डा.रवीन्द्र समीरदान
ईश्वर पुण्य कमाउने अभिप्रायले गरिब धनबहादुरको झुपडीमा पुगे ! अहोरात्र ईमानदारीपूर्बक काम गर्दा पनि परिवारजनको पेट पाल्न नसकेको धनबहादुर आँगनमा बसेर गिटी कुटिरहेको थियो !
“तिम्रो कामप्रतिको समर्पणबाट म प्रसन्न भएँ, के बर माग्छौ तिमी ?”
“के बर माग्नु नि ? बालबच्चाको मुखमा जाउलो नपरेको तीनदिन भईसक्यो ! मलाई बरसर होइन, सक्छौ भने खाने अन्न देऊ !“
ईश्वरसँग अन्न त थिएन ! त्यसपछि ईश्वर निराश हुँदै आफ्नो मन्दिरमा फर्किए ! अर्कोदिन ईश्वर आफूलाई चढाएका फलफूल, प्रसाद र चामल लिएर धनबहादुरको झुपडीमा गए !
“लौ, स्वादिष्ट फलफूल र चामल !” धनबहादुरले फेरि पनि ईश्वरतिर नहेरी जवाफ दियो– “एक छाक अन्न लिएर मैले के गर्ने ? अर्कोदिन त उही समस्या हो ! तिमीले ल्याएका मीठा खाध्यान्न खुवाएर मेरा जहान परिवारको जिब्रो बिगार्नु छैन मलाई ! सक्छौ भने म र मेरो परिवारलाई केही सीप देऊ ताकि जीवनभर काम गरेर खान पुगोस् !”
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































