले गर्दा भयावह भूकम्प गएको छ । मांसाहारी मान्छेहरू एकाएक खसी, बोका, राँगो, भैंसी, सुङ्गुर र माछामाथि खनिएका छन् । भोका प्यासा मांसाहारी जनावरहरूले तिनै रोग लागेका पक्षीहरू पक्रिएर खान विवश छन् या नखालान् भन्न सकिन्न भने सचेत मान्छेले कतिलाई मार्ने ? कति सिध्याउने ? रोग अनि खाने क्रमसँगै सर्वपक्षीय विनाशको क्रम पनि तीव्र गतिले फैलिने र मान्छेहरू वैलिने हुन्छन् । मान्छेको सबभन्दा ठूलो बल नै आत्मबल हो । रोग र मृत्युको चक्रवातमा आत्मवल क्षीण हुनसक्छ । त्यसैले सावधानीपूर्वक दानापानी काखी च्यापिएन भने ज्यानले कुनै पुस्तामा नखाएको गोता खानुपर्छ । अतः सचेत मान्छेहरूले पक्षीजन्य वस्तुको अस्तुमा गिर खेल्नुभन्दा पहिले गम खानु पनि अनिवार्य हुन्छ ।
रातो भाले क्वायँक्वायँ सुत्केरीलाई ख्वाएँ
सुत्केरीको नाम गरी टाउको मैले खाएँ

यस्तो लोकप्रिय लोकगीत कुखुरामा आइलागेको रोगको कारण अर्थहीन बन्ने हो कि भन्ने सन्त्रास सुत्केरी र सुत्केरा सबैमा व्याप्त छ । लुकीछिपी स्वादका साथ जिब्रो फट्कार्दै कुखुराको टाउको खाने दिन अब गएछ कि झैं लागेको छ । बिचरा चराहरूमाथि परेको यस वज्रपातको कारण मानव भान्साहरू एकाएक बिरसिला बन्न पुगेका छन् । कुखुराको अभिभावक भाले मानव हितार्थ रातको तीन प्रहरदेखि बास्ने, पोथीलाई छास्ने र मायाप्रीति गाँस्नेमात्र होइन वैज्ञानिक, ज्योतिषी, ज्यामी, कुल्ली, कवाडी, खेलाडी, ब्यापारी, राजदूत, राष्ट्रपति, रानीमुखर्जीदेखि राजेश हमालसम्मलाई जगाउने, उठाउने, जुटाउने र फुटाउनेसम्मको काम गरेको देखिन्छ । त्यसैले कुखुरालाई सबैले मान्छन् अनि खान्छन् पनि ।

आफ्नो वंशबाट भरमार फाइदा लिए पनि आफ्नो कर्तव्यपथमा तटस्थ रहँदै मानव मन र सेवामा समर्पित कुखुराको सोझोपनको फाइदा उठाएर हाँसहरूले फुल काढेरमात्र छोड्दा पनि विना भेदभाव कुखुरी जुखुरीले हाँसको फुल ओथारेकै हुन्छे । काग जतिसुकै बाठो भए पनि कोइलीको फुल कोरलेकै हुन्छ । संसार यस्तै रहेछ, ज्ञातअज्ञात नमिल्ने कुरा पनि मिल्दो रहेछ ।

कुखुराको कुलमा र फुलमा चारैतिरबाट आज जेजस्तो अपमान र अपवित्र व्यवहार गरेर छिः छिः दुर्दुर् गरिएको छ, त्यसको लेखाजोखा इतिहासले गर्नेछ । इतिहास आफूतिर आओस् या अरूतिर जाओस् झूटो बोल्दैन । अविचलित कुखुरा बाचुन्जेल बाँच्ने र मरेपछि मान्छेलाई बचाउने मरणोपरान्त शरीरदानमा दत्तचित्त छन् । मरणोपरान्त आँखा दान गर्न कन्जुस्याइँ गर्ने मान्छेका लागि कुखुरा पनि हुटहुटीको स्रोत बन्न सक्छन् भन्ने कुरा ख्याल गरौ । कसैलाई काम लाग्छ भने शेषपछि गोली गाँठो फुस्काएर किन नदिने ?

आफ्नो इतिहासको ख्यालै नराखी ब्राह्मणगणसमेत कुखुराको वंशलाई काखी च्यापेर ओहोरदोहोरमात्र होइन कहिले भान्साकोठा, कहिले पूजाकोठा गरेको देखिएको छ । यस्तो दुविधाग्रस्त स्थितिमा पनि कतिपय कुखुराहरूले बाजेको भान्साकोठा सजाएर अमूल्य योगदान पु¥याएको तथ्याङ्कलाई पनि भुल्नुहुँदैन । यस शताब्दीमा ‘वर्डफ्लु’ जस्तो महामारीमा परेर लाखौ पक्षीजन्य प्राणीहरूले त्यसमा पनि विशेषतः श्वेतअश्वेत कुखुराको कुलमा फुलमा वेला न कुवेला भए र हुने गरेका आक्रमणप्रति हामी सोझा मानव मूकदर्शक बन्न विवश छौं भने शोक र ग्लानिले सम्पूर्ण भालेका सिउर झुकेको छर्लङग देखिन्छ । तै पनि वंशको अविच्छिन्न श्रीवृद्धि र मानवहितार्थ हरपल, हरक्षण, हरकुखुरी, हरभालेहरू स्वस्थ, स्वच्छ, पवित्र र हितकारी फुल र कूलको सिर्जना गर्दै आगामी वर्षसम्ममा प्रकृतिले हामी र हाम्रा पाहुनाको दाँतमात्र होइन आँतै हँसाउने कुरामा हामी आशावादी बनाअाैं र भनौं कुखुरा जिन्दावाद !

अक्षर साहित्यिक चौमासिक, वैशाख–साउन २०६३, हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x