वासुदेव पाण्डेयएकता : ए–कता ?
बोरामा जसरी अडिन्छ बलले तोरी मिली साथमा
सानो प्वाल भए सकिन्छ सजिलै खस्दै गई अन्तमा ।
ढुङ्गा एक झिके कुनै लहरको भत्किन्छ जम्मै घर
नेपाली मन चर्किएछ जसरी फुट्छन् सिसा पत्थर ।।
बन्छन् सुन्दर पुष्प,पत्र त्यसमा मिल्छन् अनेकौँ जब
फेदीबाट चढ्यौँ भने शिखरमा पुग्ने कुरा सम्भव ।
होला फूट भए निकै असजिलो, हेप्लान् छिमेकीहरू
आफ्नै हो तर फाल्दछौँ किन सबै आक्रोशमा आबरु ।।
माटोका कण राख्छ कीट धमिरो ढिस्को ठुलो बन्दछ
सानोबाट ठुलो भई गगनमा पूर्णेन्दु जो बन्दछ ।
देख्छौँ मेलमिलाप कीट कमिला, मौरीहरूमा तर
ज्ञानी, चेतनशील भन्छ तर के मान्छे विवेकी छ र ?
हेरी बाँदर नारिकेल फल यी फाल्छन् नबुझ्दा गुण
गर्दैछन् गुण ढाकछोप सजिलै खोज्लान् बरू बैगुन ।
सानो दोष मिले बनी ‘घुसघुसे’ थिच्ने र पेल्ने बढी
सच्चा मित्र भएर रूप बदली भेटेँ धकेल्ने बढी ।।
सिङ्गो ज्यान भुली कठै कुकुर यी हड्डी भए लड्दछन्
जो हिँड्छन् दिन रात लक्ष्यतिर ती टुङ्गो महाँ पुग्दछन् ।
यौटा हात भएर मात्र कसरी ताली यहाँ बज्दछ ?
फेदी चिन्न नपाउँदै शिखरमा पुग्ने छिटो खस्दछ ।।
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest







































