साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अघोषित संयुक्त विज्ञप्ति

Nepal Telecom ad

नेपाल र भारत यति निकट मित्र छन्, उनीहरूबीच धेरै कुरा अघोषित रूपमै सम्पन्न हुने गर्छन् । बहुचर्चित अघोषित नाकाबन्दीपछि अघोषित रूपमै यो खुलेको पनि छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको बहुचर्चित राजकीय भ्रमणपछि दुई देशबीचको सम्बन्धबारे प्रधानमन्त्रीहरूले घोषित संयुुक्त वक्तव्य निकाल्नै परेन, अघोषित वक्तव्यले नै काम चलिहाल्यो । वान टू वान वार्ताको अन्तमा अनुहार ठुस्स पार्दै दुवै प्रधानमन्त्रीले अघोषित रूपमा जारी गरेको संयुक्त वक्तव्यको मस्यौदा यस प्रकारको हुनुपर्छ :

‘हामी एकअर्काप्रति अविश्वास र संशय कायमै राख्दै नेपालका प्रधानमन्त्रीको यो भ्रमणले नेपाल–भारतबीचको सम्बन्ध सुध्रिएको हो कि होइन भन्ने कुरा टुंगोमा पुग्न नसकेको अघोषित घोषणा गर्दछौँ । नेपालका तर्फबाट म प्रधानमन्त्री ओलीले चाहिनेभन्दा बढी नै उत्साहित हुँदै सम्बन्ध पूर्ववत् भयो भनेर हल्ला पिटाउने तर म भारतको प्रधानमन्त्री मोदी चाहिनेभन्दा बढी नै गम्भीर मुद्रामा प्रकट हुने । यताका प्रधानमन्त्रीले उताका प्रधानमन्त्रीलाई खुसी पार्न विदेशमन्त्रीलाई खटाउने र उनले उताका प्रधानमन्त्रीलाई ‘अब हाम्रो सम्बन्ध एकदम राम्रो भयो’ भन्दै नक्कली हाँसोका साथ नेपालका प्रधानमन्त्रीलाई भाइ बनाउँदै जन्मदिनमा उपहार–सुपहार दिएर चिल्लोचाल्लो घसघास गरी दिल्लीबाट हाँसीखुसी बिदा गर्ने । भारतका प्रधानमन्त्री भने गजधम्मै बसिरहने ।

जहाँसम्म हाम्रो परम्परागत रोटीबेटीको सम्बन्धको कुरा छ, यस सम्बन्धमा उताको प्रधानमन्त्री म केपी ओलीले नेपालको तराई मधेसमा अब नागरिकता सम्बन्धी कुनै समस्या नरहेको भन्दै यताको प्रधानमन्त्री म नरेन्द्र मोदीलाई अक्षरश संविधान पढाएको र नेपालको नयाँ संविधान बनेपछि सयौँ भारतीय छोरीले नेपालको नागरिकता लिइसकेको प्रमाण पेस गरेकामा म नरेन्द्र मोदी खुसी भए पनि प्रकटमा कुनै प्रतिक्रिया नजनाउने । नेपालको संविधानका बारेमा नेपालले भारतबाट स्वागतका शब्द राख्न घोर अपेक्षा गर्ने तर भारतले त्यो शब्द मरिगए उच्चारण नगर्ने घनघोर सहमति भयो । त्यसरी खुलेर स्वागत गर्दा नेपालका मधेसी दलहरू बिच्किने र पछिपछि भारतले नेपालमाथि कुनै प्रकारका अघोषित दबाब सिर्जना गर्नुपर्दा उनीहरूलाई चलाउन नसकिने खतरा भएकाले हाललाई ओलीजीलाई जे जे इच्छा लाग्छ भन्न दिने, जति रमाउँछन् रमाउन दिने तर मोदीजीको ठुस्कान कायमै राख्ने ।

हाललाई लिपु लेक, लक्ष्मणपुर वा अरू ठाउँका सीमा विवादका विषयमा नेपालले कुरा नउठाउने भनेर मोदीजीले प्रस्ताव राख्दा ओलीजीले ‘हुन्छ, हाललाई नउठाउने’ भन्ने र भारतले पनि थप अरू ठाउँमा सीमा अतिक्रमण नगर्ने भनेर ओलीजीले प्रस्ताव राख्दा मोदीजीले पनि ‘हाललाई अतिक्रमण नगर्ने’ भन्ने । नेपालका खोलानाला, हिउँ, जडीबुटी, खानी, ढुंगा, जंगल, चुरे, गिट्टी इत्यादि स्रोतमाथि भारतले कर्के नजर लगाइरहन पाउने र त्यसका लागि नेपालमा आफू अनुकूल सरकार बनाउने खेल खेलिरहन पाउने ।

नाकाबन्दी गरेको कुरा अस्वीकार गर्दागर्दै नाकाबन्दी खोल्ने घोषणा गरिरहन आवश्यक नपर्ने । आगामी दिनमा पनि भारतले नेपालको नाकका प्वालहरू पालो पालो गरेर थुनिरहने । सबै प्वालबाट नेपाललाई सास फेर्न नदिने तर निस्सासिएर मर्न पनि नदिने । यी जम्मै कुरा बुझ्दा बुझ्दै पनि भारतसँगको सम्बन्ध पूरै सुध्रिएको भन्दै भारतका विभिन्न ठाउँहरू घुमघाम गरी धुमधामको स्वागत सत्कार ग्रहण गरेर फर्कन नेपालका प्रधानमन्त्री पनि सहमत भई यो अघोषित संयुक्त वक्तव्य जारी गरेका छौँ । नेपाल–भारतको मित्रता अमर रहोस् ।’

नेपाल, फाल्गुन २८, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x